Kathmandu Press

मिथिलामा तीन दिन होली

मिथिला क्षेत्रमा फागुन पूर्णिमाका दिन मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर होलिका दहनको धुरा उडाएपछि (राक्षसी प्रवृतिकी प्रतीक मानिने होलिका राक्षसीको आकृति डढाएको खरानी उडाउने विधि) भोलिपल्ट होरी मनाइने परम्पराअनुसार आज पर्व मनाइँदै गरिएको हो । 
मिथिलामा तीन दिन होली

काठमाडौं, फागुन २३ : मध्यपूर्वी तराईमा तीन दिन ‘होरी’ (होली, फागु) पर्व मनाइँदै छ । 

मिथिला क्षेत्रमा फागुन पूर्णिमाका दिन मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर होलिका दहनको धुरा उडाएपछि (राक्षसी प्रवृतिकी प्रतीक मानिने होलिका राक्षसीको आकृति डढाएको खरानी उडाउने विधि) भोलिपल्ट होरी मनाइने परम्पराअनुसार आज पर्व मनाइँदै गरिएको हो । 

Hardik ivf

होरी अर्थात फागु पर्व बारको आधारमा नभई तिथि र अन्तरगृह परिक्रमालाई आधार मानेर मनाइने भएको हुँदा यो पर्व आजै चैत कृष्ण प्रतिपदाका दिन मनाइन पर्ने साधु परम्पराका अनुयायीहरुको मत छ ।

“मध्यमा परिक्रमा जनकपुरको रङभूमि मैदानमा जम्मा भएकै दिन राती होलिका दहन गर्ने, भोलिपल्ट पूर्णिमाका दिन अन्तरगृह परिक्रमासँगै धुरा उडाउने र चैत कृष्ण प्रतिपदाका दिन पर्व मनाउने परम्परा छ”, महोत्तरीको  भङ्गाहा–५ सीतापुरस्थित रामजानकी मठका साधु रामदास बैष्णबले भने, “यसमा बारको भूमिका हुँदैन, त्यसैले मिथिला परम्पराको होरी आज नै हो ।” 

चैत कृष्ण प्रतिपदाकै दिन होरी मनाउने परम्परा भए पनि आज खरो मानिने भएकाले भोलि होरी मनाउने तयारीमा रहेका यहाँ धेरै छन् । यसपालि पूर्णिमा तिथिको भोग पनि दुई दिन देखिएको छ ।  सोमबार दिउँसो पूर्णिमा लागेर आज अबेर दिउँसोसम्म यो तिथिको भोग रहने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का महेशकुमार झाले बताए । “हिजो करिब २२ घडि र आज करिब ३० घडि पूर्णिमाको भोग छ”, उनले भने । 

“बारको प्रभाव हुन्न, मानिन्न भन्ने कुरा हाम्रो परम्पराअनुकूल छैन, हामीकहाँ घरबाट निस्कदा, अन्य कुनै काम प्रारम्भ गरिदा यो बार, यो तिथि ठीक हुन्छ भनिन्छ”, भोलिको होरी तयारीमा रहनुभएका बर्दिबास–९ पशुपतिनगरका बच्चुलाल महतो भन्छन्, “मङ्गलबार खरो दिन मानिन्छ, अनि एकापसमा अङ्कमाल गर्ने खुसीको पर्व यस्तो दिन किन पार्ने ? त्यसैले भोलि मनाइनु ठिक हो ।” महोत्तरीको जलेश्वर, रामगोपालपुर, बलवासहितका नगरक्षेत्रमा भोलि बुधबार होरीको तयारी देखिन्छ ।

आआफ्ना सुविधा र मान्यताअनुसार तीन दिन होरी मनाइँदै गरिए पनि यसपाली होरी शान्त नै देखिएको छ । बस्तीका घरघर र सडक गल्लीसम्म एकअर्कोलाई लघार्दै लोला हान्ने, भीड जम्मा हुने र रङ प्रयोगमा कमी देखिएपछि होरी शान्त देखिएको हो ।

मधेस प्रदेशभित्रका आठै जिल्लामा स्थानीय (जिल्ला) प्रशासनले भीडभाड नगर्न, भीडभाडमा नजान, रङ र लोला नहान्न सार्वजनिक सूचना नै जारी गरेर अपिल गरेको छ ।

प्रकाशित मिति: ०८:३५ बजे, मंगलबार, फागुन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्