उत्तरार्धमा पौडेलले रचेको इतिहास
६ दशक लामो संघर्षशील राजनीतिक यात्रा पार गरेका ७९ वर्षीय पौडेल अन्ततः मुलुककै प्रमुख अभिभावकीय पद प्राप्त गर्न सफल भएका छन्। पौडेलले अब राष्ट्रप्रमुखका रूपमा पाँच वर्ष मुलुकलाई अभिभावकत्व प्रदान गर्नेछन्।काठमाडौं, फागुन २५ : नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्। आठ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले अर्का उम्मेदवार एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्। ६ दशक लामो संघर्षशील राजनीतिक यात्रा पार गरेका ७९ वर्षीय पौडेल अन्ततः मुलुककै प्रमुख अभिभावकीय पद प्राप्त गर्न सफल भएका छन्। पौडेलले अब राष्ट्रप्रमुखका रूपमा पाँच वर्ष मुलुकलाई अभिभावकत्व प्रदान गर्नेछन्।
पौडेलको जन्म बाबु दुर्गाप्रसाद पौडेल र आमा ऋषिमाया पौडेलका सुपुत्रका रूपमा २००१ असोजमा तनहुँको तत्कालीन रिस्ती गाविसस्थित (हाल व्यास नगरपालिका) बाहुनडाँडामा भएको हो। २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको सरकारलाई बलात् अपदस्थ गरेपछि १६ वर्षकै उमेरदेखि पौडेल प्रजातान्त्रिक शासन व्यवस्था स्थापनार्थ राजनीतिमा प्रवेश गरेका थिए। बिपीको सान्निध्य र त्यागबाट प्रभावित भई स्वतन्त्रताको हुँकार गर्दै उनी राजनीतिमा होमिएका थिए।
पौडेलको राजनीतिक यात्रा किशोरावस्थामा विद्यार्थीकालबाटै सुरु भयो। नेपाली कांग्रेसद्वारा सञ्चालित २०१८ को सशस्त्र क्रान्तिमा उनले सक्रिय सहभागिता जनाएका थिए। २०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता पौडेल २०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भए। सोही वर्ष गण्डकी विद्यार्थी समितिको समेत संस्थापक सभापति भई उनले नेतृत्व गरे।
पञ्चायती निरङकुशता उत्कर्षतिर पुगेका बेला उनी २०२४ सालमा प्रजातान्त्रिक समाजवादी युवा लिगको निर्वाचित महासचिव भए। २०२७ वैशाख ६ गते भएको नेपाल विद्यार्थी संघको स्थापनामा पौडेल नेतृत्वदायी भूमिकामा थिए। उनी नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य थिए। प्रवासमा रहेका बिपीले फाँसीको समेत पर्वाह नगरी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कंदा पौडेलले निकट रहेर साथ र सहयोग गरे। २०३४ सालमा उनी नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिका सदस्य पदमा निर्वाचित भए र २०३६ सालमा तनहुँ जिल्ला उपसभापति बने।
जनमतसंग्र्रहका समयमा सर्वदलीय प्रचार अभियानको अध्यक्ष भई बहुदलका पक्षमा जनमत निर्माणमा उनी जुटे। २०४० सालमा कांग्रेस केन्द्रीय प्रचार समितिको संयोजक रहे। २०४४ सालमा कांग्रेसको केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हाले। त्यसयता निरन्तर कांग्रेस केन्द्रीय समितिमा नेतृत्वदायी भूमिकामा रहे।
पञ्चायत व्यवस्थाविरुद्ध जेल नेल खेप्दै ३० वर्ष संघर्ष गरेका पौडेल २०४६ सालमा प्रजातन्त्र स्थापनापछि खुला परिवेशमा राजनीतिमा होमिए। २०४८ सालको संसदीय निर्वाचनमा तनहुँ-१ बाट उनी संसद् सदस्यमा निर्वाचित भए। उनले २०४८ को संसदीय निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा स्थानीय विकासमन्त्रीको कार्यभार सम्हाले। उनले २०४९ सालमा कृषि मन्त्रालयको थप जिम्मेवारीसमेत लिएका थिए।
२०५१ सालको मध्यावधि निर्वाचनमा तनहुँ-२ बाट संसद् सदस्यमा निर्वाचित भएपछि पाँच वर्षसम्म सभामुखको भूमिका निर्वाह गरे। २०५६ सालको संसदीय निर्वाचनमा पुनः तनहुँ-२ बाट सांसद बनका उनले २०५७ सालमा उपप्रधानमन्त्री, गृह एवं सञ्चारमन्त्रीको पदभार ग्रहण गरेका थिए।
राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि लोकतान्त्रिक आन्दोलनकै दौरानमा उनी २०६२ मा कांग्रेस महामन्त्री बने। प्रतिगमनविरोधी आन्दोलनमा अग्रपंक्तिमा रहेका पौडेल पछिल्लोपटक एक वर्षसम्म नजरबन्दमा परे। २०६२-६३ को आन्दोलनपछि पुनःस्थापित ंसंसद्मा उनी सदस्य भए।
तत्कालीन विद्रोही नेकपा (माओवादी) लाई शान्ति प्रक्रियाको मूलधारमा ल्याउन पौडेलको महत्वपूर्ण योगदान थियो। उनले शान्ति सचिवालयको संयोजकको भूमिका निर्वाह गरेका थिए। २०६३ सालमा माओवादीको समेत संलग्नतामा गठन भएको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयको पहिलो नेतृत्व पनि नेता पौडेलले नै सम्हाले। शान्तिप्रक्रियापछि आदिवासी, जनजाति, मधेसी एवं उपीडित समुदायको हक, अधिकार स्थापनार्थ भएका सम्झौैताहरूमा हस्ताक्षर गर्दै अभिभावकत्वसमेत ग्रहण गरेका थिए।
पौडेल २०६४ मा कांग्रेस उपसभापति बने। २०६४ सालको संविधानसभा निर्वाचनमा तनहुँ-२ बाटै चौथोपटक सभासद्मा निर्वाचित भए। त्यसलगत्तै २०६५ सालमा पौडेल कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए। २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा पनि तनहुँ-२ बाटै पाँचौंपटक सभासद्मा निर्वाचित भए। कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको आकस्मिक निधनपछि पौडेल नेपाली कांग्रेसका कार्यवाहक सभापति बने। २०७४ को संसदीय निर्वाचनमा उनी अन्तर्घातको सिकार हुँदै पराजित भए।
तत्कालीन सरकार प्रमुख रहेका केपी ओलीले दुई दुईपल्ट संसद विघटन गरेपछि पुनःस्थापनाको एक सूत्रीय मागसहित प्रतिगमनविरुद्ध सडक र कानुनी संघर्षमा नेतृत्वदायी भूमिकामा रहे। सर्वोच्च अदालतबाट संसद पुनःस्थापनाको फैसलापछि कांग्रेस नेतृत्वमा सरकार गठन हुँदा उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बन्दै सन्तुलनकारी भूमिका खेले। २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ-१ बाट छैटौंपटक निर्वाचित भए।
पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर गरेका छन् भने संस्कृत साहित्यमा त्रिविबाटै शास्त्री उत्तीर्ण गरेका छन्। उनले ‘प्रजातान्त्रिक समाजवाद : एक अध्ययन’, ‘नेपाली कांग्रेस के भन्छ ?’, ‘नयाँ सन्दर्भमा समाजवाद’, ‘आस्थाका यात्रा’ लगायत आधा दर्जन कृति र विभिन्न विचारसहितका आलेखमार्फत योगदानसमेत गरेका छन्। कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’का सम्पादक भएर सूचना तथा सञ्चार प्रवाहको जिम्मेवारीसमेत उनले समालेका थिए।
पौडेल नीतिगत-वैचारिक चिन्तन गर्न सक्ने क्षमता भएका नेता मान्छिन्। ६ दशक लामो र अथक राजनीतिक सक्रियता नै पौडेलको प्रमुख पुँजी हो। उनी श्रीमतीसहित पाँच सन्तानका पिता हुन्। भ्रष्टाचारमा नमुछिएका, इमानदार, सादगी र निष्कलंक छवि भएका नेताका रूपमा पौडेलको नेपाली राजनीतिमा स्थान छ।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिताजस्ता लोकतान्त्रिक जनआन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि पौडेल दह्रोसँग उभिएका नेता हुन्। त्याग, निष्ठा, संघर्ष र उपलब्धिको यही आलोकमा पौडेल मुलुकको राष्ट्रप्रमुख बनेका छन्।