एनएमएसआरएको राष्ट्रिय महाधिवेशन चितवनमा
यही चैत ३ र ४ मा चितवनको दियालो फुडल्याण्डमा महाधिवेशन हुन लागेको हो।
चितवन, चैत २ : नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) नेपालको २८औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ। यही चैत ३ र ४ मा चितवनको दियालो फुडल्याण्डमा महाधिवेशन हुन लागेको हो।
औषधि तथा बिक्री प्रतिनिधिलाई बोलिचालीको भाषामा मेडिकल रिपे्रजेन्टिटिभ ९एमआर० भन्ने गरिन्छ। सङ्घका अध्यक्ष अनिल दाहालका अनुसार देशभरका १४ इकाईबाट पाँच सय प्रतिनिधिले महाधिवेशनमा सहभागी हुनेछन्।
महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ। अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, सचिव ३, कोषाध्यक्ष एक, सहकोषाध्यक्ष एक र १४ इकाईबाट एक एक जना सदस्य रहने व्यवस्था रहेको दाहालले जानकारी दिनुभयो। दुई जना सदस्य भने समितिले मनोनयन गर्ने छ। समितिको कार्यकाल तीन वर्षको रहेको छ।
महाधिवेशन तयारी समितिका संयोजक एवं नारायणगढ इकाई अध्यक्ष धर्मदत्त दवाडीका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। महाधिवेशनस्थल, आवास लगायतका तयारी पूरा भएको उहाँले जानकारी दिए।
सङ्घको तथ्याङ्क अनुसार देशभर ६ हजारभन्दा बढी सदस्य छन्। ती मध्येबाट प्रतिनिधि छनोट भएर आउने हुन्। नेपालमा १५० भन्दा बढी विदेशी र ९५ नेपाली औषधि कम्पनीका प्रतिनिधि कार्यरत छन्।












