ब्याजदर एकल अंकमा झार्न माग गर्दै उद्योगी-व्यवसायीकाे प्रदर्शन
मुलुकभरका व्यवसायी संघ संस्थाहरु एकीकृत भएर आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उनीहरुले बैंक तथा वित्तीय समस्या समाधानको माग गरेका थिए।
काठमाडौं, फागुन २८ : बैंकको ब्याजदरलाई एकल अंकमा झार्न माग गर्दै उद्योगी व्यवसायीले आन्दोलन गरेका छन्।
मुलुकभरका व्यवसायी संघ संस्थाहरु एकीकृत भएर आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उनीहरुले बैंक तथा वित्तीय समस्या समाधानको माग गरेका थिए।
व्यवसायीहरुले ब्याजदरलाई एकल अंकमा झार्नुपर्ने लगाएत आधार दरमा प्रिमियममा बढीमा दुई प्रतिशत हुनुपर्ने, चालु पुँजी निर्देशिका खारेज गरि व्यवहारिक निर्देशिका बनाइनुपर्ने लगायतका माग राखेका छन्।
प्रदर्शनमा सहभागीहरुले प्रिमियम दर बृद्धि नियन्त्रण गर, बैंक हामीलाई प्यारो छ, व्याज बृद्धिले हामीलाई गाह्राे भो, बैंकिङ आतंक बन्द गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
व्यवसायी आन्दोलन संघर्ष समितिका संयोजक नरेश कटुवालले व्यवसायीहरुका समस्याका बारेमा पटक पटक राज्यलाई ध्यानाकर्षण गराउदा पनि सम्बोधन नभएका कारण आन्दोलन गर्नुपरेको बताए। उद्योगी व्यवसायीहरुलाई बचाउनका लागि एकीकृत भएर प्रदर्शन गरेको उनको भनाइ छ।
कटुवालले आफुहरुको माग सम्बोधन नभए राष्ट्र बैंक र संसद भवनमा घेराउ गर्ने चेतावनी दिनुभयो। व्यवसायीहरुले मौद्रीक नीति परिमाजर्ननमा समेत जोड दिएका छन्।
















