राष्ट्रपतिको कानुनी सल्लाहकारमा कुँवर नियुक्त हुँदै
राष्ट्रपतिको चाहनाअनुसार कुँवरलाई चाँडै नियुक्तिको तयारी भइरहेको जनाइएको छ।
काठमाडाैं, चैत १० : राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गर्ने भएका छन्।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार विज्ञ कानुनी सल्लाहकार नियुक्ति गर्ने सन्दर्भमा विहीवार राष्ट्रपति पौडेल र कुँवरबीच भेटवार्ता भएको थियो। राष्ट्रपतिको चाहनाअनुसार कुँवरलाई चाँडै नियुक्तिको तयारी भइरहेको जनाइएको छ। कुँवर तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा महान्यायाधिवक्ता थिए। त्यसपछि उनी गण्डकी प्रदेश प्रमुख समेत बनेका थिए।
अर्घाखाँचीमा जन्मिएका कुँवर वरिष्ठ अधिवक्ता हुन्। ०३४/३५ सालमा पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा कानुन विषय पढेका कुँवरले तीन दशक भन्दा बढी वकालत गर्दै आएका छन्।
२०३६ सालको जनमतसंग्रह देखि उनले कांग्रेस निकट रहेर लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए। न्याय क्षेत्रमा निर्भिक, इमान्दार एवम् स्पष्ट वक्ताको रुपमा उनको पहिचान छ। लोकतान्त्रिक आन्दोलनकाक्रममा उनी पटक पटक जेल समेत परेका छन्।
कुँवर डेमोक्रेटिक लयर्स एसोसियसनका पूर्व अध्यक्षसमेत हुन्। उनले फौजदारी कानुनका साथमा संवैधानिक विवाद्सम्बन्धी मुद्दामा दख्खल राख्छन्।












