शिक्षण सिकाइलाई प्रविधिसँग जोड्न शीतलाका शिक्षकलाई कम्प्युटर तालिम
समयसापेक्ष शिक्षा लिन र दिन कम्प्युटरको प्रयोगसम्बन्धी आधारभूत सीप सबै शिक्षकमा नभइनहुने भएकाले विद्यालयले आफ्नै प्रयासमा तालिम कार्यशालाको आयोजना गरेको प्रधानाध्यापक लक्ष्मण श्रेष्ठ बताउँछन्।
काठमाडौं, चैत ९ : काठमाडौं महानगरपालिका-१६ स्थित शीतला माध्यमिक विद्यालयले विद्यालयका विभिन्न तहमा कार्यरत शिक्षकका लागि एक साताको आधारभूत कम्प्युटर तालिम कार्यक्रम सञ्चालन गरिरहेको छ। हरेक दिन दुई घण्टा सञ्चालन भइरहेकाे सो तालिम फागुन ६ बाट १४ सम्म सञ्चालन हुने विद्यालयले जनाएको छ। शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षा सकिएपछि विद्यालयमा कम्प्युटर तालिम कार्यशाला सञ्चालन गरिएको हो।
कक्षाकोठालाई प्रविधिमैत्री बनाउन, पठनपाठनमा आइसिटी समावेश गर्न, शिक्षण पेसामा ज्ञानविज्ञान र नवप्रवर्तनलाई जोड्न, विद्यालयको वेबसाइट अपडेटेड राख्न, विद्यालयमा स्कुल म्यानेज्मेन्ट सिस्टम प्रयोग गर्न, प्रश्नपत्र निर्माण तथा अन्य कार्यलाई व्यवस्थित गर्न, समयसापेक्ष शिक्षा लिन र दिन कम्प्युटरको प्रयोगसम्बन्धी आधारभूत सीप सबै शिक्षकमा नभइनहुने भएकाले विद्यालयले आफ्नै प्रयासमा तालिम कार्यशालाको आयोजना गरेको प्रधानाध्यापक लक्ष्मण श्रेष्ठ बताउँछन्।
समयानुकूल शिक्षण गर्न शिक्षकहरूले डेस्कटप पिसी, ल्यापटप पिसी र ट्याब्लेटजस्ता मोबाइल उपकरण प्रयोग गर्नुपर्ने भएकाले विद्यालयले प्रयोगात्मक अभ्याससहितको कार्यशाला आयोजना गरेको विद्यालयका शिक्षक विजया मिश्र बताउँछन्। शिक्षण सिकाइसँग जोड्नेगरी कम्प्युटर ज्ञान हासिल हुने भएकाले शिक्षकहरूमा नयाँ उत्साह देखिएको प्राथमिक शिक्षक सुनीता श्रेष्ठ बताउँछिन्।
एक कुशल शिक्षकले समयसापेक्ष रूपमा विद्यार्थीमा सीप र ज्ञान प्रवाह गर्न कम्प्युटरसम्बन्धी सीप अपरिहार्य र अनिवार्य भएकाले यो कार्यक्रमको माग विद्यालय प्रशासनसमक्ष गरेको नेपाल भाषा शिक्षक विनीता तन्डुकार बताउँछिन्।
प्रयोगात्मक शिक्षा, व्यावहारिक शिक्षा र वैज्ञानिक तथा जीवनोपयोगी शिक्षा दिने हो भने पहिला शिक्षक तयार हुन तालिम अपरिहार्य रहेको माध्यमिक तहका शिक्षक सीताराम अधिकारी बताउँछन्। शिक्षक इन्दु थापा कक्षाकोठालाई रमाइलो र सिकाइलाई प्रभावकार िबनाउन कम्प्युटर सिप उपयोगी हुने विश्वास रहेको भावना व्यक्त गर्छिन्। परम्परागत रुपमा, पुरानो विधि र तरिकाबाट गरिआएको शिक्षणलाई आधुनिक शैली दिन विद्यालयले कोसिस गरेको हुनाले शीतला मावि समयसापेक्ष शिक्षा दिन सक्षम रहेको शिक्षक देवु शर्माले बताइन्।
शीतलाको सिकाइलाई राम्रो र गुणस्तरीय बनाउन तालिम प्रभावकारी हुने शिक्षक बिन्दुदेवी पाण्डे उल्लेख गर्छिन्। कम्प्युटर प्रयोगमा सक्षम भएर शिक्षकको पेसागत दक्षता बढाउन सकिने शिक्षक राधा बोगटी बताउँछिन्। तालिमले घरमै बसेर पनि नयाँनयाँ अभ्यास गर्ने रुचि जगाएको शिक्षक विजया न्यौपाने सुनाउँछिन्।
कम्प्युटरसँग सम्वन्धित विविध सामग्री तथा सुविधाहरुको सही सदुपयोग गर्न र कक्षाकोठामा शिक्षण कार्यसँग जोड्न आवश्यक प्रविधिको जानकार हुनुपर्ने भएकाले तालिम आयोजना गरिएको शिक्षक अनिल खनाल बताउँछन्। प्रवचन विधिबाट एकोहोरो भाषण गरी सिकाउनुभन्दा कम्प्युटर प्रविधिका माध्यमले संसारको ज्ञान विद्यार्थीमाझ प्रस्तुत गर्न सिकाउने तालिम फलदायी हुन सक्ने शिक्षक सुनिल श्रेष्ठकाे भनाइ छ। विद्यालयका शिक्षक शुभद्रा दनाई, विमला भट्ट र पविता श्रेष्ठले विद्यालयको प्रयासको प्रशंसा गर्दै आफूहरुले जानेका कुरा आदानप्रदान गर्न पाउँदा नयाँ ज्ञान मिलेकाे बताए।
कम्प्युटर प्रयोगको युगमा समयसापेक्ष रूपमा आफूलाई निखार्न तालिम उपयोगी हुने विश्वास गरिएको प्रशिक्षक तथा विद्यालयका आइसिटी विभाग प्रमुख अजय वन्तले बताए। विद्यालय स्वयंको प्रयासले भन्दा महानगरले सबै विद्यालयमा यस्तो कार्यक्रम चलाए समयसापेक्ष रूपमा शिक्षक तयार हुने र सिकाइका सन्दर्भमा सुनमा सुगन्ध हुने शिक्षक लेखनाथ निरौलाले बताए। विद्यालयकी सहायक प्रधानाध्यापक इश्वरी अधिकारीले आगामी दिनमा शितलाले शैक्षिक क्षेत्रमा देखिने गरी कार्यक्रम गर्ने र सोही अनुरुप उपलब्धि हासिल गर्ने योजना बनाएको बताइन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुक्रलाल श्रेष्ठले ठुलो प्रयास, मिहिनेत र कोसिसले स्थापना र विकास गरेको विद्यालयलाई अझै अब्बल र स्तरीय रूपमा शिक्षणसिकाइ गर्ने शैक्षिक संस्थाका रुपमा लान अनवरत प्रयास गरिरहेको बताए। कक्षा ८ को आधारभूत तहको अन्तिम परीक्षाको अवलोकन र निरीक्षणका क्रममा विद्यालय पुगेको काठमाडौं महानगरपालिकाकै तरुण मावि स्रोत केन्द्रका स्रोतव्यक्ति लोकनाथ गुरागार्इंले विद्यालयको असल अभ्यास र कोसिसमा सधै महानगरपालिका तथा स्रोतकेन्द्र सहयोगी रहने बताए।












