स्ववियु निर्वाचन सदस्य सचिव अधिकारीमाथि आक्रमण भएको भन्दै प्राध्यापक संघकाे आपत्ति
संघका अध्यक्ष प्रा.डा रमेशकुमार जोशी र महासचिव सह प्रा.नरेन्द्रप्रसाद शिवाकोटीले विज्ञप्ति जारी गरेर आक्रमण गर्नेहरुविरुद्ध कारबाही गर्न माग गरेको छ।
काठमाडौं, चैत १६ : नेपाल प्राध्यापक संघ ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन समितिका सदस्य सचिव पशुपति अधिकारीमाथि आक्रमण भएको भन्दै आपत्ति जनाएको छ।
बुधबार त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटाले स्ववियु चुनाव हुन बाँकी क्याम्पसमा चुनाव गर्ने विषयमा विभिन्न विद्यार्थी संगठनसँग छलफल भइरहँदा नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले अधिकारीमाथि आक्रमण र अभद्र व्यवहार गरेको प्राध्यापक संघको भनाइ छ।
संघका अध्यक्ष प्रा.डा रमेशकुमार जोशी र महासचिव सह प्रा.नरेन्द्रप्रसाद शिवाकोटीले आज (बिहीबार) विज्ञप्ति जारी गरेर आक्रमण गर्नेहरुविरुद्ध कारबाही गर्न माग गरेको छ।
विश्वविद्यालयजस्तो गरिमामय संस्थामा यस्तो अभद्र र अमर्यादित आक्रमण भइरहनु निन्दनीय कार्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘शैक्षिक संस्थाभित्र विविध समस्याहरुलाई शान्तिपूर्ण तरिकाले वार्ता र समझदारीको माध्यमबाट समाधानको उपाय खोजिनुपर्नेमा प्राज्ञिक क्षेत्रमा संलग्न गुरुवर्गमाथि यसरी भौतिक रुपमा आक्रमण गर्नु दुखद विषय हो।’













