Kathmandu Press

लोपोन्मुख डङ्गर गिद्ध मृत फेला

लोपोन्मुख डङ्गर गिद्ध मृत फेला

कावासोती, फागुन २९ : लोपोन्मुख अवस्थामा रहेका डङ्गर प्रजातिको गिद्ध मृत फेला परेको छ । 

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–३ स्थित केरुङ्गे खोलाको छेउमा पाँच वटा डङ्गर प्रजातिको गिद्ध मृत भेटिएको डिभिजन वन कार्यालयले जनाएको छ।

वन अधिकृत मोहनराज काफ्लेले पाँच गिद्ध मृत अवस्थामा र दुई घाइते अवस्थामा फेला परेको जानकारी दिए। ‘गिद्ध मरेको ठाउँमा एउटा स्याल पनि मरेको भेटिएको छ,’ उनले भने, ‘स्यालको विषाक्त मासु खाएर गिद्ध मरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

गिद्ध मर्नाको कारणबारे अनुसन्धान तथा खोजीका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालयका टोली घटनास्थल पुगी अनुसन्धान थालेको वन अधिकृत काफ्लेले जानकारी दिए।

गिद्ध मरेको ठाउँ नजिकै सिमलको रुखमा गिद्धका गुँड भएकाले थप गिद्धको मृत्यु भएको हुनसक्ने हुँदा खोजी थालिएको उनको भनाइ थियो । घटना भएको ठाउँ जिल्ला सदरमुकाम कावासोतीबाट करिब दुई किलोमिटर उत्तरी क्षेत्रमा पर्दछ।

प्रकाशित मिति: १६:४४ बजे, सोमबार, फागुन २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्