Kathmandu Press

बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो

काठमाडौँ महानगरपालिका–१६ बालाजुमा बाइसधारा मेला सुरु भएसँगै हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु स्नान गर्न आज बिहानैदेखि बालाजु बाइसधारा पुगेका छन्।
बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो

काठमाडौं, चैत २३ : काठमाडौंको बालाजुमा बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो लागेको छ। हरेक वर्षको चैत शुक्ल पूर्णिमाका दिनमा लाग्ने उक्त मेला आजदेखि सुरु भएको हो।

काठमाडौँ महानगरपालिका–१६ बालाजुमा बाइसधारा मेला सुरु भएसँगै हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु स्नान गर्न आज बिहानैदेखि बालाजु बाइसधारा पुगेका छन्।

बाइसधारा मेला सुरु भएकै दिनदेखि वैशाख स्नान प्रारम्भ हुने गर्दछ। काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले बिहानैदेखि बाइसधारामा स्नान गर्ने भक्तजनको सङ्ख्या बढेको बताए। 

Hardik ivf

बाइसधारा मेलामा स्नान गर्नका लागि उपत्यकाभित्र र उपत्यकाबाहिरका धर्माबलम्बी बाइसधारा आएको उहाँको भनाइ छ।

बालाजुको बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। साथै लुतो, खटिरा जस्ता रोग हराउने जनविश्वास रहेकाले बालबालिकादेखि वृद्धवृद्धासम्म बाइसधारा स्नानका लागि आएका छन्।

 चैत शुक्लपूर्णिमाको अघिल्लो दिन बौद्ध धर्मावलम्बीहरुले बौद्ध गुम्बामा पूजापाठ गर्ने र पूर्णिमाको दिन बालाजु बाइसधारामा स्नान गर्ने गर्दछन्। स्नानपछि स्वयम्भू महाचैत्यमा पुगेर पूजापाठ पनि गरिन्छ।

यस्तै आजै साँझदेखि बालाजुमा पुरानो गुह्येश्वरी, बालाजु बाइपास, गोलढुङ्गा र कालदेवी गरी चार स्थानबाट रथ तान्ने काम गरिन्छ। उक्त रथजात्रा चार दिनसम्म चल्ने वडाअध्यक्ष रिजालले बताए।

मेलाका दिन बाइसधारामा स्नान गरी मृत आफन्तका नाममा बत्ती बाल्ने परम्परा छ। यसै दिन नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँ रहेको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलि दिइन्छ। 

मनमैजु देवीको जात्रासँग पनि बालाजु बाइसधाराको प्रसङ्ग जोडिएको छ। नेवार समुदायले मनाउने ल्हुती पूर्णिमाको मेलासँगै मनमैजु जात्रा पनि सुरु हुने परम्परा रहेको छ।

यस दिन बालाजुको बाइसधारामा नुहाएर मनमैजु देवीको दर्शन गरेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वास छ। 

प्रकाशित मिति: १५:४८ बजे, बिहीबार, चैत २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्