नेपाल समाजवादी मोर्चा गठन
कार्यक्रममा मोर्चाका संयोजक सफलले नेपालमा रहेका सम्पूर्ण समाजवादी शक्तिलाई एकताबद्ध गर्दै समाजवादी व्यवस्था निर्माण गर्ने उद्देश्यले मोर्चा गठन गरिएको बताए।
काठमाडाैं, फागुन २० : युवराज सफलको नेतृत्वमा नौ सदस्यीय ‘नेपाल समाजवादी मोर्चा’ गठन भएको छ। यहाँ आज आयोजना गरेको एक कार्यक्रममा मोर्चा गठनकोे घोषणा गरिएको हो।
कार्यक्रममा मोर्चाका संयोजक सफलले नेपालमा रहेका सम्पूर्ण समाजवादी शक्तिलाई एकताबद्ध गर्दै समाजवादी व्यवस्था निर्माण गर्ने उद्देश्यले मोर्चा गठन गरिएको बताए।
समाजवादी आन्दोलन हुँदै अन्तर्राष्ट्रिय समाजवादी सहयोग सङ्गठन बनाएर अघि बढ्ने उनको भनाइ छ। 'मुलुकमा भएका भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य गर्दै जनतालाई समाजवादी बाटोमा लैजाने र समृद्ध राष्ट्र निर्माण गर्ने हाम्रो उद्देश्य हो,' संयोजक सफलले भने।
बैंक तथा वित्तीय संस्थाले दिने सेवासुविधाबाट नागरिक सन्तुष्ट नभएकाले उनीहरुको मर्म र भावनालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सम्बन्धित निकायलाई नवगठित मोर्चाले आग्रह गरेको छ। भान्सामा प्रयोग हुने कृषि तथा तरकारीजन्य वस्तुको गुणस्तर जाँच गरेर मात्र प्रयोग गर्ने व्यवस्था मिलाउन मोर्चाको माग छ।
नवगठित मोर्चाको सचिवालय सदस्यमा क्रमशः सुशील नाथ योगी, कृष्ण खड्का, शोभा पाठक, रामराजा श्रेष्ठ, वासु पौडेल, अर्जुन अधिकारी, एलिजा तामाङ र गणेश ढकाल छन्।












