काठमाडौं माघ २० : काठमाडौंवासी गर्मी छल्न र जाडोमा घाम ताप्न पुग्ने नजिकको ठाउँ हो ककनी। नुवाकोट जिल्लामा पर्ने ककनी गाउँपालिका–५ मा पर्ने ककनी काठमाडौंबाट ३० किलोमिटरको दुरीमा छ।
उपत्यकाको धुवाँधुलो र कोलाहलबाट दिक्क भएकाहरू केही बेर भए पनि मन बहलाउन ककनी पुग्छन्। ककनी पछिल्लो समय स्ट्रबेरी खान पनि उपत्यकावासी ककनी पुग्ने गरेका छन्। ककनीमा किबी पनि मजाले फल्छ। ट्राउट माछा खाने योजना बनाएर त्यहाँ पुग्नेहरू पनि प्रशस्तै भेटिन्छन्।
ककनी पुगेका पर्यटकलाई सेवा दिन थुप्रै होटल खुलेका छन्। तीमध्ये एक हो ‘तारागाउँ रिसोर्ट होटेल’। लगभग १ हजार ८ सय मिटरभन्दा माथि उचाइमा बनेको तारागाउँ रिसोर्ट होटल त्यहाँकै सबैभन्दा पुरानो मानिन्छ। रिसोर्टबाट देखिने हिमाली दृश्य र साँझ उपत्यकाको झिलिमिलीले पर्यटकको मनलाई मोहित बनाउँछ।
२०१७ सालमा स्थापना भएको भवनमा २०३८ सालदेखि ‘तारागाउँ रिसोर्ट होटल’ सञ्चालनमा आएको हो। २८ रोपनी क्षेत्रफलमा फैलिएको तारागाउँ रिसोर्ट होटल तीन वर्षदेखि ५६ वर्षीय रामप्रसाद ढकालले सम्हालिरहेका छन्। यो तारागाउँ विकास समितिबाट सञ्चालित होटेल हो। यो समिति २०३४ सालभन्दा पहिला महिला विकास केन्द्रका नाममा थियो।
पञ्चायत कालमा पर्यटन प्रवद्र्धन गर्ने हिसाबले तारागाउँ रिसोर्ट होटल स्थापना भएको थियो। पर्यटन विभागबाट २०४२/४३ सालमा सरकारलाई हस्तान्तरण भएदेखि तारागाउँ रिसोर्ट होटलका रुपमा सञ्चालन हुँदै आएको छ।
रामप्रसाद पोखरा, नगरकोट हुँदै नुवाकोट आएर यो होटल सम्हालिरहेका हुन्। उनले तारागाउँसँग जोडिएर काम गरेको ३३ वर्ष भयो। उनी अहिले तारागाउँ होटेललाई ककनीकै उत्कृष्ट बनाउन लागिपरेका छन्। होटलबाट उपत्यकाको सुन्दर दृश्यसँगै अन्नपूर्ण, गणेशलगायत हिमालको दृश्य अवलोकन गर्न सकिन्छ।
डाँडै ढाक्नेगरी फुल्ने लालिगुराँस ककनीको अर्को आकर्षण हो। उच्च पहाडी भेग भएकाले कहिलेकाहीँ हिउँ पर्छ। त्यस्तो अवसरमा हिउँ खेल्न र स्केटिङमा रमाउन पर्यटकको ओइरो लाग्छ। यस्ता अवसरहरूमा त्यहाँ पुग्ने पर्यटकलाई उत्कृष्ट सेवा दिन तारागाउँ हाजिर अवस्थामा रहन्छ।
‘एक दिन पिकनिक आउने ५ सय पर्यटकलाई खुवाउन सक्छौं,’ रामप्रसाद भन्छन्, ‘बास बस्ने हो भने २५÷३० जनालाई व्यवस्थापन गर्न सक्छौं,’ उनले भने, ‘कार्यक्रमका लागि विभिन्न हल र टेन्टको व्यवस्था गरिदिने गरेका छौं।’ उनका अनुसार तारागाउँमा चारवटा कोठामा सिंगल बेड, चारवटामा डबल र चारवटामा ट्रिपल बेड छन्। यीबाहेक दुईवटा ठुलो हल छन्।
२०७२ सालको भूकम्पले क्षति पु¥याए पनि हाल भवनको मर्मत भइसकेको व्यवस्थापक ढकाल बताउँछन्। ‘हिउँ पर्दा वरिपरि स्केटिङ खेल्ने ठाउँ भएकाले धेरैजना तारागाउँ रिसोर्टमा आउँछन्,’ उनले भने, ‘पहिला विदेशी पर्यटक आउँथे, अहिले आन्तरिक पर्यटक बढी हुन्छन्।’
उनी तारागाउँ ककनीको सबैभन्दा पुरानो होटल भएको दाबी गर्छन्। त्यहाँ तारागाउँ स्थापना हुनुअघि सामान्य होटलहरू मात्र थिए। त्यतिबेला आउने पर्यटक टेन्ट टाँगेर बस्थे। त्यतिबेला धेरैजसो विदेशी पर्यटक हुन्थे। वसन्ती दरबार हेर्न आउने पाहुनालाई बस्न तारागाउँ बनाइएको भन्ने मान्यता रहेको उनले जानकारी दिए।
‘वर्षमा दुईपटक धेरै पर्यटक भित्रिन्छन्। वार्षिक रूपमा ४÷५ हजार पर्यटक बास बस्ने गरेर आउँछन्। धेरैजसो पर्यटक बिहान आएर साँझ काठमाडौं फर्किन्छन्,’ रामप्रसाद भन्छन्, ‘ट्रेकिङ रुट, पर्यटकीय स्थल बन्दै गर्दा अब पर्यटक बढ्ने अपेक्षा छ।’
उनी यसपालि जाडोमा हिउँ पर्ने र पर्यटक बढ्ने आशामा थिए। पानी नपरेपछि हिउँ परेन। अन्य दिनभन्दा शुक्रबार र शनिबार सेवाग्राही धेरै हुन्छन्। यीबाहेक अन्य दिनमा सामान्य हुने उनको अनुभव छ। त्यहाँ पाँच कर्मचारी छन्। तीमध्ये चार स्थायी हुन् भने एकजना करारमा छन्। उनीहरूले ग्राहकका मागअनुसार चाइनिज, इन्डियन, नेपाली खाना बनाउँछन्। यहाँ काम गर्ने सबै अनुभवी र दक्ष छन्।
अन्य निजी होटलका तुलनामा तारागाउँमा बस्नखान कम शुल्क लाग्ने रामप्रसादको दाबी छ। समितिले तोकेको डबल बेडको कोठाको शुल्क ८५० भए पनि १३ प्रतिशत भ्याट जोडेर ९६० रुपैयाँ लाग्छ। त्यस्तै सिंगल बेडलाई ६५० रुपैयाँ तोकिएकोे छ। त्यसमा १३ प्रतिशत भ्याट जोडेर ७५० रुपैयाँ लिने गरेको व्यवस्थापक रामप्रसादको भनाइ छ।
उक्त शुल्क पाँच वर्षअघि समितिले तोेकेको हो। यसमा थोरै संशोधन गर्ने होटेलको तयारी छ। पाँच वर्षमा हरेक सामानको मूल्य बढिरहेकाले केही प्रतिशत शुल्क बढाएर गुणस्तरी सेवा दिन होटेलले चाहिरहेको छ। उनी होटलको व्यवस्थापकका रूपमा ककनी पुगेपछि केही सुधार भएको रामप्रसाद बताउँछन्।
‘निजी होटलले प्याकेज सिस्टममा सेवा दिइरहेका छन्। हामी पनि त्यहीअनुसार अगाडि बढ्ने तयारीमा छौं,’ उनले भने, ‘हामीले छिट्टै प्याकेज सिस्टम निकाल्ने तयारी गरेको छौं।’
होटलले ग्राहकको मागअनुसारकै खाना, खाजा बनाउने गरेको छ। शुल्क पनि सोहीअनुसार निर्धारण हुन्छ। नेपाली सादा खानाको २८२ रुपैयाँ, ननभेज खानाको ३८४ रुपैयाँ पर्छ। तारागाउँमा वार्षिक रुपमा २० देखि २५ लाखसम्मको कारोबार हुने रामप्रसाद बताउँछन्। ‘चालु आर्थिक वर्षमा १ हजार ५ सयभन्दा धेरै पर्यटक आइसकें, आन्तरिक पर्यटक धेरैजसो साँझ बस्नेगरी आउँदैनन्।’
उनी ककनीमा पर्यटक कम आउनुमा सडकको मर्मत नहुनु, नजिकै आर्मी ब्यारेक हुनु, पर्यटकीयस्थल व्यवस्थापन नहुनुलाई मुख्य कारण मान्छन्। यी कुरा सुधार हुन सके पर्यटकीय स्थलका रूपमा विकास हुन सक्ने उनको विश्वास छ।
उनका अनुसार ककनी मुख्य टापु नै वसन्ती दरबारको गुठीको जग्गा हो। त्यसलाई प्रयोजनमा ल्याउन कठिन हुने हुँदा व्यवसायीले चासो दिँदैनन्। त्यसैले ककनीको पिकनिक स्पोटका व्यवसायी मर्कामा परेका हुन्। स्थानीयवासी र तीनै तहका सरकारले पर्यटकीयस्थलका रूपमा ककनीको विकासमा गृहकार्य गर्नुपर्ने उनको बुझाइ छ।
३३ वर्षदेखि होटल व्यवसाय
२०२३ सालमा जन्मिएका हुन्, रामप्रसाद। उनको जन्मथलो नगरकोट हो। सामान्य परिवारमा जन्मिएका उनको बाल्यकाल संघर्षमय रह्यो। घरको काम गर्दै पढाइ व्यवस्थापन गर्नुपर्ने उनको बाध्यता थियो। ‘विद्यालय जानुअघि ५ बजे उठेर बाँझो बारी खन्ने र एक भारी घाँस काट्ने गर्नुपथ्र्यो,’ उनले भने, ‘ प्राथमिक तहको पढाइ गाउँकै विद्यालयमा पढे पनि माध्यामिक तह पढ्न दुई घन्टाको बाटो हिँड्नुपथ्र्यो।’
उनले २०४५ सालमा कृष्ण माध्यमिक विद्यालय खरिपाटीबाट एसएलसी परिक्षा उत्तीर्ण गरे। उनी थप अध्ययनका लागि २०४६ सालमा काठमाडौं आए। रत्नराज्य क्याम्पसमा आइए अध्ययन गर्दैगर्दा उनले ट्रेकिङ गाइडको काम थाले।
‘त्यसक्रममा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को तालिम लिने अवसर पाएँ,’ उनले भने। नाथमले होटल तथा ट्राभल, ट्रेकिङ विषयमा मध्यम तथा उच्च गुणस्तरको जनशक्ति उत्पादन गर्दै आइरहेको छ। नाथमको तालिम लिइसकेपछि २०४६ असोजपछि होटल व्यवसायमा प्रवेश गरेका उनी हालसम्म त्यसैलाई निरन्तरता दिइरहेका छन्।
उनले तारागाउँअन्तर्गत सञ्चालित पोखरा, नगरकोट हुँदै तीन वर्षअघि ककनी आइपुगेका उनी बताउँछन्। ‘जहाँ काम गरे पनि उत्कृष्टता दिने प्रयास गरेँ, यहाँ पनि त्यही गरिरहेको छु,’ उनले भने, ‘अनुभव र सीपलाई अझ फराकिलो बनाउने प्रयास बाँचुन्जेल जारी रहन्छ।’