सडक मापदण्डभित्रका अस्थायी संरचना हटाउन रेखाङ्कन

ताप्लेजुङ, चैत १० : मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम फुङलिङका अस्थायी टहरा हटाउन फुङलिङ नगरपालिकाले अनुरोध गरेको छ । सडकको दायाँ बायाँ साढे १० मिटरका दरले चौडाइ कायम गर्ने गरी रेखाङ्कन गर्दै १५ दिनभित्र संरचना हटाउन नगरपालिकाले आग्रह गरेको हो ।
बुधबारदेखि रेखाङ्कन गर्ने काम सुरु गरिएको छ । सडक विभाग इलाम र फुङलिङ नगरपालिकाले तीन पटक सार्वजानिक सूचना गर्दा स्थानीयले टहरासहित अस्थायी संरचना नहटाएपछि नगरपालिकाले रेखाङ्कन गर्दै हटाउन भनेको हो । रेखाङ्कनका क्रममा फिल्डमै निस्कएका नगरप्रमुख अमिर मादेनले स्थानीयलाई अस्थायी संरचना हटाउन अनुरोध गर्दै आएका छन।
राजमार्गअन्तर्गत मापदण्डभित्र पर्ने टहरा मात्र हटाउन लगाइएको तर पक्की घरका सम्बन्धमा चुपचाप भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । केहिले सडक आवश्यकता भएको भन्दै भत्काउन तयार रहेको सङ्केत गरे पनि अधिकांशले भने भत्काउन नहुने अडान लिएका छन् ।
बजारभित्रै राजमार्गको मापदण्डअनुसार सडक विस्तार हुँदा ठूलो क्षतिसहित धेरै परिवारको उठिवास हुने भएकाले यसको विकल्प खोज्नुपर्ने स्थानीय खगेन्द्र फेम्बू (लिम्बू)ले बताए।
सडक ऐन लागू हुनु पूर्व बनेका र त्यसपछि बनेका घरले सडकको भाग छाड्दा धेरैको जग्गा जमिन नै सकिने भएकाले गम्भीर समस्या उत्पन्न हुने बजारवासी छत्र विकले गुनासो गरे।
सडक विभाग इलामको अनुरोधमा नगरपालिका र जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा अस्थायी टहरा भत्काउने तयारी गरेको हो । सडक ऐन २०३१ अनुसार मेची राजमार्गको चौडाइ ४२ मिटरको छ । यद्यपि सरोकारवालाको सुझावमा बजारभित्र सडक २१ मिटरको कायम गर्नका लागि अनुरोध गर्ने तयारी छ ।
बजारभित्र ४२ मिटरको चौडासहितको बाटो बनाउन सम्भव नभएकाले बाइपासका लागि सहमति गरेर बजारभित्र २१ मिटर मात्र कायम गर्ने गरी रेखाङ्कन भइरहेको नगरप्रमुख मादेनले जानकारी दिए।
तत्काललाई अस्थायी संरचना हटाउने र २१ मिटरभित्र पर्ने अन्य संरचना क्रमशः हटाउने उनको भनाइ छ । एकातिर विकासका लागि सडकको आवश्यकता अर्कातिर त्यही सडकले पुर्याउने क्षति र उत्पन्न विवादले भने अवरोध भइरहेको मादेनले बताए।












