पानीसम्बन्धी राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु
नेपालमा पानीको संकट न्यूनीकरण गर्ने उपायहरुको खोजी गरी कार्यान्वयनमा ल्याउने उद्देश्यले खानेपानी मन्त्रालयसँगको समन्वयमा स्मार्ट वास सोलुसन्स र वाटर एड नेपालले दुई दिने सम्मेलन आयोजना गरेको हो।
काठमाडाैं, चैत ५ : ‘बर्सातको पानी संकलन : पानीको संरक्षण र जलवायु परिवर्तनका असर सम्बोधन’सम्बन्धी राष्ट्रिय सम्मेलन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ।
नेपालमा पानीको संकट न्यूनीकरण गर्ने उपायहरुको खोजी गरी कार्यान्वयनमा ल्याउने उद्देश्यले खानेपानी मन्त्रालयसँगको समन्वयमा स्मार्ट वास सोलुसन्स र वाटर एड नेपालले दुई दिने सम्मेलन आयोजना गरेको हो।
स्मार्ट वास सोलुसन्स प्रालिका अध्यक्ष रामदीप साहले दिगो विकासको लक्ष्य प्राप्ति, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा जलउत्पन्न प्रकोप न्यूनीकरणका लागि सम्मेलनमा छलफल हुने जानकारी दिए।
बर्सातको पानी सङ्कलनसम्बन्धी आवश्यक योजना तर्जुमा गर्दै यस बिषयलाई स्थानीय तहमार्फत देशव्यापी बनाउनका लागि बिज्ञहरुको सुझाव लिइने उनले बताए।
सम्मेलनको समापन गर्दै सोमबार काठमाडौँ घोषणा जारी गरिने आयोजकले जनाएको छ। स्मार्ट वासले खानेपानी मन्त्रालयको समन्वय र विभिन्न संस्थाको सहयोगमा २०२० पनि बर्सातको पानी सङ्कलनसम्बन्धी राष्ट्रिय सम्मेलन गरेको जनाएको छ।