फोहाेर जलाउन अत्याधुनिक इन्सिनेरेटरको प्रयोग
नगरको वडा नंं ७ मा दुई बिघा १८ कट्ठा जग्गामा निर्माण गरिएको फोहर व्यवस्थापन केन्द्रमा जडान गरिएको इन्सिनेरेटरको सफल परीक्षण भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले बताए।
झापा, फागुन २६ : झापामा पहिलोपल्ट शिवसताक्षी नगरपालिकाले प्लास्टिकजन्य फोहाेर जलाएर नष्ट गर्न अत्याधुनिक इन्सिनेरेटर उपकरण सञ्चालनमा ल्याएको छ।
नगरको वडा नंं ७ मा दुई बिघा १८ कट्ठा जग्गामा निर्माण गरिएको फोहाेर व्यवस्थापन केन्द्रमा जडान गरिएको इन्सिनेरेटरको सफल परीक्षण भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले बताए।
प्रतिघन्टा ३०० केजी फोहाेर जलाएर नष्ट गर्न सक्ने क्षमताको सो उपकरण दुई वर्षअघि नै खरिद गरेर नगरपालिका कार्यालय परिसरमा राखिएको थियो। सो उपकरणले फलामबाहेक प्लास्टिकजन्य फोहाेरलाई सुरक्षितरुपमा च्याम्बरभित्र जलाएर क्षणभरमै खरानीमा परिणत गरिदिन्छ।
इन्सिनेरेटर खरिदमा रु एक करोड र व्यवस्थापन केन्द्र निर्माणमा रु दुई करोड खर्च भइसकेको जनाउँदै यस परियोजनाका लागि सम्पूर्ण संरचना निर्माण गर्न रु १२ करोड लगानी हुने नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिए।
फोहाेर छुट्याउने चेम्बर, गाडी पार्किङलगायतस्थाल निर्माण गरेर एक महिनापछि फोहाेर व्यवस्थापन केन्द्रलाई नियमित सञ्चालनमा ल्याइने उहाँले बताए। फोहाेर व्यवस्थापन केन्द्रभित्र आकर्षक बगैँचा बनाउने नगरको योजना छ।
झापामा १५ पालिकामध्ये इन्सिेनेरेटर भित्र्याउने शिवसताक्षी पहिलो पालिका हो। फोहाेर प्रशोधन केन्द्र सञ्चालनपछि नगरको फोहाेर व्यवस्थानमा सहज हुने उनको भनाइ थियो। फोहाेर प्रशोधन केन्द्रको व्यवस्थापनमा लाग्ने इन्धन, कर्मचारी र गाडीको व्यवस्थापनका लागि स्रोत जुटाउन नगरपालिकाले फोहाेर उत्पादन हुने प्रकृति हेरी नगरवासीसँग न्यूनतम शुल्क असुल गर्ने जनाएको छ।
घर, पसल र बजारबाट सङ्कलन गरिएको फोहाेरलाई प्रशोधन केन्द्रसम्म ल्याउन खर्च लाग्ने हुँदा न्यूनतम शुल्क लिने निर्णय गरिएको नगरप्रमुख थोप्राले बताए। इन्सिनेरेटर सञ्चालन गर्न विद्युत् र डिजेल इन्धन आवश्यक पर्छ। प्रतिकेजी फोहाेर जलाउन औसत रु १२ सम्म लागत पर्ने हुँदा यसको प्रयोग महँगो हुने देखिएको छ।
उक्त उपकरणको क्षमताअनुसार शिवसताक्षी नगरभित्र फोहाेर उत्पादन कम हुने भएकाले छिमेकी पालिकासँग सहकार्य आवश्यक रहेको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिए। 'प्रतिघन्टा ३०० केजी फोहाेर जलाउने क्षमता उक्त उपकरणको छ, बजार क्षेत्र धेरै नभएका कारण शिवसताक्षी नगरभित्र त्यति धेरै फोहाेर उत्पादन हुँदैन', अधिकृत राईले भने, 'छिमेकी पालिकाकोसमेत फोहाेर जलाउने व्यवस्था मिलाएर लागत शेयरिङ गर्ने हाम्रो योजना छ।'
झापामा दमक, विर्तामोड र मेचीनगर नगरपालिकामा सबैभन्दा धेरै फोहाेरमैला उत्पादन हुने गरेको छ। विर्तामोड, कनकाई र अर्जुनधारा नगरपालिकाले कनकाइको जामुनखाडीमा फोहाेरबाट जैविक ग्यास र कम्पोस्ट मल बनाउने संयुक्त परियोजना निर्माण गरेका छन्। दमकले एकल प्रयासमा फोहाेरबाट जैविक ग्यास उत्पादन गर्न थालिसकेको छ भने मेचीनगरमा अहिलेसम्म खोला किनारमा जथाभावी फोहाेर फ्याँक्ने गरिएको छ।












