Kathmandu Press
चित्ताकर्षक चित्लाङ
चित्ताकर्षक चित्लाङउपत्यकावासीका लागि छोटो दुरीको पर्यटकीय गन्तव्यका रूपमा चित्लाङ चिनिएको छ। सहज तरिकाले पुग्न सकिने, एक दिनमै फर्किन सकिने र त्यहीँ नै बास बसे पनि थोरै खर्चले पुग्ने भएकाले चित्लाङ धेरैले रुचाउने गन्तव्य हो।

काठमाडाैं, चैत २३ : हिजोआज नेपालीहरूमा घुमघाम गर्ने संस्कृति निकै मौलाएको छ। काठमाडौंवासीहरू कोही एक्लै, कोही साथीभाइको समूह बनाएर त कोही परिवारजनसँग सकेसम्म एकै दिनमा फर्कने गरी नभए एक रात बस्नेगरी उपत्यका वरिपरिका रमणीय ठाउँमा घुमघामका लागि निस्कने गर्छन्। त्यस्तो अवस्थामा धेरैको रोजाइमा चित्लाङ पर्ने गरेको छ।

नजिकै पर्ने भएकाले उपत्यकावासीका लागि छोटो दुरीको पर्यटकीय गन्तव्यका रूपमा चित्लाङ चिनिएको छ। सहज तरिकाले पुग्न सकिने, एक दिनमै पनि फर्किन सकिने र त्यहीँ नै बास बसे पनि थोरै खर्चले पुग्ने भएकाले चित्लाङ धेरैले रुचाउने गन्तव्य हो।

इतिहासदेखि वर्तमानसम्म चित्लाङ

चित्लाङ मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ९ मा पर्छ। यो एउटा सुन्दर उपत्यका हो। यसको उत्तरतिर चन्द्रगिरि डाँडा र दक्षिणतिर महाभारत शृंखला छन्। प्रशस्त उर्वर भूमि रहेको चित्लाङ अर्गानिक कृषि उत्पादनका लागि चर्चित छ। वरिपरि प्रशस्त जंगल भएका कारण चित्लाङ सधैं हराभरा रहन्छ। ब्राह्मण, क्षेत्री, नेवार, तामाङ आदि जातिको बसोबास रहेको चित्लाङ ऐतिहासिक महत्व बोकेको सुन्दर गाउँ हो।

21680768298.jpg

इतिहासको कुनै कालखण्डमा काठमाडौं उपत्यकाका सर्वसाधारण मात्र नभएर राजामहाराजा, शासकप्रशासक, उद्योगीव्यापारी मधेस झर्ने र फर्कने क्रममा चन्द्रगिरि डाँडा छिचोलेर चित्लाङ हुँदै पैदलयात्रा गर्थे। कतिपय यात्रु चित्लाङमा पुगेर बास बस्न रुचाउँथे। यो क्रम लिच्छविकालयता थानकोट नागढुंगा हुँदै सडकमार्ग नखुलेसम्म निर्विकल्प रूपमा चलिरह्यो। मानिसहरूको आवतजावत भइरहने भएकाले चित्लाङमा बाक्लो बस्ती पनि थियो र बेग्लै चहलपहल हुन्थ्यो। 

लिच्छवी राजा अंशुबर्माले पैदलयात्रा गर्ने क्रममा गोठालाहरूलाई विभिन्न उपहार बाँडेको गाउँ भनेर पनि चित्लाङ परिचित छ। झन्डै १८ सय वर्षअघि सम्राट अशोकले बनाएको अशोक चैत्य ऐतिहासिक सम्पदायुक्त चित्लाङको प्रमाण बनेर उभिएको छ। राजा त्रिभुवनका पालामा उपहारस्वरूप प्राप्त मर्सिडिज भीमफेदी, मार्खु, चित्लाङ हुँदै मानिसहरूलाई काँधमा बोकाएर उपत्यकामा पुर्‍याइएको सन्दर्भ पनि इतिहासमा उल्लेख छ। 

111680768309.jpg

थानकोट हुँदै पृथ्वी राजमार्ग बनेपछि भने लामो समय ओझेलमा पर्‍यो चित्लाङ। तर पछिल्लो समय पर्यटकको ओइरो लाग्न थालेपछि भने चित्लाङमा भिडभाड बढ्न थालेको छ। सहरीकरणतर्फ उन्मुख हुँदा पनि मौलिक परम्परालाई भने जीवन्त राख्न चित्लाङ सफल छ।     

खासगरी बिदा मनाउन, सुन्दर प्राकृतिक वातावरणमा रमाउन, प्राचीन कलासंस्कृति तथा ऐतिहासिक सम्पदाको अध्ययन गर्न मानिसहरू चित्लाङ पुग्ने गर्छन्। आन्तरिक मात्र नभएर प्रशस्त बाह्य पर्यटक पनि त्यहाँ घुम्न जान्छन्। पर्यटककै लागि लक्षित गरेर त्यहाँ प्रशस्त होमस्टे र होटेलहरू खुलेका छन्। आधुनिक शैलीमा निर्मित सुविधासम्पन्न रिसोर्ट पनि त्यस ठाउँमा सञ्चालनमा ल्याइएका छन्। त्यहाँ खोलिएको चित्लाङ रिसोर्टले पनि पर्यटकहरूको मन जितिरहेको छ।

कसरी स्थापना भयो चित्लाङ रिसोर्ट?

चित्लाङ रिसोर्टका सञ्चालक हुन्, शैलेश नेपाल। उनी चित्लाङ–९ कै स्थायी बासिन्दा हुन्। त्यसो त उनी जापानमा सिभिल इन्जिनियरिङ पढेर फर्किएका युवा हुन् तर अहिले पर्यटन व्यवसायमा लागेर उनले युवा उद्यमीको परिचय बनाएका छन्।

उनले नेपाल आएपछि सुरुमा आफूले पढेकै विषयलाई आधार बनाएर केही नयाँ काम गर्ने जमर्को गर्दैगर्दा चुनौती मोलेर चित्लाङमा पर्यटन व्यवसाय अघि बढाउने परिकल्पना गरे। त्यसलाई मूर्तरूप दिन उनी अहोरात्र लागिपरे। फलस्वरूप स्थापना भयो, चित्लाङ रिसोर्ट। रिसोर्टका लागि बनाइएका आकर्षक पुराना डिजाइनका आधुनिक भवनहरू उनकै इन्जिनियरिङ विद्याका उपज हुन्।

Sailesh nepal1680767372.jpg
शैलेश नेपाल, सञ्चालक, चित्लाङ रिसाेर्ट

शैलेशलाई जापानी संस्कृति खुबै मन पर्थ्याे। जसले गर्दा उनले कक्ष ७/८ पढ्दै जापानी भाषा सिकेका थिए। जापानमै केही गर्ने भन्ने नसोचेका होइनन् उनले। तर कसो गर्दा पनि उनको मन त्यहाँ रमाउनै सकेन। ‘जापान राम्रो देश भए पनि जापानीहरूको काम गर्ने मेकानिजमप्रति म सन्तुष्ट हुन सकिनँ। जति नै कोसिस गर्दा पनि त्यहाँ अडिन मनले दिएन,’ उनी भन्छन्, ‘आफ्नै गाउँठाउँले आफूलाई पर्खिरहेको भान भयो। त्यसपछि स्वदेश फर्केर यो व्यवसाय थालेको हुँ।’ 

121680768311.jpg

खासमा उनको परिवारको पुख्र्यौली पेसा पर्यटन (होटल व्यवसाय) नै रहेछ। उनका बुवाआमा, काकाकाकी परम्परागत तरिकाले पर्यटनमा जोडिँदै आएका रहेछन्। ‘म त यसलाई पुख्र्यौली पेसा नै भन्न रुचाउँछु। किनभने मेरा परिवारका अग्रजहरू सबैले यही नै पेसा अपनाउँदै आउनुभएको हो,’ उनले भने, ‘मैले त खाली आधुनिकताले त्यसलाई नयाँ रूप दिएको मात्र हुँ।’ परम्परागत होटेल व्यवसायलाई आधुनिकताले जोडेर पुरानै शैलीका घरहरूलाई इन्जिनियरिङ ज्ञानको मद्दतले नयाँ कलेवर दिएर पाहुनाको रोजाइमा पर्न सक्ने बनाएको उनी बताउँछन्। 

व्यवसाय राम्रोसँग चलिरहेको, पाहुनाले मन पराइदिएको हुँदा आफूले चालेको कदमप्रति सन्तुष्ट रहेको उनले सुनाए। ‘म असन्तुष्ट छैन। दुःख गरेर यतिसम्म गरेको छु। सबैले माया दिनुभएको छ,’ उनले भने, ‘एकपटक आएको पाहुन फेरि पनि फर्किएर आउनुहुन्छ। यस्तो हुँदा भित्रैदेखि खुसी मिल्छ। जापानबाट फर्केर किन आएको भन्ने खालको कुनै पश्चात्ताप हुन्न।’

चित्लाङ रिसोर्टमा आउने पाहुनाको स्वागतसत्कारमा उनी स्वयं खटिन्छन्। परिवारका सदस्यहरूले उनलाई साथ दिन्छन्। ‘परिवारकै प्रयासमा उभ्याइएको व्यवसाय सञ्चालनका लागि परिवारका सदस्यहरू नै जुट्छौं,’ उनी भन्छन्, ‘शनिबार र अरू सार्वजनिक बिदामा पहुना थेगिनसक्नु हुन्छ। अरूबेला पनि हामीले खाली बस्नुपर्दैन।’ 

चित्लाङ रिसाेर्टको विशेषता

एक दिन बसेर घुमघाम गर्न चित्लाङ उत्कृष्ट थलो भएको उनी बताउँछन्। ‘त्यसका लागि काठमाडौंबाट आफ्नै तरिकाले आउनुभयो भने २५ सयदेखि ३ हजार रुपैयाँसम्म खर्च हुन्छ,’ उनी भन्छन्, ‘प्याकेजमा हो भने हामीले प्रतिव्यक्ति ४ हजार लिने गर्छाैं।’ 

उनका अनुसार प्याकेजमा चित्लाङ रिसोर्ट आउनेका लागि गाडीमै ल्याउने र पुर्‍याउने सुविधा छ। रिसोर्टले काठमाडौं आएर गाडीमा पाहुन ल्याउने फेरि पुर्‍याइदिने व्यवस्था गरेको छ। ‘रिसोर्टमा आइपुग्नेबित्तिकै अर्गानिक मकै, भटमास र सिस्नुको सुप दिन्छौं, त्यसपछि रातिको खाना (डिनर) हुन्छ,’ सञ्चालक नेपाल भन्छन्, ‘राति पिउन चाहनेका लागि ड्रिंक्स पनि हुन्छ तर त्यसका लागि थप रकम लाग्छ। पाहुनाको माग भएको अवस्थामा क्याम्प फायर, बार्बिक्युको व्यवस्था पनि गरिदिन्छौं।’

101680768308.jpg

भोलिपल्ट बिहान चियानास्ता (ब्रेकफास्ट) पछि एक चरण ‘भिलेज टुर’ हुन्छ। वरिपरिका रमाइला ठाउँ, ऐतिहासिक थलो, गाउँबस्तीमा एक चरण घुमफिर गराएर ल्याइसकेपछि खाना (लन्च) खुवाएर पहाुनालाई कुलेखानीको माथितिरको भाग मार्खुमा लगेर टुंगामा जलविहार (बोटिङ) गराउने गरिएको उनले जानकारी दिए। ‘त्यसपछि अघिल्लो दिन जहाँबाट पाहुना ल्याइएको हो त्यही नै पुर्‍याएपछि प्याकेज सकिन्छ,’ उनी भन्छन्, ‘खानामा अर्गानिक उत्पादनलाई हामीले जोड दिएका छौं। यही नै उत्पादन हुने आलु धेरै पाहुनाले रुचाउनुहुन्छ। सुत्नलाई आरामदायी होस् भनेर त्यस्तै व्यवस्था मिलाएका छौं।’ 

चित्लाङ अर्गानिक उत्पादनका लागि प्रसिद्ध छ। चित्लाङकै उत्पादनबाट बनेका परिकार रिसोर्टले पाहुनालाई पस्कने गरेको छ। ‘हामीकहाँ बनेको खाना, यहाँको आरामदायी बसाइका कारण पाहुनाहरू धेरै आउनुहुन्छ,’ सञ्चालक नेपाल भन्छन्।

‘वाइन हामी आफैं उत्पादन गर्छौं’

चित्लाङ रिसोर्टको एउटा सह उत्पादन रहेको छ, विशेष वाइन। वाइन उत्पादनका लागि चित्लाङ वाइनरी स्थापना गरिएको सञ्चालक नेपाल बताउँछन्। वाइन तीनथरी उत्पादन हुने र सबै अर्गानिक रहेको उनी बताउँछन्। ‘हामीले तीनथरी अर्गानिक वाइन उत्पादन गरिरहेका छौं,’ उनी भन्छन्, ‘आलुबखडा, भुइँस्याउ र नास्पातीबाट बनेका तीनथरी उत्पादनलाई पाहुनाहरूले खुबै रुचाउनुभएको छ।’ वाइनको बिक्रीवितरण राम्रो रहेको उनले बताए।

181680768316.jpg

वाइन मात्र होइन, बाख्राको दुधबाट बनेको चिज पनि विशेष छ। यहाँ उत्पादन हुने ‘सफ्ट र हार्ड’ दुवै प्रकारको चिज पाहुनाको खोजीमा पर्ने उनले बताए। किबीको जाम, अकबरेको अचार, गुन्द्रुक र मस्यौराले पनि पाहुनालाई नयाँ स्वाद दिन्छ।

171680768315.jpg

कसरी पुग्ने चित्लाङ?

काठमाडौंबाट थानकोट चन्द्रागिरि हुँदै चित्लाङ पुग्न १९ किलोमिटर यात्रा गर्नुपर्ने चित्लाङ रिसोर्टका सञ्चालक नेपाल बताउँछन्। उनका अनुसार कलंकीबाट थानकोट चेकपोस्टबाट खोलिएको बाटो भएर निजी सवारीसाधनमार्फत एकडेढ घन्टामै त्यहाँ पुग्न सक्छ।’ निर्माणाधीन अवस्थामा रहेकाले सडक भने पुरै कच्ची छ। चारपांग्रेभन्दा दुईपांग्रेमा अलिकति छिटो हुन्छ। सवारीसाधन प्रयोग नगर्ने हो भने सुरुमा केबलकार चढेर चन्द्रागिरि डाँडा पुगी पदयात्रा गर्दै चित्लाङ झर्न पनि सकिन्छ। त्यसरी जाने हो भने चन्द्रागिरि डाँडाबाट ओरोलो झर्न एकडेढ घन्टा लाग्ने उनी बताउँछन्।

11680768298.jpg

हिजोआज पदयात्रा गर्ने संस्कृति पनि निकै मौलाएको छ। त्यसकारण काठमाडौंबाट पैदलै चित्लाङको यात्रा गर्नेहरूको संख्या बढिरहेको उनी बताउँछन्। ‘थानकोटबाट केबलकार नचढी पदयात्राका माध्यमले चित्लाङ जाँदा उकालो र ओरालो उत्तिकै भएकाले चारदेखि पाँच घन्टा लाग्छ,’ उनी भन्छन्, ‘तर साथीभाइको समूह बनाएर तीनवटामध्ये जुनसुकै तरिका अपनाए पनि यात्रा अविस्मरणीय हुन्छ।’

211680768319.jpg

पछिल्लो समय थानकोट दहुँदै चित्लाङसम्म लोकल बस चल्न थालेको पनि उनले सुनाए। ‘कलंकीस्थित बाबा पेट्रोल पम्पबाट बिहान ७ बजे र १० बजे अनि दिउँसो २ बजे तीनपटक गाडी छुट्छन्,’ उनले भने, ‘लोकल बसको सुविधा रहेकाले त्यही बस चढेर चित्लाङ घुमघाम गर्न सकिन्छ।'    

चित्लाङ पुग्ने अर्को विकल्प पनि छ। बल्खु, दक्षिणकाली, फर्पिङ हुँदै कुलेखानी कटेर  पनि चित्लाङ पुग्न सकिन्छ। काठमाडौं–हेटौंडा रुटमा सुमो, बुलेरोहरू प्रशस्त मात्रामा ओहोरदोहोर गरिरहने हुनाले त्यताबाट पनि चित्लाङ जान सकिन्छ। तर बाटो लामो पर्ने र समय पनि धेरै लाग्नेचाहिँ हुन्छ। हेटौंडाबाट भने भीमफेदी, कुलेखानी, मार्खु भएर सवारीसाधनमा करिब साढे दुई घन्टाको यात्रा गरे चित्लाङ पुगिने उनी बताउँछन्। कुलेखानी घुम्न आएका पर्यटकले चित्लाङ घुम्ने रुचि राखेको अवस्थामा अटोहरू पनि चल्ने गरेको उनले जानकारी दिए।

तस्बिरमा चित्लाङ रिसाेर्ट

ccc1680768675.jpg

221680768320.jpg

161680768434.jpg

231680768321.jpg

191680768317.jpg

151680768314.jpg

141680768313.jpg

61680768303.jpg

31680768301.jpg

41680768300.jpg

51680768303.jpg

71680768305.jpg

91680768307.jpg

201680768319.jpg

(चित्लाङबाट फर्केर)

प्रकाशित मिति: १३:४१ बजे, बिहीबार, चैत २३, २०७९
प्रतिक्रिया दिनुहोस्