Kathmandu Press
हात्तीपाइले निवारणका लागि वार्षिक करोडौं लगानी, परिणाम निराशाजनक 
हात्तीपाइले निवारणका लागि वार्षिक करोडौं लगानी, परिणाम निराशाजनक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार नेपालका ४० जिल्लामा सर्वेक्षण गर्दा ३६ हजारभन्दा बढी व्यक्तिमा हात्तीपाइलेको लक्षण फेला परेको छ।

काठमाडौं, फागुन २३ : कर्णालीबाहेक ६ वटा प्रदेशका १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालनमा छ। फागुन ११ गतेदेखि सुरु भएको कार्यक्रम २५ गतेसम्म जारी रहनेछ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौटहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा हात्तीपाइलेविरुद्धको औषधी खुवाउने कार्यक्रम सञ्चालनमा छ।  

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन तालिमप्राप्त स्वास्थ्यकर्मी परिचालन गरिएको छ । महाशाखाले ती जिल्लाभित्रका वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी, धार्मिकस्थल आदिमा बुथ राखी आम नागरिकलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदै आएको छ ।

एउटा जिल्लाबाट आरम्भ, ६४ जिल्लामा विस्तार 

नेपालका ६१ जिल्लामा हात्तीपाइले रोग देखा परेपछि सन् २००३ देखि पर्सा जिल्लाबाट हात्तीपाइलेविरुद्धको औषधि खुवाउन थालिएको हो।

सन् २००३ मा उक्त कार्यक्रम लागु गर्दा नेपालका ६१ जिल्लामा हात्तीपाइलेको जोखिम थियो। त्यतिखेर आर्थिक तथा दक्ष जनशक्ति अभावले आम रूपमा औषधि सेवन कार्यक्रम लागु गर्न नसकिएको डा. दाहालको भनाइ छ।

‘यो अभियान हरेक वर्ष बढाउँदै लग्दा २००४ मा ३ जिल्ला, २००५ मा ५ जिल्ला गर्दै सन् २०१४ मा ३५ जिल्लामा विस्तार भएको थियो,’ उनी भन्छन्, ‘२०७९ सालमा आइपुग्दा ६४ जिल्लामा उक्त कार्यक्रम लागु भइसकेको छ। ४८ जिल्लामा औषधि खुवाउने अभियान बन्द नै भइसकेको छ।’ 

No description available.
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहाल

औषधि खुवाइसकेका जिल्लामा हात्तीपाइलेको संक्रमण छ कि छैन भनेर रगत परीक्षण जारी रहेको शाखा प्रमुख डा. दाहालको भनाइ छ। ‘हात्तीपाइले रोगको औषधि हरेक वर्ष नियमित ६ पटक खाए निवारण गर्न सकिन्छ तर नेपालका कतिपय जिल्लामा १३–१४ पटक औषधि चलाइसक्दा पनि रोग निवारण गर्न सकिएको छैन,’ उनी भन्छन्। केही वर्षअघिसम्म मानिसहरूले घरमै खान्छु भनेर औषधि लिने तर नखाइदिने भएकाले पनि यो समस्या आएको उनको भनाइ छ।

‘यो वर्ष स्वास्थ्यकर्मीसामु नै औषधि खानुपर्ने व्यवस्था लागु गरेका छौं,’ डा. दाहालले भने, ‘यसो गर्दा औषधि चलाइएका जिल्लाबाट हात्तीपाइले निवारण गर्न सकिन्छ कि भन्ने हो।’ 

कर्णाली प्रदेशको जुम्ला, हुम्ला, डोल्पा, मुगु, कालीकोट हिमाली जिल्ला भएकाले त्यहाँ प्रायः लामखुट्टे नपाइने हुँदा हात्तीपाइलेको संक्रमण छैन भन्ने हिसाबमा हात्तीपाइलेको औषधि खुवाउने कार्यक्रम नचलाइएको उनको भनाइ छ।

यीबाहेक सुर्खेत, दैलेख, जाजरकोटलगायत जिल्लामा भने औषधि खुवाउने कार्यक्रम सञ्चालन भई बन्दसमेत भइसकेकाले अहिले रगत परीक्षण कार्यक्रम सञ्चालन भइरहेको डा. दाहाल बताउँछन्। 

नेपालमा हात्तीपाइलेका बिरामी र सरकारको लगानी 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् १९९७ मा गरेको निर्णयअनुसार औषधि प्रयोग गरी सन् २०२० सम्ममा विश्वबाट हात्तीपाइले रोगलाई निवारण गर्ने लक्ष्य लिएको थियो तर सन् २०२३ सम्ममा आइपुग्दा पनि यसलाई विश्वबाट निवारण गर्न सकिएको छैन। 

नेपालको परिप्रेक्षमा हात्तीपाइले रोग निवारण हुनुको साटो बढ्दै गएको देखिन्छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार नेपालका ४० जिल्लामा सर्वेक्षण गर्दा ३६ हजारभन्दा बढी व्यक्तिमा हात्तीपाइलेको लक्षण फेला परेको छ।

३६ हजार हात्तीपाइलेका बिरामीमध्ये पनि सबैमा एकै किसिमको लक्षण नरहेको उनी बताउँछन्। ‘यी बिरामीमा पनि केहीको हात्तीको जस्तो खुट्टा हुन्छ भने केहीको अण्डकोष सुन्निने त महिलाहरूमा स्तन सुन्निनेजस्ता समस्या छन्,’ उनले भने। हात्तीपाइलेका लागि फागुन ११ बाट २५ सम्म औषधि खुवाउनुपर्ने अभियानमा मात्र २२ करोड खर्च भएको उनको भनाइ छ।

May be an image of 7 people, people standing, people sitting and indoor

यो औषधिबाहेको खर्च हो। हात्तीपाइलेको औषधि हरेक वर्ष विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निःशुल्क अनुदानमा उपलब्ध गर्दै आएको छ। अहिले नेपालका १५ जिल्लामा हात्तीपाइलेको औषधि पनि डब्लुएचओले निःशुल्क अनुदानमा उपलब्ध गराएको हो, जुन ८५ करोडबराबरको रहेको उनको भनाइ छ। 

हात्तीपाइले रोगका लागि छुट्याइएको २२ करोड बजेटमध्ये २० करोड स्थानीय तहमा, डेढ करोड प्रदेशअन्तर्गत स्वास्थ्य निर्देशनालय र बाँकी १०–१२ लाख रुपैयाँ इपिडिमियोलोजीमा केन्द्रमा रहेको उनले बताए। ‘स्थानीय तहबाट कार्यक्रम कार्यान्वयन गर्नुपर्ने, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि प्रोत्साहन गर्नुपर्ने भएकाले स्थानीय तह र प्रदेशमा बढी बजेट विनियोजन गरिन्छ,’ दाहालले भने। 

के हो हात्तीपाइले? 

हात्तीपाइले (फाइलेरिया) आन्द्रामा पर्ने जुकाजस्तै परजीवीबाट लाग्ने रोग हो, जुन क्युलेक्स वा एनोफिलिस नामक पोथी लामखुट्टेको टोकाइबाट फाइलेरिया नामक परजीवीबाट लाग्ने गर्छ।

पहिलो चरणमा माइक्रोफाइलेरिया परजीवी आँखाले देख्न नसके पनि अलिकती विकसित भइसकेपछि आँखाले पनि यसलाई देख्न सकिने त्रिवि शिक्षण अस्पतालका सरुवारोग विशेषज्ञ डा. सविन थपलिया बताउँछन्। हात्तीपाइले रोग नेपाललगायत बढी गर्मी हुने र लामखुट्टे पाइने देशहरू भारत, अफ्रिका, श्रीलंकाजस्ता देशमा अन्य देशको तुलनामा बढी हुने गरेको डा. थपलियाको भनाइ छ। 

No description available.
डा. सविन थपलिया

उनी भन्छन्, ‘एनोफिलिस फाइलेरियाको एउटा खपाटो हो। कुनै लामखुट्टेले मानिसलाई टोके सुरुमै लक्षण नदेखिएर बिस्तारै असर गर्दै लैजाने गर्छ। यसले टोकेर पछि हाम्रो शरीरमा रगतजस्तै लिम्फ रहन्छ।’ यसरी लिम्फमा समस्या आई पानीबाहिर लिक भएर छाला जम्दै साह्रो हुने डा. थपलिया बताउँछन्।

‘पानी सञ्चालन हुनुको साटो एकै ठाउँमा जम्मा भइरह्यो भने पानी जम्मा भएको स्थान सुन्निँदै जान्छ,’ उनी भन्छन्, ‘प्रायः पानी जम्ने समस्या खुट्टा या हातको काखीमुनि हुने गर्छ जसले गर्दा खुट्टा सुन्निँदै जाने, महिलामा स्तन र पुरुषमा अण्डकोष सुन्निने समस्या पनि बढी देखिने गर्छ।’

लामखुट्टेले हात्तीपाइले रोग भएको मानिसलाई टोकेर अन्य स्वस्थ मानिसलाई टोके उसमा भएको परजीवी सर्ने गर्छ र एक वर्षपछि ती परजीवी विकसित भई जुन अंगमा आक्रमण गरेको छ, त्यो अंग सुन्निँदै गई हात्तीपाइलेको रूप लिने गर्छ।

फाइलेरिया परजीवी कोरोना या डेंगुजस्तो छोटो समयमै लक्षण देखाइहाल्ने रोग नभएको डा. थपलियाको भनाइ छ। ‘कुनै व्याक्तिलाई लामखुट्टेले टोक्यो भने शरीरमा गएर विकसित हुन वर्ष दिन भन्दा बढी समय पनि लाग्ने भएकाले शरीरमा यसको कीटाणु भेटिँदैन। त्यसैले यो रोग लाग्दा खुट्टा सुन्निएर हात्तीको जस्तो हुन लामो समय लिन्छ,’ उनले भने। 

हात्तीपाइले भएको कसरी थाहा पाउने?

डा. सविन थपलियाका अनुसार लामखुट्टेले टोकेपछि पहिलो चरणमा ज्वरो आउने, गिर्खा देखिने, लामखुट्टेले टोकेको छेउमा रातो हुने, शरीरमा कम्पन हुने, नसा सुन्निने, दम बढ्ने, लामो समयसम्म सुक्खा खोकी लाग्ने, कसैमा खाना नरुच्ने, राति सुतेको समयमा श्वासनली साँघुरो भएर सास फेर्न गाह्रो हुनेजस्ता लक्षण सुरुवाती चरणमा देखापर्छन्।

लामखुट्टेले टोकेर शरीरमा हात्तीपाइलेको कीटाणु उत्पादन गरेको छ या छैन भनेर रगत परीक्षणबाट सुरुवाती चरणमै पत्ता लगाउन सकिन्छ। लामखुट्टेले टोकेको वर्ष दिनपछि मात्र यसले लक्षण देखाउने गर्छ। रोग बल्झँदै गए खुट्टा सुन्निएर हात्तीको जस्तै हुने, महिलामा स्तन र पुरुषमा अण्डकोष सुन्निनेजस्ता समस्या पनि देखा पर्ने गर्छ।

हात्तीपाइलेजस्तै अन्य कारणले पनि खुट्टा वा अन्य अंग सुन्निन सक्छ। क्यान्सर वा अन्य कारणले रगत सञ्चार हुने बाटो बन्द गरिदियो भने पनि हातखुट्टा सुन्निने समस्या पनि हुन सक्ने सम्भावना उच्च रहन्छ तर साधारणतया हाम्रोजस्तो देशमा भिडियो एक्सरे वा रगत परीक्षण गर्दा केही रोग देखा नपरे हात्तीपाइले रोग हो भनेर छुट्याउन सकिन्छ। 

हात्तीपाइले भइसकेपछि जुन ठाउँमा सुन्निएको छ, त्यो ठाउँमा रक्तसञ्चार हुँदैन र त्यो स्थानमा समयसमयमा इन्फेक्सन भइरहने, खुट्टाको कारणले रगतका नसाहरू दुख्ने, कहिलेकाहीँ महिलाको पाठेघरमा पनि समस्या निम्त्याउने गर्छ। यस्ता किसिमका जटिलता आइसकेपछि सुन्निएका अंगलाई पहिलेकै अवस्थामा ल्याउन सकिँदैन र जीवनभरि भद्दा शरीरमै बाँच्नुपर्ने हुन्छ। 

उपचार विधि ? 

डा. थपलियाका अनुसार समयमै पत्ता लागे हात्तीपाइले निको हुन्छ । ‘तर छाला फुलिसकेको अवस्थामा भने पहिलेको जस्तै सामान्य अवस्थामा ल्याउन सकिँदैन,’ उनी भन्छन्, ‘त्यसैले सुरुवाती चरणमा जब छालामा पानी जम्म थाल्छ, त्यसको पनि पहिलो चरणमा अस्पताल आई परीक्षण गरी फाइलेरिया देखापरे औषधि खाएर रोग निको पार्न सकिन्छ।’ 

जुकाको औषधि अल्बेन्डाजोल चक्कीसँग डाइथाइल कार्बामार्जिन नामक चक्की औषधि दिएर सर्ने अवस्थामै रहेको माइक्रो फाइलेरिया मारिदियो भने एक व्यक्तिबाट अर्कामा जीवाणु सर्दैन। रोग सर्न नदिन अहिले डब्लुएचओले धेरै देशमा निःशुल्क औषधि वितरण गर्दै आएको उनको भनाइ छ।

यसरी डब्लुएचओले निःशुल्क अनुदानमा हात्तीपाइलेको औषधि वितरण गरिरहेको छ भन्नेबारे धेरै नागरिकलाई जानकारी नै छैन । जानकारी पाएका स्थानका कतिपय मानिसले औषधि सेवन नगरेको उनी बताउँछन्। 

‘आजको भोलि नै थला पार्ने कोरोनाजस्तै रोग भएको भए मानिसहरू जागरुक हुने थिए भने अर्कातिर कोभिडको समयमा हात्तीपाइले रोगलाई खासै प्राथमिकता दिन नसक्दा नेपालमा २०२३ सम्ममा पनि हात्तीपाइले रोग निर्मूल हुनुको साटो बढ्दै गएको छ,’ डा. सविन थपलियाले भने। 

कसरी सावधानी अपनाउने?

हात्तीपाइले रोग लागिसकेपछि निको नहुने भएकाले यसबाट बच्न नदिन आम नागरिकले विभिन्न सावधानी अपनाउनु आवश्यक छ। यसका लागि सबैभन्दा पहिले हात्तीपाइलेविरुद्धको औषधि सरकारद्वारा हरेक वर्ष खुवाउने अभियान चलाउने गरिन्छ। यो औषधि करिब ६ वर्षसम्म लगातार खाए हात्तीपाइलेजस्तो जटिल रोगबाट बच्न सकिन्छ। तर गर्भवती, एक साताकी सुत्केरी, दीर्घरोगी र दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउनुहुँदैन। 

यसका अतिरिक्त हात्तीपाइले रोग हुन नदिन गर्मी हुने र धेरै लामखुट्टे हुने स्थानका राति सुत्दा झुल लगाउने, घरवरिपरी सफा राख्ने, पूरा बाहुला भएका कपडा लगाउने र पानी जम्ने खाल्डाखुल्डी पुर्ने गर्नुपर्छ। हात्तीपाइलेको सामान्य लक्षण देखिए परीक्षणका लागि स्वास्थ्य संस्थामा जानुपर्छ। परीक्षणका क्रममा हात्तीपाइलेका कीटाणु देखिनेबित्तिकै उपचार गरे निको हुने सम्भावना उच्च रहन्छ।
 

प्रकाशित मिति: १६:२४ बजे, मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्