सामुदायिक वनका अध्यक्षसहित आठजना पक्राउ
घाटगद्दीमा रहेको करिब ५२ लाख बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
बाँके, चैत ९ : बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।
घाटगद्दीमा रहेको करिब ५२ लाख बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सयम भवानी सामुदायिक वन उपभोक्ता समितिका सचिव आरती वैश्य, कोषाध्यक्ष मैयासरी थारु, सदस्य कमला केसी, मानबहादुर विक, रामकली थारु, खडगबहादुर ओली र शिवकुमारी थारु छन्। उनीहरुलाई वन कार्यालयको हिरासतमा राखिएको जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काको जानकारी दिए।
आठै जनामाथि घाटगद्दीमा राखेको काठ, दाउरा हिनामिना गरेको अभियोगमा मुद्दा चलाइने उनले बताए । काठ, दाउरा बेचेको कुनै हिसाब पनि नभएको र खातामा समेत पैसा नदेखिएको अधिकृत खड्काले बताए।
साल, अस्ना, कर्मा, जामुन, शिरिषलगायत जातका काठका गोलिया बेचबिखन गरेको वन कार्यालयले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत, बाँकेबाट अनुमति लिएर प्रहरीले पक्राउ गरी वन कार्यालयलाई बुझाएको हो।












