Kathmandu Press

श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन 

श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन 

काठमाडौं, फागुन २६ : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ । क्यानले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो ।

प्राविधिकले जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनले बिगतमा श्री एयरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्न दिने निर्णय भएको बताए । 

Hardik ivf

‘क्यानका प्राविधिकले जहाजको इन्जिन जाँच गरेर ठिक छ भने मात्र उडान भर्न पाउँछन्, बिगतमा श्रीकै प्राविधिकले जाँच गरेपछि उडान भर्ने गरेकाले समस्या देखियो । बिहीबारको घटनापछि जहाज  निलम्बनमा छ,’ प्रवक्ता निरौलाले भने। प्राधिकरणको यो निर्णयपछि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन् ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार क्यानले ढिलो निर्णय दिएकाले यात्रुलाई समयमै खबर गर्न नपाउँदा मर्कामा परेका बताए।  आजका लागि १४ उडान निर्धारण  गरिएकामा हालसम्म तीन उडान रद्द भइसकेका छन् । प्राविधिक जाँचपछि दिउँसोसम्म बाँकी उडान भर्ने सम्भावना रहेको उनले बताए । व्यवस्थापक मानन्धरले भने, ‘क्यानको निर्णयबारे हामीलाई आज बिहान साढे सात बजेमात्र जानकारी भयोे, बिहीबार साँझसम्म खबर पाएको भए यात्रु व्यवस्थापनमा सहज हुने थियो।’

बिहीबार काठमाडौँबाट भैरहवाका लागि उडान भरेको जहाजको इन्जिनमा आगो लागेको सङ्केत देखिएपछि उक्त जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो । श्री एयरलाइन्सका साना–ठूला गरी आठ जहाज छन् । तीमध्ये चारवटा मात्रै सञ्चालनमा छन् । 

प्रकाशित मिति: ११:५६ बजे, शुक्रबार, फागुन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्