स्वास्थ्य बिमाकाे २२ लाख आफ्नो खातामा राखेर बाेर्डका एक कर्मचारी फरार
सर्वसाधारणले स्वास्थ्य बिमाका लागि तिरेको रकम आफ्नो खातामा राखेर बिमा बोर्डको उदयपुर सम्पर्क कार्यालयका सिनियर अहेब मोहम्मद फिरोज अली गत पुस ११ गतेदेखि फरार भएका हुन्। उक्त रकम बिमा बोर्डको खातामा जम्मा हुनुपर्ने थियो।
काठमाडौं, चैत २ : स्वास्थ्य बिमा बोर्डका एक कर्मचारी २२ लाख रुपैयाँ रकम आफ्नो खातामा राखेर फरार भएका छन्।
सर्वसाधारणले स्वास्थ्य बिमाका लागि तिरेको रकम आफ्नो खातामा राखेर बिमा बोर्डको उदयपुर सम्पर्क कार्यालयका सिनियर अहेब मोहम्मद फिरोज अली गत पुस ११ गतेदेखि फरार भएका हुन्। उक्त रकम बिमा बोर्डको खातामा जम्मा हुनुपर्ने थियो।
बोर्डले २४ घण्टाभित्र हाजिर भई स्पष्टीकरण पेस गर्न पत्राचार गरेको छ। तर फिरोज सम्पर्कमा नआएको जनाइएको छ। बिमा बोर्डका अनुसार गत असार मसान्तसम्म स्वास्थ्य बिमाका लागि दर्ता सहयोगीमार्फत उठेको रकम फिरोजले आफ्नो खातामा जम्मा गरेको पाइएको छ।
तोकिएको समयसीमाभित्र उपस्थित नभए अपचलन गरेको रकम ब्याजसहित असुल गरी कानुनी कारबाही अघि बढाइने पनि बोर्डले जनाएको छ ।
बोर्डले गत फागुन २९ गते सार्वजनिक सूचना निकाल्दै तोकिएको समयभित्र रकम दाखिल गरेर फिरोजलाई स्पष्टीकरणसमेत पेस गर्न भनिएको छ।
अन्यथा अपचलन गरेको रकम ब्याजसहित असुल गर्न प्रक्रिया अघि बढाउने र अनुपस्थित भएको विषयमा स्वास्थ्य सेवा ऐन २०५३ अनुसार कारबाही गर्ने सूचनामा जनाइएको छ।