Kathmandu Press

कर्मले बदलिएको नाम ‘तरकारी काका’

कहिले आफ्नै त कहिले अरुका तरकारी फार्ममा देखिने सापकोटा उमेरले ६७ वर्ष नाघिसके। उमेरले सात दशक लाग्न थाल्नुभएको उहाँमा जोश र जाँगर भने २० वर्षे युवाको भन्दा कम देखिँदैन। उनी यसरी बारीमै दिन बिताउन थालेको ३५ वर्षभन्दा बढी भयो।
कर्मले बदलिएको नाम ‘तरकारी काका’

ढोरपाटन, चैत १९ : घर्कँदो उमेर। सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा छन् टीकाराम सापकोटा। बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त छन्।

कहिले आफ्नै त कहिले अरुका तरकारी फार्ममा देखिने सापकोटा उमेरले ६७ वर्ष नाघिसके। उमेरले सात दशक लाग्न थाल्नुभएको उहाँमा जोश र जाँगर भने २० वर्षे युवाको भन्दा कम देखिँदैन। उनी यसरी बारीमै दिन बिताउन थालेको ३५ वर्षभन्दा बढी भयो।

साढे तीन दशकदेखि निरन्तर कृषि कर्ममा क्रियाशील सापकोटा अहिले पनि माटोप्रतिको माया र तरकारी उब्जाउ गर्ने काममा कमी कत्ति पनि आएको छैन। व्यावसायिक रूपमा गोलभेँडा, काउली बन्दा, सिमीलगायतका तरकारी उत्पादनमा तल्लीन उनी थुप्रै कृषकका उत्प्रेरणाका स्रोत र सारथि बनेका छन्। पानी, प्रविधिलगायतका थुप्रै सामग्रीको अभावका बीच पनि कुँडुलेमा व्यावसायिक कृषि कर्ममा खटिरहने सापकोटाको प्रेरणाबाट धेरै व्यावसायिक कृषि कर्म थालेका छन्। कृषि कर्मबाट निकै सन्तुष्ट देखिने उनलाई नेपाली माटोमा सुन फलाउन सकिने विश्वास छ। 

Hardik ivf

सामान्य परिवारका सापकोटालाई व्यावसायिक तरकारी खेती गर्नुपूर्व बिहान–बेलुकीको गर्जो टार्न गाह्रो हुन्थ्यो। ज्याला–मजदुरी र निमेक गरेर परिवार पाल्नुपर्थ्याे। तर तरकारी खेतीमा लागेपछि तीन छोरी र चार छोरालाई राम्रोसँग पढाउनुका साथै परिवार पालेर पनि करिब रु दुई करोडको जग्गा किन्न सफल भएका छन्। उनले आजको यो सफलता सहजै पाएका भने होइनन्। थुप्रै हन्डर र ठक्कर खाँदै यहाँसम्म आइपुगेको उनको भनाइ छ। सुरुका वर्ष व्यावसायिक तरकारी उत्पादन गर्दा बिक्री नै नभएको उनको तितो अनुभव छ। 

किसान सापकोटा भन्छन्, 'जिन्दगीमा के काम गरिएन र, सबै काम गरियो तर, तरकारी खेतीबाट मलाई सुख र खुसी मिल्यो, विसं २०४८–४९ तिर गोलभेँडा, काउली र मसला बिक्रीका लागि बागलुङ बजारतिर लग्यौँ तर बिक्री भएन। सबै फाल्नुपर्छ कि भन्नेजस्तो लाग्यो, त्यतिबेला निकै दुःख लागेको थियो, तर पछिपछि राम्रो भयो, यहाँको माटो अत्यन्त उब्जाउ हुने खालको छ, जे लगाए पनि राम्रो फल्छ, त्यसैले यहाँको माटोमा सुन फलाउन सकिन्छ।'

उनले आफ्नो दुःख सुनाउँदै भने, 'अहिले मलाई धेरै सन्तुष्टि मिलेको छ, तरकारी खेती नगरेको भए मलाई सात भाइ–बहिनी छोराछोरी हुर्कान, पढाउन र परिवार चलाउन गाह्रो हुन्थ्यो, तर अहिले राम्रै ठाउँमा सात रोपनी जग्गा किन्न सफल भएँ, छोराछोरी कोही जापान छन्, कोही कहाँ छन्, तर सबैलाई राम्रो भएको छ, अब त म समस्यामा छैन, यी सबै उपलब्धि मेरो कृषि पेसाबाट नै भएको हो।'
 
सुरुका दिनमा बारीमा धेरै काँक्रा तथा फलफूल उत्पादन भएको र बिक्री नभएपछि बजारमा निःशुल्कसमेत बाँडेको उनले सुनाए। सुरुआतीका केही समयबाहेक पेसालाई पछि फर्केर हेर्न नपरेको उनी बताउँछन्।  सुरुको आर्थिक अवस्था अत्यन्त दयनीय रहेका सापकोटाले कृषि पेसाबाटै आफ्नो आर्थिक अवस्था बदल्न सफल भएका छन्। त्यो बाहेक महत्वपूर्ण उपलब्धि आज थुप्रै किसानलाई समस्या पर्दा कृषकसँगै समाधानमा लाग्दै आएका छन्। तरकारी खेतीले आर्थिक अवस्थासँगै आफ्नो परिचयसमेत बदलिएको सापकोटाको भनाइ छ।

उनको कमाइबाटै अहिले आफ्ना तीन छोरा–बुहारीलाई जापान पठाउनुभएको छ। कृषिलाई अझै व्यवस्थित गर्न भारतीय तरकारी आयातलाई निरुत्साहित गरे यहाँका कृषकले राम्रो आम्दानी गर्न सक्ने सापकाटाको भनाइ छ। त्यसका साथै कृषकलाई प्राविधिक ज्ञान दिनुपर्ने उनको माग छ। सापकोटाको कृषि कर्ममा उनको श्रीमती कौशिला सापकोटाले साथ दिँदै आउनुभएको छ। उनीहरूले कृषि कर्मबाटै वार्षिक रु तीन लाखसम्म बचत गर्दै आएका छन्।

तरकारी खेतीबाट आर्थिक अवस्था बदलिएपछि समाजले हेर्ने दृष्टिकोण बदलिएको उनकी श्रीमती कौशिला बताउँछन्। श्रीमान्को कडा मेहनत र लगावले गर्दा आज परिवारमा ठूलो परिवर्तन आएको उनको भनाइ छ। उनी भन्छन्, 'पहिले त खान लाउनको निकै समस्या थियो, बारीमा उत्पादन भएको धान, मकैले तीन महिना खान पनि पुग्दैनथ्यो, जीउनका लागि अर्काको घरमा पनि काम गर्‍यौँ।'

उनले तरकारी खेती थाल्नुभन्दा पहिले अरुको भारी बोक्ने, होटलमा काम गरेरे जीविका धानेको बताए। अहिले सामान्य खाना, लाउन र परिवार चलाउन समस्या नभएको उनले सुनाए। बूढाबूढी भए पनि दैनिक बारीमै सकेको काम गरेर उत्पादनसँग जोडिएको उनको भनाइ छ।

प्रकाशित मिति: १२:३३ बजे, आइतबार, चैत १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्