Kathmandu Press

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक

सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत रहेको सो बाल सुधार गृहमा तोकिएको भन्दा दोब्बर बालक आश्रित रहेका छन्।
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक

हेटाैंडा, चैत ११ : भौतिक पूर्वाधारको अभावलगायत  समस्या भोग्दै आएको हेटौंडास्थित बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक रहेका छन्। 

सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत रहेको सो बाल सुधार गृहमा तोकिएको भन्दा दोब्बर बालक आश्रित रहेका छन्। करिब ३५ जनाको क्षमता रहेको सो बाल सुधार गृहमा अहिले ६८ बालक आश्रित छन्।

सुधार गृहमा १८ वर्षमुनिका विभिन्न अभियोग लागेका र फैसला भएकालाई त्यहाँ राख्नुपर्ने प्रावधान भए पनि बढी उमेरकालाई समेत राख्नुपर्ने बाध्यता रहेको सुधारगृहका निमित्त प्रमुख प्रदीप गौतमले जानकारी दिए। 

हाल यहाँ १४ वर्ष उमेर पुगेका बालकदेखि २२ वर्षसम्मकालाई राखिएको छ। 'सामान्य लेखपढ गर्नेदेखि ११ कक्षासम्म पढ्नेलाई राखेका छौँ।

मधेस र कोशी प्रदेशका बालसुधार गृहमा चाप बढेपछि हेटाैंडा पठाउने गरिएको छ”, उहाँले भन्नुभयो। विकल्प नहुँदा क्षमताभन्दा बढी बालक राख्नु परेको गौतमको भनाइ छ। 

विसं २०७५ मा स्थापना भएको हेटौँडा बाल सुधार गृहमा बालकका लागि बस्ने, खाने, स्वास्थ्य उपचार, लत्ताकपडा, बाल सुधार गृहबाटै परीक्षा दिने तथा खेल्ने व्यवस्था छ।

पुस्तकालयको समेत व्यवस्था छ। सुधार गृहमा  करणी मुद्दाका ४२, डाँकाचोरी मुद्दाका आठ, सवारी ज्यान र कर्तव्य ज्यान मुद्दाका तीनतीन, लागूऔषधका पाँच, चोरी मुद्दाका  चार, शरीर बन्धक तथा अपहरण मुद्दाका एक बालक आश्रित रहेको बताइएको छ।

प्रकाशित मिति: १७:१५ बजे, शनिबार, चैत ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्