Kathmandu Press

स्ववियु निर्वाचन : तडकभडक बिना प्रचारप्रसार

स्ववियु निर्वाचन : तडकभडक बिना प्रचारप्रसार

काठमाडौं, चैत १ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन्। 

ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् । यसपटकको निर्वाचनमा स्ववियु आचारसंहितामा कडाइ गरेकाले उम्मेदवारले पर्चा, पम्पलेट एवं माइकिङ गर्न पाएका छैनन्। 

त्रिविले पनि प्रचारप्रसार गर्नका लागि रङ्गरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने गरी आचारसंहिता बनाएपछि निर्वाचनमा यसपटक तडकभडक देखिएको छैन। आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न नपाइने उल्लेख गरिएको छ।

Hardik ivf

त्रिवि केन्द्रीय क्याम्पस, अमृत साइन्स क्याम्पस, शङ्करदेव क्याम्पस, नेपाल ल क्याम्पस, नेपाल कर्मश क्याम्पसलगायत ठूला क्याम्पसमा चुनाव प्रसारप्रसार शान्त वातावरण भइरहेको छ।

आचारसंहिताले निर्वाचनलाई व्यवस्थित बनाएपछि उम्मेदवारले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेका छन् । उम्मेदवारले आफ्नो पक्षमा माहोल बनाउनका लागि भेटघाटलाई तीव्र पारेका छन्। 

यस्तै उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली ‘एफो’ साइजको कागजमा एकै रङ्ग भएको पर्चा मात्र प्रचारप्रसार गर्न पाइने आचारसंहितामा उल्लेख गरिएको छ। 

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आचारसंहितामा कडाइ गरेपछि निर्वाचनमा तडकभडक नभएको बताए। ‘उम्मेदवारले कुनै पर्चा, पम्पलेटजस्ता निर्वाचन सामग्री बनाउने बन्देज गरिएको छ,’ उनले भने, ‘त्यसैले यसपटकको निर्वाचनमा तडकभडक छैन।’

उम्मेदवारले भोलि चैत २ गते राती १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउने आचारसंहितामा उल्लेख छ । उनले उम्मेदवारको प्रचारप्रसारका लागि सम्बन्धित क्याम्पसले एउटा कार्यक्रम गरी परिचयात्मक कार्यक्रम गर्ने र उक्त कार्यक्रममा एक अर्काप्रति आक्षेप वा आरोप लगाउन नपाइने व्यवस्था गरिएको जानकारी दिए। 

सुरक्षा व्यवस्थामा कडाइ

स्ववियु निर्वाचन हुने क्याम्पसमा प्रहरीलाई पनि तैनाथ अवस्थामा राखिएको छ । बिहानदेखि साँझसम्म शान्त वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि अहिलेदेखि नै प्रहरी परिचालन गरिएको छ । 

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले देशभरिका क्याम्पसमा सुरक्षा व्यवस्था मजबुद बनाइएको बताए। उनले निर्वाचनसम्मका लागि प्रत्येक क्याम्पस बाहिर सुरक्षाकर्मी तैनाथका साथ खटेर सुरक्षा व्यवस्था गरिरहेको बताए। ‘अहिलेसम्म छिटफुट घटनाबाहेक त्यस्तो कुनै घटना घटेको छैन”, उहाँले भन्नुभयो, “स्ववियु निर्वाचन यसपटक अलि व्यवस्थित भएको छ।’

अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव दिपेश पुनले आचारसंहितामा कडाइ गरेकाले चुनावी प्रचारप्रसार शान्त भएको बताए। उनले उम्मेदवारले सामाजिक सञ्जालमार्फत प्रचार गरिरहेको बताए। त्रिवि केन्द्रीय क्याम्पसमा अनेरास्ववियुका तर्फबाट स्ववियु अध्यक्षका उम्मेदवार प्रशान्त विष्टले उम्मेदवारी दिएसँगै प्रचारप्रसारलाई तीव्रता दिएको बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिताका कारणले आफूहरुले पनि तडकभडक नगरेको बताए। 
यी क्याम्पसमा निर्वाचन अझै सुरु हुन सकेन

स्ववियु निर्वाचन केही क्याम्पसमा भर्ना विवादको कारणले रोकिएको छन् । उपत्यकाका त्रिचन्द्र क्याम्पस, आरआर क्याम्पस, पाटन संयुक्त क्याम्पस विश्वभाषा क्याम्पसमा भने निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन ।  

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन् । स्ववियु निर्वाचनका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ। 

प्रकाशित मिति: १७:४२ बजे, बुधबार, चैत १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्