मलमा दिँदै आएको अनुदान कटौती गरेको विरोधमा प्रदर्शन
एमाले निकट अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन लगाएतका संघहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गर्दै अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन्।
काठमाडौं, चैत २ : सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान कटौती गरेको विरोधमा विभिन्न दल निकट किसान संगठनहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
एमाले निकट अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन लगाएतका संघहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गर्दै अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन्।
प्रदर्शनमा सहभागीहरुले नेपाली किसानको बजा सुनिश्चित गर, किसान मार्न पाइदैन प्रचण्ड सरकार चाहिदैन, मलको भयो हाहाकार, राजीनामा देउ कम्फर्टेबल सरकारलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
वर्तमान सरकारले किसान बिरोधी निर्णय गरेको भन्दै निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनीहरुले चेतावनी दिएका छन्।
किसानहरुलाई दिइँदै आएको अनुदान अविलम्ब फिर्ता गराउनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी उनीहरुको छ। सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलब ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो। अनुदान कटौतीसंगै किसानहरुले प्रदर्शन गर्दै आएका छन्।