Kathmandu Press

सिन्धुलीको दुधौलीमा सधैं हात्तीको डर

यतिबेला  हात्तीपीडित दम्पती लखिया सोनार र रामपरीदेवी त्रिपाल टाँगेर बसिरहेका छन्। 'रातभर हामीले सुत्न पाएका छैनौँ, हात्ती यताबाट आउँछ कि उताबाट आउँछ भन्ने त्रासले बुढाबुढी जाग्राम बस्छौँ', रामपरी देवीले भनिन्।
सिन्धुलीको दुधौलीमा सधैं हात्तीको डर

सिन्धुली, चैत १४ : सिन्धुलीको दूधौली नगरपालिका(३ तल्लो खुट्टेपानीमा शनिबार बिहान जङ्गली हात्तीले रामपरीदेवी सोनारको पसल घर भत्कायो। सुतिरहेका सोनार दम्पती भाग्न सफल भए पनि  घरमा राखिएका फ्रिज, टिभि र अन्य पसलका सामान भने बचाउन सकेनन्। 

यतिबेला  हात्तीपीडित दम्पती लखिया सोनार र रामपरीदेवी त्रिपाल टाँगेर बसिरहेका छन्। 'रातभर हामीले सुत्न पाएका छैनौँ, हात्ती यताबाट आउँछ कि उताबाट आउँछ भन्ने त्रासले बुढाबुढी जाग्राम बस्छौँ', रामपरी देवीले भनिन्।

Hardik ivf

गत शनिबार बिहान ३ बजे सोनार दम्पतीको घर भत्काएर गएका दुई वटा हात्ती दिनहुँ साँझपख गाउँमा पसेर विध्वंश मचाउन थालेका छन्। चार दिनयता मात्रै हात्तीले १५ वटा घर भत्काएको वडाध्यक्ष भद्राकुमारी माझीले बताइन्।

'वडावासी र बस्तीको सुरक्षामा चुनौती थपिएको छ। स्थानीय हात्तीको कारण आतङ्कित छन्, मानवीय क्षति हुने डर पनि उत्तिकै छ', उनले भनिन्। 

दिनभरी जङ्गल बस्ने र साँझ परेपछि बस्ती आउने हात्तीले घरभित्र थन्काइएको र खेतबारीमा लगाइएको अन्नबालीमा समेत क्षति पुर्‍याएको छ। पोलेर खाने बेला भएको दूधे मकै, थन्काउन लागिएको गहुँ, कोभी, सागलगायत तरकारी नष्ट गरेको वडाध्यक्ष माझीको भनाइ छ। 

हात्तीबाट हुने क्षति दीर्घकालीन रुपमा समाधान गर्न नगरपालिका र डिभिजन वन कार्यालयसँग सहयोगको याचना गरिरहेको भए पनि हालसम्म कुनै उपाय नसुल्झिएको उनले बताइन्। बर्सेनि पटक–पटक बस्ती पसेर मानवीय तथा भौतिक क्षति गर्ने हात्तीलाई नियन्त्रण गर्न नसकेकोमा प्रभावित तथा पीडित आक्रोसित छन्। कमलाखोँच क्षेत्रमा बर्सेनि जङ्गली हात्तीले जनधनको क्षति गदैँ आए पनि सम्बन्धित निकायले ध्यान नदिएको उनको आरोप छ।

खुट्टेपानीकी स्थानीय  कुन्ता थापाले भनिन्, 'हात्ती गाउँ पसेको थाहा पाउन साथ आगोको धुनी बालेर होहोल्ला गछौँ, रातभर बिजुली बत्ती बालिरहन्छौँ, भाँडाकुँडा ठटाउने गछौँ, तैपनि हात्ती पसेर क्षति गर्न छोड्दैन।' हात्तीले भत्काएका घर तथा खेतबारीको अन्नबाली क्षतिको विवरण अनुसार  वडा कार्यालय पीडितलाई राहत उपलब्ध गराउने दूधौली नगरपालिकाको भनाइ छ। 

हात्तीको उचित व्यवस्थापन तथा दीर्घकालीन समस्या समाधानका लागि माथिल्लो निकायसँग समन्वय भइरहेको नगर प्रमुख दिनेशकुमार अधिकारी (दनुवार) ले बताए। जङ्गली हात्तीले विशेषगरी कमलाखोँच क्षेत्रमा बर्सेनि मानवीय तथा भौतिक क्षति गदैँ आएको छ। जंगल छेउमा रहेका दूधौली र कमलामाई नगरपालिकाका सात वटा वडाका स्थानीयवासीलाई हात्तीले आतंकित मात्रै बनाएको छ। 

प्रकाशित मिति: १६:४६ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्