साप्सुखोला–विजयखर्क खानेपानी आयोजनाको काममा लापरबाही

साप्सुखोला–विजयखर्क खानेपानी आयोजनाको काममा लापरबाही

खोटाङ, फागुन ३० : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनाको काममा लापरबाही भएको पाइएको छ ।

नेपाल सरकार, सङ्घीय खानेपानी मन्त्रालयको रु २९ करोड १३ लाखको लागतमा सञ्चालित साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदार कम्पनी ‘सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सन कम्पनी’ र उपभोक्ता समितिले लापरबाही गरेको देखिएको छ । 

विसं २०७९ असारमा सम्झौता गरेर निर्माण अघि बढाइएको उक्त आयोजनाअन्तर्गत हाल ट्याङ्की निर्माण र पानी वितरण लाइनको भइरहेको छ । निर्माणाधीन अवस्थामै ट्याङ्की चर्किएका छन् भने पाइप लाइनको काम पनि मापदण्डविपरीत भएको निरीक्षणका क्रममा देखिएको छ । 

स्वास्थ्य चौकीडाँडामा निर्माणाधीन ट्याङ्की भत्किन थालेको छ । ठेकेदार कम्पनीले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेका कारण समस्या भएको स्थानीय कमला ढकालले बताउनुभयो । सम्झौताविपरित निर्माणको काम भइरहेको पाइएको छ । विसं २०८१ साउनमा पूरा गर्नुपर्ने उक्त आयोजनाबाट पाँच सय २३ परिवार लाभान्वित हुनेछन् । 

ठकेदार र उपभोक्ता समितिको लापरबाहीका कारण गणस्तरीय काम नभएको स्थानीय युवराज कार्कीले बताए । गुणस्तरीय काम नभएपछि स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । आयोजनाको काम गुणस्तरीय  कायम गराउन आफू निरन्तर लागिपरेको खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सरोज राईको भनाइ छ।  

प्रकाशित मिति: ११:२६ बजे, मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्