नमोबुद्धमा निःशुल्क औषधी वितरण
नगरपालिकाले यसअघि सबै वडाका १ सय ७ स्थानबाट १८ बर्ष माथिका नागरिकको निशुल्क स्वास्थ्य परिक्षण गरेको थियो। नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले फाल्गुन २८, २९ र ३० गते रक्तचाप, मधुमेह (सुगर), अल्कालिन, प्रोटिन परिक्षण निशुल्क गरेर एक वर्षसम्म निशुल्क औषधीको व्यवस्था मिलाएको छ।
काभ्रे, चैत १७ : नमोबुद्ध नगरपालिकाले रक्तचापको नियमित औषधि सेवन गर्ने बिरामीलाई निःशुल्कऔषधी वितरण सुरु गरेको छ।
पहिलो चरण दाप्चास्थित नगर अस्पतालबाट रक्तचापको औषधी निःशुल्क वितरण थालिएको स्वास्थ्य शाखा प्रमुख नवराज दाहालले जानकारी दिए। सुरुमा एम्लोडिपिन उपलब्ध हुने र मधुमेहलगायत अन्य औषधी समेत क्रमश वितरण हुने उनले बताए।
आफूले खाएको औषधीको आधिकारिकता खुल्ने डाक्टरको पूर्जीसहित उपस्थित हुनेलाई औषधी उपलब्ध गराउने व्यवस्था नगरपालिकाले गरेको छ।
औषधी वितरण शुभारम्भ गर्दै नगर प्रमुख कुनसाङ लामाले जनताको हित र सुविधाको लागि आफू सधै प्रतिबद्ध रहेको भन्दै आफूले गरेका प्रतिवद्धता क्रमशः पुरा गर्दै लैजाने बताए। उनले नगर अस्पतालमा स्तरोन्नति भएको दाप्चा स्वास्थ चौकिमा छिट्टै मेडिकल अफिसर (डाक्टर)को व्यवस्थापन गरेर एक्सरेलगायतका सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
नगरपालिकाले यसअघि सबै वडाका १ सय ७ स्थानबाट १८ बर्ष माथिका नागरिकको निशुल्क स्वास्थ्य परिक्षण गरेको थियो। नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले फाल्गुन २८, २९ र ३० गते रक्तचाप, मधुमेह (सुगर), अल्कालिन, प्रोटिन परिक्षण निशुल्क गरेर एक वर्षसम्म निशुल्क औषधीको व्यवस्था मिलाएको छ।
परिक्षणमा स्वास्थ्य समस्या देखिएकालाई नमोबुद्ध–४ स्थित मेथिनकोट अस्पतालबाट थप परिक्षण गरी एक वर्षसम्म औषधी समेत निशुल्क उपलब्ध गराउने नगरपालिकाको तयारी छ । यसअघि परिक्षण गर्दा ५ सय ९७ जनालाई रक्तचाप, १ सय ६० जनालाई मधुमेह, ५ सय २१ जनालाई मृगौलाको समस्या देखिएको थियो।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद लम्साल, स्वास्थ्य चौकी व्यवस्थापन व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नमोबुद्ध नगरपालिका वडा नं. ९ का अध्यक्ष वीरबहादुर लामा, स्वास्थ्य चौकी इन्चार्ज बलराम पौडेललगायतले सेवा स्तरोन्नति गर्न प्रतिबद्ध रहेको बताए ।












