Kathmandu Press

सवारीसाधनको परीक्षण उपकरणबाट गरिने

कुस्थित सवारी परीक्षण कार्यालयले उपकरणमार्फत सवारीसाधनको स्वस्थता जाँच गर्न तयारी अघि बढाएको हो। उपकरण मर्मत गरेर तयार भए पनि अहिलेसम्म कार्यविधि नभएकाले सञ्चालन शुरु हुन नसकेको सवारी परीक्षण केन्द्रले जनाएको छ। 
सवारीसाधनको परीक्षण उपकरणबाट गरिने

काठमाडौं, चैत १३ : खरिद गरिएको झण्डै एक दशकपछि सवारीसाधनको जाँच गर्ने उपकरण सञ्चालनमा ल्याउने तयारी गरिएको छ। टेकुस्थित सवारी परीक्षण कार्यालयले उपकरणमार्फत सवारीसाधनको स्वस्थता जाँच गर्न तयारी अघि बढाएको हो। उपकरण मर्मत गरेर तयार भए पनि अहिलेसम्म कार्यविधि नभएकाले सञ्चालन शुरु हुन नसकेको सवारी परीक्षण केन्द्रले जनाएको छ। 

सरकारी कार्यालयमा उपकरण सञ्चालनका लागि कार्यविधि आवश्यक पर्छ। सञ्चालनको मापदण्डबारे यातायात व्यवस्था विभागले छलफल चलाएको छ। उपकरण मर्मतपछि नियमित नचलाए पनि कहिलेकाहीँ सञ्चालन भइरहेको केन्द्रका प्रमुख मणिराम भुषालले बताए। कानुन बनाएर बाध्यकारी नभएकाले भने नियमित गर्न नसकिएको हो। 

उनले भने, 'सवारी ऐनमा जाँच गर्ने भने पनि उपकरणबाट जाँच गर्न अनिवार्य गरिएको छैन।' उपकरणको प्रयोग गरी जाँच गर्दा कति पुरानो गाडीलाई गर्ने भनी पहिले मापदण्ड बनाइने छ। नयाँ किन्नासाथ वा त्यसको केही वर्षसम्म त्यसको जाँच नगर्दा पनि हुनसक्छ। कस्तो गाडीमा अनिवार्य गर्ने भनी विज्ञले दिएको सुझावका आधारमा गरिनेछ। जाँच गर्ने भनी ऐनमा उल्लेख रहेकाले उपकरणमार्फत गर्ने भनी कार्यविधिमा समेट्न सकिने उनले जानकारी दिए। 

Hardik ivf

उनले भने, 'मापदण्ड आउनासाथ सुरु गर्न हामी तयारी अवस्थामा छौँ।' केन्द्रमा रहेका हलुका र गहैँ ९हेभी० गरी दुबै सवारीसाधनको जाँच गर्ने उपकरण मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्थामा रहेको छ। विभागबाटै यो यो गाडीमा र यसरी गर्ने भनी यकिन गर्नुपर्ने छ। उनले भने, 'सरकारले बाध्यकारी गरे मात्रै सेवाग्राहीले गर्न थाल्नुहुन्छ।' 

अहिले सवारीसाधन सञ्चालनका लागि केन्द्रले जाँच गर्दै आएको छ। अहिलेसम्म ‘म्यानुअल’ रुपमा जाँच हुँदै आएकामा त्यसलाई उपकरणका माध्यमबाट जाँच गर्न लागिएको हो।  सार्वजनिक सवारीसाधन छ–छ महिनामा जाँच गर्नुपर्छ।

अहिले प्राविधिकले हेरेर परीक्षण गरिरहेका छन्। विदेशमा निजी सवारीसधनमा जाँच गर्नुपर्ने व्यवस्था भए पनि नेपालमा अहिलेसम्म अनिवार्य छैन। निजी सवारीसधनमा प्रदूषण जाँच मात्रै अनिवार्य गरिएको छ। केन्द्रमा अहिले प्रदूषण जाँच गर्न मासिक दुई हजार पाँच सयदेखि तीन हजारसम्म सवारीसधन आउछन्।  

जाँच पासका लागि मासिक चार पाँच सय सवारीसाधन आइरहेको जनाइएको छ। जाँचपासका लागि आउने सवारीसाधन बढिरहेको छ।  

उपकरणमार्फत जाँच सुरु गर्न सरकारले कानुनमा बाध्यकारी बनाउनुपर्ने र मापदण्ड पनि तोक्नुपर्ने केन्द्रले जनाएको छ। लामो समयसम्म थन्किएका उपकरण मर्मत भएको झण्डै सात महिना भएको छ। उनले भने, 'यो बीचमा कतै समस्या छ छैन भनेर हेरिएको छ। साझालगायत कतिपय गाडीको जाँच गरिएको छ।' 

सवारीसधनमा यतिसम्म हुँदा पास र यति हुँदा फेल भन्ने तय हुन बाँकी छ  । यो गाडीको जाँच गर्दा यति आयो भन्ने थाहा भए पनि त्यति आउँदा पास हुन्छ वा फेल भन्ने थाहा नहुने बताइएको छ। उनले भने, 'त्यो गाडीको अवस्थाअनुसार कति अङ्क आयो भन्ने प्रिन्टमा देखिन्छ।' 

विभिन्न देशमा ब्रेकको दुई चक्काबीचको फरक १५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था छ। सवारीसधनका अरु भागमा अरु देशका आआफ्नो मान्यता छन्।

नेपालमा साना गाडी र ठूला गाडीको कति कति हुनुपर्छ भन्ने यकिन गर्न सकिन्छ र सोही आधारमा जाँच्न सकिन्छ। उनले भने, 'हामीले तोकेको न्युनतमसम्म पुगेमा पास हुने र नभएमा फेल हुने गर्न सकिन्छ।' उपकरणको मर्मत उत्पादनकर्ता चिनियाँ कम्पनीको सहयोगमा भएको थियो। 

उपकरण पूर्णरुपमा तयारीमा रहेको  र सञ्चालनका लागि  हेभिगाडीको चालक अनुमतिपत्र भएको चालक आवश्यक रहेको केन्द्रले जनाएको छ। उपकरण नियमित सञ्चालन  गर्न दुई चालक आवश्यक पर्छ।  उपकरणको क्षमताअनुसार आधा घण्टामा एउटा र दिनमा १५ गाडी मात्रै जाँच्न सकिन्छ। त्यो क्षमताअनुसार धेरै गाडी कसरी गर्न सकिएला भन्नेमा विभागमा अन्यौल छ। अरुतिरको सवारी परीक्षण केन्द्रले पनि जाँचका लागि उपकरण खरिद गर्ने तयारीमा रहेको बताइएको छ। 

उपकरणबाटै सवारीसाधनको स्वस्थता परीक्षणका लागि सरकारले आव २०६६/६७ को बजेटमा गरेको व्यवस्थानुसार विसं २०६८ मा सवारीसाधनको अवस्था परीक्षण गर्ने उपकरण खरिद गरेको थियो। सो उपकरणमा परीक्षणका लागि ठूला र साना सवारी साधनलाई छुट्टाछुट्टै लेन छन्। कुनै सवारीसाधन लेनमा प्रवेश गरेपछि त्यसको कुन–कुन भागको अवस्था कस्तो छ भनी कम्प्युटरमा देखिनेछ।

प्रकाशित मिति: १५:१४ बजे, सोमबार, चैत १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्