राष्ट्रपति निर्वाचनमा ८३१ सांसदले गरे मतदान, संघतर्फ १९ र प्रदेशतर्फ ३२ सांसद अनुपस्थित
राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कुल ८८२ मतदाता कायम छन्।
काठमाडाैं, फागुन २५ : मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि निर्वाचन सम्पन्न भएको छ। उक्त निर्वाचनमा ८३१ सांसदले मतदान गरेका छन्। संघतर्फ १९ र प्रदेशतर्फ ३२ गरी ५१ सांसद मतदानमा सहभागी भएनन्।
जसमा संघका तर्फ ३१३ मत र प्रदेशबाट ५१८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कुल ८८२ मतदाता कायम छन्।
संघतर्फ १९ र प्रदेशतर्फ ३२ सांसद मतदानमा सहभागी भएनन्। मतदानमा सहभागी नहुनेमा राप्रपाका १४ तटस्थ, नेमकिपाका एक सांसद छन्। त्यसैगरी कांग्रेस सांसद चन्द्र भण्डारी र माओवादी केन्द्रका वर्षमान पुन बिरामी भएका कारण उपस्थित हुन नसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
एमालेका लक्ष्मी कोइरी फरार सूचीमा रहेकाले मतदानमा आएनन्। जसपाका सहनाज रहमान मृत्यु भएको छ भने कांग्रेसका टेकबहादुर गुरुङ निलम्बनमा छन्। चितवन २ मा रवि लामिछाने सांसद रहेकोमा नागरिकता विवादले उनको पद खारेज भएकाले सो पद रिक्त छ।
प्रदेशतर्फ राप्रपाका २८, नेमकिपाका ३, जसपाका १ जना मतदानमा सहभागी नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जसमा कोसी प्रदेशका ६, मधेसका २, वाग्मतीका १६, गण्डकीका २, लुम्बिनीका ४ कर्णली र सुदूरपश्चिमका १–१ सांसद छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना ३:३० देखि सुरूहुनेछ। प्रदेश र संंघको छुट्टाछुट्टै गरिने मतगणना गरिनेछ। मतपरिणाम आज साँझ आउने जनाइएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज (बिहीबार) बिहान १० बजेदेखि दिउँसाे ३ बजेसम्म मतदान भएको हो।
राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनका तर्फबाट कांग्रेस नेता पौडेल उम्मेदवार छन् भने एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङ छन्। राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कुल ८८२ मतदाता कायम छन्।संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ। मत कति खस्यो भन्ने विवरण भने आउन बाँकी छ।
कांग्रेसका पौडेललाई उनकै पार्टीसहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको समर्थन रहेको छ। अनिर्णीत अवस्थामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि अन्तिम समयमा आएर पौडेललाई नै समर्थन गरेको हो। नेम्वाङको पक्षमा भने एमालेको मात्रै समर्थन रहेको छ। राप्रपा तटस्थ बसेको छ।











![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)