सगरमाथा आरोहण गर्ने ३५ महिला सम्मानित

काठमाडौं, फागुन २४ : सगरमाथा आरोहण गर्ने ३५ जना महिला सम्मानित भएका छन् । नेपाल पर्वतारोहण संघ र सगरमाथा आरोही संघले बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला आरोहीहरूलाई सम्मान गरेको हो ।
कार्यक्रममा पर्वतारोहण संघका अध्यक्ष निमा निरू शेर्पाले आरोहीहरूलाई बधाई दिदैं पर्यटन क्षेत्रमा महिलाको सहभागिता अझैं बढाउनुपर्ने बताए ।
सन् १९९३ मा पासाङ ल्हामु शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी थिइन्। पछिल्लो पुस्ताले पनि आरोहणलाई लक्ष्य र चाहनाका रूपमा लिएका छन्। पासाङको उक्त सफलता अहिले नेपाली महिलाका लागि मार्ग दर्शन मात्र नभई नेपाली इतिहासमै कोसे ढुंगा साबित भएको छ ।
सन् १९९० को दशकपछि नै हिमाल आरोहणमा महिलाको सहभागिता बढेको संघका अध्यक्ष शेर्पा बताउँछन् । ‘विगतमा पर्वतारोहणमा गाइड, पोर्टर सबै पुरूष मात्र हुन्थे,’ अध्यक्ष शेर्पा भन्छन्, ‘अहिले सबैतिर महिलाको सहभागिता बढेको छ । यसलाई अझ बढाउनुपर्छ ।’
हाल मुलुकभर १ हजार ८ सय भन्दा बढी पिकहरु छन् । यसमा चार सय वटा पिक मात्र खुला गरिएको उनले बताए । यसमध्ये २७ वटा पिकलाई पर्वतारोहण संघले प्रर्वद्धन गर्दै आइरहेको छ । सरकारले प्राकृतिक स्रोतको धनी भनेर प्रचारप्रसार गरेपनि यी पिकहरूको प्रवद्धन गर्न नसकेको उनले गुनासो छ।
उनका अनुसार कतिपय हिमालहरू प्रवद्धन गर्न नसक्दा ओझेलमा परेका छन् । यस्ता हिमालको प्रवद्धन गर्दै पर्यटकका लागि नयाँ गन्तव्यहरूको खोजी गर्न सरकारसँग अनुरोध गरेका छन् । ‘सरकारले सबै पिकको प्रवद्धन गर्नुपर्छ । सरकारले गर्न सक्दैन भने पर्वातरोहरण संघलाई जिम्मा दिनुप¥यो’, कार्यक्रममा बोल्दै उनले भने, ‘हामी व्यवस्थापन गर्छौं।’
संघका प्रमुख सल्लाहकार आङ छिरिङ शेर्पाले नयाँ पिकहरू खुलाउन सरकारलाई अनुरोध गरेका छन् । हाल नेपालमा एक हजार ७ सय ९३ पिक खुलाइएको उनले बताए । तर अझैपनि एक हजार ३८९ पिक खुलाउन सकिएको छैन। आवश्यकताअनुसार पिक खुलाउनुपर्नेछ। पूर्वमा २८ वटा पिक नेपाल र भारतको सिमानामा रहेको र यी पिकलाई खोल्न आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरी बास्तोलाले पर्वतारोहण र पदयात्रामा महिलाको सहभागिता बढेकोमा खुसी व्यक्त गरे । थप सहभागिताका लागि सरकारले महिलाहरूलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । ‘युनाइटेड नेशनअन्तर्गतको विश्व पर्यटन संगठनको रेकर्डअनुसार ५३ प्रतिशत महिलाले पर्यटन क्षेत्र धानेका छन्’, उनले भने, ‘राज्यले महिलाप्रति यो क्षेत्रमा अझै बढी प्रोत्साहन गर्नुपर्छ।’
पर्यटन बोर्डमा आयोजित उक्त कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले कोक्रो हल्लाउने हातले संसार हल्लाउन सक्ने भन्दै आरोहीहरूको प्रशंसा गरिन् ।
उनले समाजमा महिलाहरूलाई हेरिने दृष्टिकोणका बाबजुत अब महिलाहरू उठिसकेको र सगरमाथाको चुचुरोमा टेकेर किर्तीमान राख्न सफल भएको बताइन् । ‘समाजबाट उठेर हिमालसम्म पुग्नु महिलाहरूका लागि आफैंमा ठूलो चुनौती हो, राज्यमन्त्री ठकुरीले भनिन्, ‘तर तपाइहरू सफल भइसक्नुभएको छ। आगामी दिनमा थप सफलताको कामना’
पर्यटन राज्यमन्त्री ठकुरीले पर्वतारोहणका लागि सरकारले गर्नुपर्ने साथ र सहयोगका लागि सधै तयार रहेको बताइन्।












