काभ्रे न्यायिक समिति समन्वय मञ्च गठन हुने
सम्मेलनले काभ्रेमा ल क्लिनकको अवधारणा पनि बनाएको छ । यसले न्यायको पहुँचमा पुग्न नसक्नेका लागि निःशुल्क कानुनी सहायता दिने बताइएको छ।
काभ्रे, चैत्र २४ : काभ्रे न्यायिक समिति समन्वय मञ्च गठन हुने भएको छ। न्यायिक समितिको भुमिका सुदृढिकरण सम्बन्धमा काठमाडौं विश्वविद्यालय र काभ्रे जिल्लाका १३ पालिकाहरुको सम्मेलनले मञ्चन गठन गर्ने निर्णय गरेको हो।
मञ्चको सचिवालय काठमाडौं विश्वविद्यालय, स्कुल अफ लमा रहने र प्रत्येक तीन महिनामा समीक्षा बैठक गर्ने निर्णय पनि गरिएको छ।
सम्मेलनले काभ्रेमा ल क्लिनकको अवधारणा पनि बनाएको छ । यसले न्यायको पहुँचमा पुग्न नसक्नेका लागि निःशुल्क कानुनी सहायता दिने बताइएको छ।
कार्यक्रममा मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले न्यायिक समितिले आम नागरिकको न्यायमा पहुँच अभिवृद्धि गर्ने कुरा बताउनु भयो । उनले व्रम्हले होइन तथ्य र प्रमाणको मूल्यांकन गरेर न्याय गर्नुपर्ने कुरामा जोड दिए।

काभ्रे जिल्ला अदालतका प्रमुख न्यायाधीश मोहनराज भट्टराईले काभ्रेका न्यायिक समितिको काम प्रशंसनीय रहेको र न्यायिक समितिलाई सहयोग गर्न जिल्ला अदालत सदैव तत्पर रहेको बताए।
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले काभ्रेका सबै पालिकाहरुलाई न्यायिक तथा अन्य काममा पनि काठमाडौं विश्वविद्यालयले सहकार्य गर्ने बताए।
काठमाडौं विस्वविद्यालय स्कुल अफ लका डीन प्रा. डा. ऋषिकेश वाग्लेले काभ्रेका सबै पालिकाहरुलाई स्कुल अफ लले निरन्तर कानूनी सहयोग गर्ने बताए।
कार्यक्रममा काठमाडौं, भक्तपुर र काभ्रेका ६ वटा नगरपालिकाहरूमा न्यायिक समितिको कार्यप्रभावकारिता सम्बन्धमा एक अध्ययन प्रतिवेदन समेत प्रस्तुत भएको थियो।












