गाईभैँसीमा ‘लम्पि स्किन’ समस्या
‘लम्पि स्किन’ रोग लागेमा पशुलाई ज्वरो आउने, झोक्राउने, खाना नखाने, दूध घटेर जाने, खटिरा आउने र अन्त्यमा मृत्यु हुने गरेको सूर्योदयका पशु शाखा प्रमुख विपिनकुमार सिंहले बताए।
इलाम, चैत २६ : गाईभैँसीमा ‘लम्पि स्किन’ रोग देखापरेपछि इलामका पशुपालक किसान चिन्तित बनेका छन्। जिल्लाको सूर्योदय नगरपालिकासहित अन्य पालिकामा सो रोग देखापरेको जनाइएको छ।
सूर्योदय नगर प्रमुख रणबहादुर राईले ‘लम्पि स्किन’रोगका विरुद्धमा नगरपालिकाले किसानलाई सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिँदै यसका लागि नगरपालिकामा सम्पर्क राख्न अनुरोध गरे।
‘लम्पि स्किन’ रोग लागेमा पशुलाई ज्वरो आउने, झोक्राउने, खाना नखाने, दूध घटेर जाने, खटिरा आउने र अन्त्यमा मृत्यु हुने गरेको सूर्योदयका पशु शाखा प्रमुख विपिनकुमार सिंहले बताए।
उनका अनुसार किर्ना, भुसाना, झिङ्गा, लामखुट्टे आदिको माध्यमबाट एउटा पशुबाट अर्कोमा सर्ने हुँदा फैलने क्रम धेरै छ। रोगविरुद्धको खोप र उपचार प्रभावकारी नहुँदा थप समस्या भएको उनले बताए।
गत वर्ष छिमेकी जिल्ला झापामा समस्या बनेको सो रोग यस वर्ष गत असोजदेखि फाट्टफुट्ट देखा पर्न थालेको थियो । सुरुमा इलामको रोङ गाउँपालिकामा देखापरेको रोग अहिले जिल्लाका माईजोगमाई, सन्दकपुरलगायतका अन्य थुप्रै पालिकामा समेत फैलिएको छ। माईजोगमाईका पशु किसान कुमार थापाको लैनो गाईमा उक्त रोग देखापरेपछि छिमेकीका पशुमा समेत देखापरेको थियो।
यो रोग लागेपछि पशुलाई सार्वजनिकस्थलमा चरनका लागि लैजान नहुने, अन्य वस्तुभाउको सम्पर्कमा आउन नदिने, जैविक सुरक्षामा ध्यान दिने, गोठ सरसफाइ गर्ने काम गरेपछि यसको नियन्त्रण हुनसक्ने चिकित्सक भुपाल पोख्रेलले बताए। -रासस











