Kathmandu Press

जनकपुरधामका प्रमुख साह महामूर्ख घोषित

जनकपुरधामका प्रमुख साह महामूर्ख घोषित

जनकपुरधाम, फागुन २३  : महामूर्ख, २०७९ सालको उपाधि जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहलाई प्रदान गरिएको छ । 

जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले हरेक वर्ष होलीको अवसरमा आयोजना गर्ने गरेको होली महोत्सव तथा महामूर्ख सम्मेलनका क्रममा यस वर्षको महामूर्खको उपाधि प्रमुख साहलाई प्रदान गरिएको हो । नेपाली कांग्रेसमा आबद्ध उनी नगरप्रमुखको टिकट पार्टीको भागमा नपरेपछि स्वतन्त्रबाट निर्वाचित भएका थिए। जनकपुरधाम नगरको फोहरलगायत समस्या समाधानको पहल गरेको भन्दै उनलाई सो सम्मान दिइएको आयोजकले जनाएको छ । 

Hardik ivf

नगरप्रमुख साहलाई मधेस प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री सुनिता यादवले उल्लु स्वरूपको टोपी र परवलको मालासहित दोसल्ला ओढाएर सम्मान गरेका हुन। साथै समाजका लागि विभिन्न क्षेत्रमा योगदान दिएका अन्य १२ जनालाई विभिन्न शीर्षकको मूर्खको उपाधिले सम्मानित गरिएको छ । 

विभिन्न शीर्षकमा मूर्खको उपाधि पाउने विशिष्ट व्यक्तिमा पत्रकार ऋषि धमला (पटमूर्ख), रत्नेश्वर लाल कर्ण (डपौर शङ्ख), महोत्तरी मठिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल (वैशाखानन्दन), नेत्री विभा ठाकुर (गणपसारी), वन कर्मचारी लालबाबु यादव (हराशङ्ख), अधिवक्ता रेखा झा (सिलौट शङ्कर), याज्ञवल्क्य विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झा (खपसुरत), खेलाडी अरुण लाल (बज्रशङ्ख), व्यवसायी बलराम साह (ब्रजशङ्ख), पत्रकार वीरेन्द्र रमण (सोटाचन्थ), कवयत्री किरण झा ‘रश्मी’ (टुनमुसरी) तथा मोनाष्टिक स्कुलका सञ्चालक डा सोनु साह (बज्रकिट) रहेका छन।

सबै मूर्ख उपाधि पाउनेलाई भिन्डी, भन्टा, आलु, खुर्सानी, केसौर, कटहरसहितको माला लगाएर सम्मान गरिएको थियो । सो समारोहमा विभिन्न कवि तथा साहित्यकारले कविता, होली तथा जोगिरा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: २१:०४ बजे, मंगलबार, फागुन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्