Kathmandu Press
सडकको दुर्गतिले ओझेलमा ककनी 
सडकको दुर्गतिले ओझेलमा ककनी ककनी क्षेत्रमा ककनी हाइटका अलावा अरू धेरै पर्यटकीयस्थल छन्। प्राकृतिक सुन्दरताले पर्यटकको मन तान्न सके पनि सडकको दुर्गति तथा पर्यटन प्रवर्धन र प्रचारप्रसारको अभावले ककनी ओझेलमा पर्दा उनी दुःखी छन्।

काठमाडौं, फागुन चैत १ : एक दशकअघिसम्म ककनी काठमाडौं उपत्यकावासीका लागि आकर्षक गन्तव्यका रूपमा रहेको थियो। घुमघाम, वनभोजका लागि ककनी उनीहरूको पहिलो रोजाइमा पर्थ्याे।

शनिबार र अन्य सार्वजनिक बिदामा सो क्षेत्रमा बेग्लै चहलपहल हुन्थ्यो। बिदाका दिन बाहेक पनि सुनसान हुन्नथ्यो। तर पछिल्लो समय ककनी ओझेलमा परेको छ। त्यसको मूल कारण ककनी जाने सडकको दुरवस्थालाई लिन सकिन्छ। २०७१ सालमा पासाङल्हामु राजमार्ग भनिने सो सडकको स्तरोन्नतिले अझै पूर्णता नपाउँदा ककनी क्षेत्रको पर्यटनमा नकारात्मक प्रभाव परेको छ।       

‘सडकको सतरोन्नति थाल्नुअघि माछापोखरीबाट ककनी जाने सार्वजनिक यातायात र दुईप्रांगे सवारीको अत्यधिक चाप हुन्थ्यो,’ ककनी गाउँपालिका–४ का स्थानीय २४ वर्षीय सुजन तामाङ भन्छन्, ‘अहिले ककनीमा बिदाका दिनमा मुस्किलले ३४ हजार मान्छे आइपुग्छन्, अरू दिन सुनसान।’

पाँच दशकअघिदेखि नै पर्यटकीय स्थलका रूपमा परिचित ककनीमा पर्यटकको आगमन घटेसँगै होटल व्यवसायी विस्थापित बन्दै गएका छन् । ‘तीन–चार वर्षअघिसम्म म पनि होटल सञ्चालन गर्थें, अहिले त्यस क्षेत्रबाट विस्थापित भएर मौसमी तरकारी खेतीतिर लागेको छु,’ सुजन भन्छन्। 

ककनीमा मझौला खालका एक दर्जनभन्दा बढी होटल तथा रेस्टुरेन्ट थिए। बन्द हुने क्रम बढ्दै गएपछि अहिले आधा दर्जनजतिमा सीमित हुन पुगेको छ। अन्यत्र पर्यटन व्यवसायी बढिरहँदा ककनीमा भने घटिरहेको अवस्था छ। बाटो गतिलो नहुँदा पर्यटकको आगमनमा कमी आएको सुजनको ठम्याइ छ। बाटोको स्तरीकरण गर्न थालिएकाले अब अवस्था सुध्रिन सक्ने विश्वास उनले लिएका छन्।  

‘ककनी जाने कालोपत्र हुन थालेको छ, लगभग १० किलोमिटर सडक कालोपत्र भइसकेको छ। सडक बनिसकेपछि पर्यटक र व्यवसायी दुवै बढ्ने विश्वास छ,’ सुजन भन्छन्।

ककनीका व्यवसाय धरापमा पर्दा वरिपरिका गाउँ युवाविहीन बन्दै गएको पनि उनी सुनाउँछन् । ‘१९ देखि ४० वर्ष उमेर समूहका ९० प्रतिशत युवा गाउँमै बस्दैनन्,’ उनी भन्छन्, ‘व्यवसाय बन्द हुँदा रोजगारीका अवसरहरू गुम्दै गएका छन्।’

ककनीले नगरकोटभन्दा पहिला पर्यटकीय स्थलको परिचय बनाएको हो। नगरकोटको आकर्षण त्यति सारो नघटे पनि ककनी भने पर्यटकको रोजाइमा पर्न छाडेको छ । ‘अहिले ककनी र नगरकोटको तुलना गर्नै मिल्दैन,’ सुजन भन्छन्, ‘सडकको दुरवस्थाकै कारण ककनी ओझेलमा परेको हो। अब ककनीमा फेरि चहलपहल ल्याउन संघ, प्रदेश र स्थानीय सरकारले पहलकदमी लिनुपर्छ।’ 

उपत्यकाबाट २५ किलोमिटर दुरीमा छ, ककनीहाइट। ककनीबाट लाङटाङ, गौरीशंकर, अन्नपूर्ण, माछापुच्छ«े, मनास्लु, दोर्जे, लाक्पा, सगरमाथा, गणेश हिमालको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ। ककनीबाट काठमाडौं, नुवाकोट, धादिङ, गोरखा, रसुवा, काभ्रे, सन्धिुपाल्चोकलगायत आठवटा जिल्लाका अग्लाअग्ला पहाडहरू देखिने उनी बताउँछन्।

खुला ठाउँ भएकाले हिउँदमा पिकनिक जाने र रमाइलो जमघट गर्नेका लागि आकर्षक गतव्यका रूपमा ककनी ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ बताउँछन्। नेपालमा पहिलोपटक जापानी रेन्बो ट्राउट माछा पालन ककनीबाटै सुरु भएको हो। ककनी रेन्बो ट्राउट माछाका लागि पनि प्रमुख गन्तव्य हो।

उनका अनुसार २०७१ सालमा पासाङल्हामु राजमार्ग स्तोन्नति गर्ने भन्दै बाटो खन्न थालियो। त्यसयता ककनी आउने पर्यटकको संख्या ह्वत्त्रै घट्यो । ‘एक दशक हुन लाग्यो, निर्माण कार्य सकिएको छैन,’ उनले भने, ‘बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छ, अनि कसरी आउँछन् पर्यटक?’ 

स्ट्रबेरी र ट्राउट माछाका लागि पनि ककनी प्रख्यात छ। डाँडामा सुविधायुक्त होटल–रेस्टुरेन्ट छन्। घुम्नुपर्ने ठाउँ पनि धेरै छन्। सडक  स्तरोन्नतिको कामलाई जतिसक्दो चाँडो पूर्णता दिएर ककनीको पर्यटनलाई पुरानै अवस्थामा फर्काउन पालिकाले सम्बन्धित निकायसँग छलफल गरिरहेको अध्यक्ष तामाङको भनाइ छ।

‘ककनीमा पर्यटक आउन छाड्नुको मुख्य कारण सडक स्तरोन्नतिले लामो समय लिनु हो,’ उनले भने, ‘पहिला साँघुरै भए पनि कालोपत्रे सडक थियो। त्यसैले पर्यटक आउँथे। सडक राम्रो नहुँदा पर्यटकले अरू नै ठाउँलाई विकल्प बनाउँदा रहेछन्।’ 

No description available.

उनका अनुसार एक दशकअघिसम्म अध्ययनका लागि बाह्य पर्यटक पनि धेरै आउँथे। उपत्यकाबाट नजिक भएकै कारण प्राकृतिक वतावरणमा रमाउन, रमणीय हिमाली दृश्य अवलोकन गर्न, केही समयका लागि भए पनि धुवाँधुलोबाट मुक्त हुन उपत्यकावासी ककनी आउन मन पराउँथे। ककनीको पर्यटनलाई पूर्वावस्थामा पु¥याउन  सडक सतरोन्नति, सुविधा विस्तारलगायतमा सम्बन्धित निकायले चासो दिनुपर्ने उनले बताए। पालिकाले आफ्नै तरिकाले पहल गरिरहेको उनको भनाइ छ।

ककनीमा घुम्नैपर्ने ठाउँ

ककनी क्षेत्रमा ककनी हाइटका अलावा अरू धेरै पर्यटकीयस्थल छन्। प्राकृतिक सुन्दरताले पर्यटकको मन तान्न सके पनि सडकको दुर्गति तथा पर्यटन प्रवर्धन र प्रचारप्रसारको अभावले ककनी ओझेलमा पर्दा उनी दुःखी छन्।

‘गाउँपालिकाले मात्र प्रचारप्रसार गरेर हुँदैन,’ उनले भने, ‘ककनीसम्म आउन सडक सहज बनाउन पालिकाको पहलले सम्भव हुन्न।’ देशका विभिन्न पालिकाले कृत्रिम पर्यटकीयस्थल बनाएर पर्यटक भित्र्याइरहेका बेला प्राकृतिक पर्यटकीयस्थलको पर्यटन आगमन खुम्चिँदै जानु दुःखद स्थिति हो ।

नेपाल पर्वतारोही संघको मनोरम पार्क, नेपाल स्काउटको पार्क, सशस्त्र प्रहरी बलको कार्यालय, भ्युटावर, रक क्लाइम्बिङ, जिपलाइनलगायत रमाइला ठाउँ र साहसिक खेलका कारण ककनीले पर्यटकको मन लोभ्याउन सक्ने गाउँपालिका अध्यक्ष तामाङ बताउँछन्। ‘क्षणभरमै मौसममा आउने परिवर्तन ककनी हाइटको विशेषता हो, यही विशेषताले आन्तरिक र बाह्य पर्यटकलाई लोभ्याएको छ,’ उनले भने। 

पिकनिक स्पोट 

ककनी गाउँपालिका–४ स्थित १४० रोपनीमा फैलिएको खुला डाँडाले उपत्यकावासीको मन लोभ्याउँछ। उक्त जमिन अहिले पर्यटन पर्वतारोहणी संघको नाममा छ। त्यसलाई पिकनिक स्पोटका रूपमा उपयोग गरिएको छ। उक्त डाँडालाई ककनीको मुख्य स्थल मानिन्छ। 

उपत्यकाको भिडभाडमा निसासिएकाहरू ककनीको पिकनिक क्षेत्रमा पुग्दा अपार आनन्द महसुस गर्न सक्छन्। ककनी जतिसुकै ओझेलमा परेको भनिए पनि हरेक शनिबार र सार्वजनिक बिदाका दिनमा ३÷४ हजारको हाराहारीमा पर्यटक आउने गरे गरेको छ। 

No description available.

सुक्खा डाँडा मात्र भएकाले त्यसलाई केही स्थानमा पार्क, शौचालय, खानेपानीको व्यवस्थापन गर्ने तयारी भइरहेको उनको भनाइ छ। ‘ककनी हाइटको पिकनिक स्पोट प्रवर्धन गर्न संघ र प्रदेश सरकारको साथ आवश्यक छ तर चासो दिइएको छैन,’ अध्यक्ष तामाङ भन्छन्। 

मोमोरयिल पार्क

ककनी हाइटमा डाँडामा मेमोरियल पार्क पनि घुम्नलायक ठाउँ हो। सन् १९९२ मा थाई एयर दुर्घटनामा परेर मृत्यु भएकाहरूको सम्झनामा उक्त पार्क बनाइएको हो। उक्त पार्कबाट दुर्घटनास्थल पनि देखिन्छ। पार्कको चारैतिर बगैंचा छ भने बीच भागमा राखिएको ठुलो शिलामा जहाज दुर्घटनाका मृतक सबैको नाम लेखिएको उनी बताउँछन्। ‘राति त्यहाँबाट देखिने काठमाडौं उपत्यकाको झिलिमिली निकै आकर्षक लाग्छ,’ गाउँपालिका अध्यक्ष तामाङले भने। 

वसन्ती दरबार

ककनी क्षेत्रमा एउटा ऐतिहासिक महत्व बोकेको दरबार पनि छ। त्यसको नाम वसन्ती दरबार हो । जंगबहादुरका पालामा काजी गगन सिंहले प्रेमिका मिठुका लागि उक्त दरबार बनाइदिएको इतिहासमा उल्लेख छ। उक्त दरबारलाई २०७२ सालको भूकम्पले क्षति  पु¥याएको छ। पुरातत्व विभागले यसको पुनर्निर्माण गर्ने भने पनि अहिलेसम्म काम सुरु नभएको गाउँपालिका अध्यक्ष तामाङको भनाइ छ । 

स्काउट भवन

ककनी हाइटभन्दा करिब दुई किलोमिटर पर डाँडामा स्काउट भवन रहेको छ। नेपाल स्काउटले सन् २००१ मा बनाएको उक्त भवन पर्यटकको बसाइका लागि उपयुक्त छ। त्यहाँ खबर गरेर गए खानाको सुविधा उपलब्ध हुने गरेको अध्यक्ष तामाङ बताउँछन्। ‘त्यहाँ स्काउटको प्रशिक्षण, तालिम तथा गोष्ठी भइरहन्छ,’ अध्यक्षले तामाङले भने, ‘क्याम्पिङको पनि सुविधा छ।’

फुङफुङ झरना 

ककनी गाउँपालिका–४ मा फुङफुङ झरना पनि छ। नुवाकोट जिल्लाको अग्लो झरनाका रूपमा त्यसलाई चिनिन्छ। हिउँदामा पनि पानी नसुक्ने भएकाले त्यहाँ पर्यटनको आकर्षण बढ्दो छ। पालिकाले वेबसाइटमा राखेको फोटो हेरेर पनि त्यहाँ बाह्य तथा आन्तरिक पर्यटक आउने गरेको गाउँपालिका अध्यक्ष तामाङ बताउँछन्।

‘उक्त झरनासम्म पुग्न ककनी केन्द्रबाट तीन किलोमिटर बाटो बनान बाँकी छ,’ उनले भने, ‘दिगो विकास र फुङफुङे झरना प्रवद्र्धनका लागि सडक कालोपत्रे भर्खर थालिएको छ।’

No description available.

अध्यक्ष तामाङका अनुसार झरनामा क्यानोनिङ प्रवद्र्धन गर्ने योजनाले गाउँपालिकाले चालु आर्थिक वर्षमा ५ लाख रुपैयाँ बजेट छुट्याएको छ। सोही झरनाको नजिकै खोंच छ। त्यहाँ झोलुङगे पुल बनाएर बन्जी सञ्चालनका लागि अध्ययन भइरहेको छ। बन्जी सञ्चालन गरेर पर्यटनमा टेवा पु¥याउने सोच गाउँपालिकाले बनाएको गाउँपालिका अध्यक्ष तामाङ बताउँछन्। ‘झरना सय मिटर अग्लो छ। प्रचारप्रसार राम्रोसँग नहुँदा धेरै पर्यटक पुग्न सकेका छैनन्,’ अध्यक्ष तामाङ भन्छन्।

भ्युटावर र कालो जंगल 

ककनी गाउँपालिका–५ मा भ्युटावर पनि बन्दैछ। त्यहाँ बाक्लो जंगल पनि रहेको छ । त्यो ‘कालो जंगल’का नामले चिनिने गरेको अध्यक्ष तामाङ बताउँछन्। ‘जंगल बाक्लो भएकै कारण कालो जंगल भनिएको हो,’ उनले भने, ‘प्राकृतिक सुन्दरतामा रमाउनेलाई जंगल उपयुक्त थलो मानिन्छ। यसको प्रचारप्रसार गरे पर्यटक आउन सक्छन्।’ 

कसरी पुग्ने ? 

काठमाडौं माछापोखरी हुँदै बाइपासबाट ककनी, नुवाकोट जाने बस छुट्छन्। मोटरबाइक, कार, जिप, ट्याक्सीमा पनि जान त्यहाँ सकिन्छ।  ककनीबाट हाइकिङ सुरु गरेर पिकनिक स्पोट, मेमोरयिल पार्क, स्काउट भवन हुँदै शिवपुरी निकुञ्जसम्म पुग्न सकिन्छ। एक दिनको यात्राका लागि ककनी उपयुक्त गतव्य रहेको अध्यक्ष तामाङको भनाइ छ।
 

प्रकाशित मिति: ११:१४ बजे, बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्