Kathmandu Press
ह्विलचियरले दिएको खुसी
ह्विलचियरले दिएको खुसीसजुका दुवै खुट्टा चल्दैनन्। बुधबार ह्विलचियरमा बुबाआमाले यताउता डुलाउँदा उनी खुब रमाइरहेकी थिइन्।

काठमाडाैं, चैत १३ : काठमाडौं फागुन १७ गते ललितपुर महानगरको प्रांगणमा बाबुसी महर्जन र उनकी पत्नी बद्री महर्जन निकै दंग परेको अवस्थामा भेटिए। किनकि त्यो दिन उनीहरूकी २७ वर्षीया छोरी सजु महर्जनले निःशुल्क ह्विलचियर पाएकी थिइन्।

१५औं अन्तर्राष्ट्रिय ह्विलचियर दिवसका अवसरमा रोटरी क्लब अफ पाटनको सहयोगमा ललितपुर महानगरपालिकाले ह्विलचियर बाँडेको थियो। सोही मौकामा सजुले ह्विलचियर पाएकी हुन्। त्यसको एक महिनाअघि ललितपुर महानगरले ह्विलचियर अत्यावश्यक परेकालाई आवेदन फाराम खुलाउँदा २७ जनाले भरेका थिए। ती आवेदकमध्येबाट पनि अत्यावश्यकको सूचीमा अगाडि रहेका पाँचजनालाई ह्विलचियर बाँड्दा सजु पनि परेकी हुन्।

ललितपुर महानगरपालिकका मेयर चिरिबाबु महर्जनले त्यतिबेला भनेका थिए, ‘अत्यावश्यक परेका व्यक्तिलाई मात्र ह्विलचियर दिएका हौं। अपांगता भएका सबैलाई ह्विलचियर दिने प्रयास गर्छौं।’ सजुका बुबा बाबुसीले छोरीका लागि ह्विलचियर पाइने आशामा आवेदन दिएका थिए।

Hardik ivf

उनी आवेदेन दिने बेला ललितपुर महानगर–१३ मा बस्थे। अहिले भने उनको बसोबास महालक्ष्मी नगरपालिका–१ मा रहेको छ। सजुमा जन्मजात रूपमै अशक्तता भएको उनले बताए। ‘पहिला त बोल्नसमेत सक्दिनथिन्, अहिले अलिअलि बोल्छिन्,’ बाबुसी भन्छन्, ‘लामो समय थेरापी गरेपछि अलिअलि बुझ्नेगरी बोल्न सक्ने भएकी हुन्।’ तर थेरापीलाई निरन्तरता दिन नसकेको उनले बताए।

सजुका दुवै खुट्टा चल्दैनन्। बुधबार ह्विलचियरमा बुबाआमाले यताउता डुलाउँदा उनी खुब रमाइरहेकी थिइन्। ‘सजुलाई घरभित्र मात्र राखिन्थ्यो,’ बाबुसीले भने, ‘अब वरपर डुलाउन सहज हुने भयो।’ सजु ‘क’ वर्गकी अपांगतामा पर्छिन्। अपांगता भएको व्यक्तिको अधिकारसम्बन्धी नियमावली २०७७ अनुसार ‘क’ वर्गले पूर्ण अशक्तता/अपांगता भएको व्यक्तिलाई जनाउँछ। त्यस्ता व्यक्तिलाई रातो रङको परिचयपत्र दिइन्छ।

त्यस्तै ललितपुर–१३ की १५ वर्षीया प्रेक्षा तिमिल्सिना विगतमा ह्विलचियर पाएपछि विद्यालय जान पाउने भन्दै खुसी भएकी थिइन्। ‘कक्षा ९ मा पुग्थेें तर वैशाखदेखि विद्यालय जान सकिनँ,’ प्रेक्षा भन्छिन्। ह्विलचियर पाए पनि विद्यालय जान नसकिएकोमा उनी दुःखी छिन्।

336626163_3398438157138087_7569393630213175869_n1679895553.jpg

उनले पनि पहिलोपटक ह्विलचियर पाएकी हुन्। प्रेक्षा सकुशल जन्मिएकी थिइन्। पाँच वर्षको भएपछि खुट्टामा समस्या देखिएपछि हिँडडुलमा समस्या भएको थियो। बिस्तारै खुट्टासँगै हात पनि पूर्ण रूपमा नचल्ने भएपछि दिमागमा असर पुगेको प्रेक्षाकी आमा सिर्जना तिमिल्सिना बताउँछिन्। ‘वैशाखदेखि छोरीलाई विद्यालय पठाउन बन्द गरिदियौं, हातले कलम चलाउन नसक्ने भएपछि विद्यालय पठाएको छैन,’ सिर्जना भन्छिन्, ‘पहिला प्रथम हुने छोरी अहिले पढेका कुरा याद गर्न सक्थिन्।’

चार वर्षदेखि उनलाई विद्यालय पु¥याउनेल्याउने गरिएको थियो। खाजा खुवाउन, शौचालय लैजान सिर्जना आफैं विद्यालय जान्थिन्। तर पढाएको कुरा लेख्न पनि नसक्ने भएपछि २०७९ को शैक्षिक सत्रबाट प्रेक्षालाई घरमै राखिएको छ। ‘शिक्षकले परीक्षा पनि घरमै गराउनू भन्नुभएको छ, एसइईसम्म पढाउन पाए हुन्थ्यो,’ सिर्जनाले भनिन्, ‘एउटा विषयको परीक्षा दिन ६÷७ घन्टा लाग्छ।’

उनकी छोरी मात्र नभई छोराको पनि अवस्था उस्तै छ। छोरालाई पनि कक्षा ४ सम्म मात्र विद्यालय पठाउन सकियो। अब कक्षा ५ मा जान्थ्यो। उसले पनि कलम समाउन नसक्ने भएकाले पठाउन छाडेको सिर्जना बताउँछिन्। ‘दुईजनाकै लागि ह्विलचियर आवश्यक थियो। फाराम भरेको थिएँ तर एउटा मात्र पायौं,’ उनी भन्छिन्, ‘धेरैपटक थेरापी तथा अस्पताल पु¥यायौं, वंशाणुगत रोग हो भन्छन्। तर हाम्रो तीन पुस्तामा त्यस्ता बिरामी छैनन्।’

336645210_2267926463389394_1673586148484196622_n1679895572.jpg

आफ्ना दुवै सन्तान सुरुमा सामान्य भए पनि सानो समस्या देखिएर अन्ततः अशक्तताको अवस्थामा पुगेको उनी बताउँछिन्। सिर्जनाले विभिन्न अस्पताल लाने र थेरापी गराउने गरिरहेकी छन्। तर पनि उनीहरूको स्वास्थ्यको केही सुधार नआएको दुखेसो उनी पोख्छिन्।  ‘अहिले छोराछोरी नै घरमा छन्, खाना खुवाउने, शौचालय लैजाने काम गरिदिनुपर्छ,’ उनले भनिन्, ‘बोकेर हिँड्न सक्दिनथें, ह्विलचियर पाएर अलिकति सहज भएको छ।’

सजु र प्रेक्षासँगै ३२ वर्षीय रोहन देउला (पाण्डे) र ४८ वर्षीय लक्ष्मण खड्काले ह्विलचियर पाएका छन्। रोहन ललितपुर महानगरको–११ मा बस्छन्। उनी ‘ख’ वर्गका अपांगता भएका व्यक्ति हुन्। लक्ष्मणले पनि अत्यावश्यक भएकाले ह्विलचियर प्राप्त गरेका थिए। पाँचौं नम्बरका व्यक्ति भने उपस्थित थिएनन्।  

‘उपयुक्त ह्विलचियर, सुरक्षित र पहुँचयुक्त आवागमन हाम्रो अधिकार’ नाराका साथ जावलाखेलपार्कदेखि महानगरको प्रांगणसम्म ¥याली गरेर अन्तर्राष्ट्रिय ह्विलचियर दिवस मनाउँदा सयभन्दा धेरै ह्विलचियर प्रयोगकर्ता उपस्थित रहेको स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले बताए। ‘ललितपुर नगरपालिकाले अपांगता भएका व्यक्तिका लागि धेरै काम गरेको छ। मेयर बनेपछि बोलेका कुरा चिरिबाबु महर्जनले पूरा गर्नुभएको छ,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘ललितपुर महानगर अपांगता भएका व्यक्तिका लागि धेरै काम गरेको छ।’

श्रेष्ठका अनुसार चिरिबाबुको अघिल्लो कार्यकालमा महानगरभित्र अपांगमैत्री शौचालय, नगरप्रमुख कक्षासम्म जान लिफ्ट, अपांगमैत्री सडक बनाउने काम सम्पन्न भए। ‘आगामी दिनमा अपांगता भएका व्यक्तिका लागि सडक पार गर्न मिल्ने पुल बनाउने भन्नुभएको छ,’ उनले भने, ‘अपांगता भएका व्यक्तिका लागि यी कुराले निकै सहजता ल्याउँछन्।’

उनी अपांगता भएकाका लागि ह्विलचियरलाई पुनर्जन्मका रूपमा लिन्छन्। एउटा कोठमा थुनिएर बसेका अपांगता भएका व्यक्ति ह्विलचियरको साहायताले हिँडडुल गर्ने सक्ने भएकाले उनीहरूको जीवनमा नयाँ उमंग आउने उनी बताउँछन्। ‘ह्विलचियर नेपालमा बन्ने र मर्मत हुने भए सजिलो हुन्थ्यो तर त्यो अवस्था छैन,’ उनले भने, ‘ह्विलचियर किन्न नसकेर अपांगता भएका धेरै व्यक्तिलाई घरम राखिएको छ।’

336610288_707245977758333_5657809181671428658_n1679895553.jpg

अध्यक्ष भोजराज देशभर एक लाखको संख्यामा ह्विलचियर प्रयोगकर्ता रहेको बताउँछन्। ‘ह्विलचियर नपाउने कति छन्, त्यो तथ्यांक छैन,’ उनले भने, ‘देशभर अपांगता भएका व्यक्ति कति छन् भन्ने वास्तविक तथ्यांक पनि छैन।’

अन्य नगरको तुलनामा ललितपुर महानगरले अपांगता भएको व्यक्तिको सहजका लागि क्रमिक काम गर्दै गइरहेको अध्यक्ष भोजराजको अनुभव छ। ‘मेयर महर्जनसँग अपांगता भएका व्यक्तिको धेरै आशा छ,’ उनले भने, ‘आगामी दिनमा पनि उहाँले पक्कै अझै धेरै काम गर्नुहुन्छ।’

मेयर महर्जन अपांगता भएका व्यक्तिको समस्या समाधानमा आफूले धेरै काम गर्ने सोच राखेको बताउँछन्। ‘चक्रपथमा बन्ने आकासेपुलमा दुवैतिर लिफ्ट र अपांगतामैत्री शौचालय र कफी सप बनाउन पहल गर्छु,’ महर्जन भन्छन्, ‘अपांगता भएको व्यक्तिको दैनिकी सहज बनाउन महानगरले सक्ने काम गर्छ।’
अपांगता भएको व्यक्तिको सहजताका लागि ह्विलचियर सबैलाई दिन पहल गर्ने मेयर महर्जन बताउँछन्।

 

प्रकाशित मिति: ११:२० बजे, सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्