भूपू सैनिक सम्मेलन मध्यपूर्वी पृतनामा सुरु
सम्मेलनमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरीमा स्थायी बसोबास गर्ने करिब दुई हजार भूपू सैनिकको सहभागिता रहेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
महोत्तरी, चैत २० : नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टर मातहतका आठ जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी ‘भूतपूर्व सैनिक सम्मेलन–२०७९’ सुरु भएको छ ।
सम्मेलन जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा भएको हो। प्रधानसेनापति प्रभुराम शर्माले महोत्तरीस्थित सेनाको मध्य पुर्वी पृतना, बर्दिबास सैनिक शिविरमा आज आयोजित विशेष समारोहबीच सम्मेलन उद्घाटन गरे।
सम्मेलनमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरीमा स्थायी बसोबास गर्ने करिब दुई हजार भूपू सैनिकको सहभागिता रहेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
भूपू सैनिकहरुको कल्याणकारी कार्यलाई समन्वय गर्ने उद्देश्यले २०७० असोज २१ गते नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएको हो। नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएसँगै नेपाली सेनाले मुलुकका विभिन्न क्षेत्रमा निरन्तर रुपमा भूपू सैनिक सम्मेलन गर्दै आएको छ।
हाल निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूपू सैनिकको संख्या ८१ हजार छ सय ४३ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ समेत गरी कूल निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या ९७ हजार पाँच सय १५ छ।
सम्मेलनबाट सैनिक नेतृत्वले विभिन्न स्थानमा पुगेर पूर्वसैनिक एवं तिनका परिवारसँग अन्तरक्रिया गर्ने हुँदा सेनाले आफ्ना हिताधिकारीको कल्याणका लागि गरिरहेका प्रयासको मूल्यांकन तथा भावी योजना तर्जुमा गर्न महत्वपूर्ण सुझाव प्राप्त हुनेछ।












