Kathmandu Press

नेपालको संविधान विश्वमै नमूना : मुख्यमन्त्री गिरी

नेपालको संविधान विश्वमै नमूना : मुख्यमन्त्री गिरी

दाङ, फागुन २४ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले समावेशी, समानुपातिक र लैङ्गिक हिसाबले नेपालको संविधान विश्वमै नमूना रहेको बताएका छन्। 

राज्यका माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्थासँगै महिला समानतासँग सम्बन्धित विभिन्न अधिकारका विषयलाई संविधानले मौलिक हकका रुपमा समेत व्याख्या गरेको उनले उल्लेख गरे। एक सय १३औँ  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मुख्यमन्त्री गिरीले आज जारी गरेको शुभकामना सन्देशमा विगतमा भएका सबै प्रकारका आन्दोलन र सङ्घर्षबाट नै संविधानमा महिला अधिकारका विषयलाई समेट्न सम्भव भएको उल्लेख गरेका छन्। 

Hardik ivf

सन्देशमा उनले भनेका छन्, ‘विगतका सङ्घर्षबाट प्राप्त उपलब्धिको सही प्रयोग गरेर समतामुलक र समावेशी नेपाली समाज निर्माणको अभियानमा हामी अघि बढिरहेका छौँ।’

नेपालमा आजको दिनलाई राजनीतिक चेतना र जागरण विस्तारको महाभियानका रुपमा पनि मनाईँदै आइएको उल्लेख गर्दै मुख्यमन्त्री गिरीले जहाँनीया राणा शासन, निरङ्कुश पञ्चायती शासन व्यवस्था र शाही शासनको कठिन अवस्थामा प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि नेपाली महिलाले गरेको सङ्घर्ष अविस्मरणीय रहेको बताएका छन् । 

‘नेपाली महिला कथित बोक्सी, छाउपडी र दाइजो जस्ता कुप्रथाका नाममा अझै पनि पीडित भएको अवस्था छ । यसको अन्त्य गर्नुपर्नेछ,’ शुभकामना सन्देशमा उल्लेख  छ, ‘कानुनको कार्यान्वयन गर्न राज्यलाई सघाउ पु¥याउँदै अघि बढे यी सबै समस्याको समाधान सम्भव छ।’

संविधानको सफल कार्यान्वयनबाट महिलाको सुरक्षा, सम्मान र रोजगारीको आधार खडा गर्दै समृद्ध नेपाल निर्माणको महाभियानमा सबै एकताबद्ध भई अघि बढ्न उनले सबैमा अपिल गरेका छन्।

यस्तै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले पनि आज जारी गरेको शुभकामना सन्देशमा विभिन्न चरणका परिवर्तनका आन्दोलन र सङ्घर्षमा नेपाली महिलाले अग्रमोर्चामा रहेर गरेको नेतृत्व अनुकरणीय रहेको बताएका छन् । 

उनले नेपालको संविधानमा महिला मुक्तिको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको भए पनि जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगट्ने महिलाको समान सहभागिता अझै वृद्धि हुन नसकेको उल्लेख गरेका छन् । उनले महिलामैत्री नीति र व्यवहार अङ्गीकार गर्दै लैङ्गिक समानताको बलियो आधार बनाउनुपर्नेमा जोड दिएका छन्। 

प्रकाशित मिति: १०:४१ बजे, बुधबार, फागुन २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्