मधेसको प्रदेशसभा बैठक बस्दै
करिब दुई महिनापछि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको हो।
धनुषा, चैत २७ : मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्दै छ। करिब दुई महिनापछि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको हो।
गत फागुन ४ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन। राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनका कारण पनि प्रदेशसभा बैठक बस्न सकेको थिएन ।
प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार पुरानो बक्यौता रकमबारे पनि कार्यसूची रहेको छ। बक्यौता रकमको छानबिन गरी भुक्तानी प्रक्रिया अगाडि बढाउनका लागि उपसभामुख बबिता राउतको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो।
उपसभामुख राउतले भने राजीनामा दिएपछि सो जिम्मेवारी सर्वसहमतिमा लोसपा सांसद रानीकुमारी शर्मालाई दिइएको थियो।
सो समितिको राजीनामा र नयाँ संयोजकको चयनको विषयमा समेत प्रदेशसभाको बैठकमा निर्णय हुने बताइएको छ। समितिको म्याद सकिएकाले बैठकबाट त्यसको निर्णय गरिनेछ।
सचिव यादवले सरकारले खेलकुदसम्बन्धी विधेयक प्रदेशसभामा पठाएको जानकारी दिए।
विभिन्न छवटा विधेयक तयारी अवस्थामा रहे पनि विभिन्न मन्त्रालयको ढिलाइका कारण प्रदेशसभामा पेश हुन नसकेको बताइएको छ। मुख्यसचिवको अनुपस्थिति र सरुवाले पनि विधेयकलाई मन्त्रिपरिषदबाट निर्णय गराउन समस्या देखिएको बताइएको छ।












