भ्रष्टाचार अनुसन्धान गर्ने जिम्मा अख्तियारकै
काठमाडौं, फागुन ३ः भ्रष्टाचारको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएपछि आम रूपमा एउटै आवाज उठेको छ&ndas....
काठमाडौं, फागुन ३ः भ्रष्टाचारको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएपछि आम रूपमा एउटै आवाज उठेको छ– राजीनामा दिएकै आधारमा उन्मुक्ति दिन मिल्दैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले काठमाडौं प्रेससँग भने, ‘राजीनामाले उनले गरेको भ्रष्टाचारको आरोपलाई थप पुष्टि गरेको छ । अब उनीमाथि अनुसन्धान गरी कारवाही अघि बढाउनुपर्छ । राजीनामाले उनीमाथि लागेको अभियोगबाट उन्मुक्ति मिल्ने होइन । यस्तो हुनुहुँदैन ।’
पाठकको राजीनामाले उनीमाथिको महाअभियोग भने टरेको छ । ‘संसद्को काम सकिएको छ । राजीनामाले उहाँमाथि संसद्ले लगाउने तयारी गरेको महाभियोग टरेको छ’, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने ।
संवैधानिक पदमा आसिन व्यक्तिमाथि त्यत्रो प्रश्न उठिसकेपछि उनलाई पदबाट हटाउन सक्ने अधिकार संसद्लाई मात्र हुन्थ्यो । त्यसैले महाभियोग दर्ता गर्ने तयारी नेकपाले गरेको थियो । पूर्व सभामुखसमेत रहेका नेम्वाङले काठमाडौं प्रेससँग भने, ‘महाभियोग उहाँलाई पदबाट हटाउनका लागि हुन्थ्यो । त्यसैले हामी त्यसको तयारीमा थियौँ ।’ संसद्ले गर्नुपर्ने काम सकिए पनि अब छानबिन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै भ्रष्टाचारको मुद्दा चलाउनुपर्ने बताए ।
‘उनीमाथि छानबिन गरी मुद्दा दायर गर्ने जिम्मा अख्तियारकै हो । अख्तियारले यो घटनालाई छानबिन गरी उदाहरण बन्न सक्नुपर्छ । अख्तियारकै आयुक्त भएर भ्रष्टाचार गर्नेमाथिको छानबिन त हिरासतमा राखेरै गर्नुपर्छ ।’
सूर्यनाथ उपाध्याय , पूर्व प्रमुख आयुक्त ,अख्तियार दुरुपयोग अनुसन्धान आयोग
भ्रष्टाचारका गरी मोटो रकम असुलेको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएको दुई दिनपछि आयुक्त पाठकले शुक्रबार अपरान्ह १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका थिए । राष्ट्रपति कार्यालयले तत्काल राजीनामा दिएको पुष्टि गर्यो तर राजीनामा स्वीकृत भएको औपचारिक विज्ञप्ति जारी हुनु अगावै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वेवसाइटबाट उनको नाम हटाएको छ ।
यो पनि पढ्नुहोस् : अख्तियार आयुक्त पाठकले दिए राजीनामा
पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले बिरामी वा अरु व्यक्तिगत कारण देखाएर राजीनामा नै गरेको रहेछ भने भ्रष्टाचारको अभियोग सञ्चारमाध्यममा आइसकेपछि त्यसै छाड्न नमिल्ने बताए । ‘उनीमाथि छानबिन गरी मुद्दा दायर गर्ने जिम्मा अख्तियारकै हो । अख्तियारले यो घटनालाई छानबिन गरी उदाहरण बन्न सक्नुपर्छ’, उनले भने, ‘अख्तियारकै आयुक्त भएर भ्रष्टाचार गर्नेमाथिको छानबिन त हिरासतमा राखेरै गर्नुपर्छ ।’
भारत, थाइल्याण्ड, मलेसिया लगायतका देशमा त्यहाँका भ्रष्टाचार हेर्ने यस्तै निकायका प्रमुखमाथि समेत अनुसन्धान गरी कारवाहीका लागि मुद्दा दायर गरिएको उदाहरण दिँदै उपाध्यायले भने, ‘राजीनामा दिएपछि घूस खाएको रकमसमेत पच्ने हुनुहुँदैन ।’
यो पनि पढ्नुहोस् : अख्तियार आयुक्त पाठकमाथि महाभियोग दर्ताका लागि हस्ताक्षर संकलन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सदस्यमा पाँच वर्षअघि नियुक्त हुनुअघि उनी सरकारी वकील थिए । न्याय सेवाको नायव महान्यायाधिवक्ताबाट सेवा निवृत्त उनी विशिष्ट श्रेणीको पेन्सन खाने पूर्व कर्मचारी पनि हुन् । त्यसबेला पनि ‘श्रमको मूल्य बुझेको सरकारी वकील’ भनी घूस खानमा कहलिएका उनीमाथि अहिलेको आरोपमाथि अख्तियारले छानबिन गरी अदालतले ठहर गरेमा उनको पेन्सन समेत रोक्नुपर्छ ।
यो पनि पढ्नुहोस् : अख्तियार आयुक्त पाठकलाई राजीनामा गर्न नेकपाको दबाब