Kathmandu Press
कालीकोटको रास्कोटमा घरमै बच्चा जन्माउनेको संख्या शून्य
कालीकोटको रास्कोटमा घरमै बच्चा जन्माउनेको संख्या शून्यपालिकामा चारओटा बर्थिङ सेन्टर छन् भने नगरपालिकाको अस्पतालबाट पनि यही माघबाट बर्थिङ सेन्टर सुचारु गरेकाले अहिले पाँचवटै बर्थिङ सेन्टरबाट गर्भवतीलाई प्रसूति सेवा दिइँदै आएको पालिका प्रमुख शाहीको भनाइ छ।

काठमाडौं, फागुन २० : कालिकोट जिल्लाको रास्कोट नगरपालिका–९ की २६ वर्षीया शिला सहकारीलाई गत माघ १ गते सुत्केरी व्यथाले च्याप्यो। परिवारले उनलाई वडामै रहेको बर्थिङ सेन्टर लग्यो। उनको घरदेखि १५ मिनेटको पैदलयात्रामा नै बर्थिङ सेन्टर पुग्न सकिन्छ।

स्वास्थ्य संस्थामा बच्चा जन्माउँदा सुत्केरी भत्तालगायत दक्ष स्वास्थ्यकर्मीद्वारा सेवा दिने हुँदा शिलालाई उनको परिवारले नजिकैको बर्थिङ सेन्टरमा लगेको हो। माघ २ गते बिहान ८ बजे उनले आफ्नो पहिलो सन्तान जन्माइन्।

त्यसैगरी सोही नगरपालिका–९ कै धनपुरा विकले पनि २०७८ पुसमा आफ्नो पहिलो सन्तान छोरीलाई वडामै रहेको बर्थिङ सेन्टरमा जन्माइन्। नगरपालिकाद्वारा वडामै सुविधासम्पन्न बर्थिङ सेन्टर स्थापना भएपछि आफूले स्वास्थ्यकर्मीको सहयोगमा आफ्नो पहिलो सन्तानलाई जन्म दिएको उनको भनाइ छ।

संविधानद्वारा महिलाका लागि प्रदत्त सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी हकको सम्मान, संरक्षण र परिपूर्ति गर्न मातृत्व तथा प्रजनन स्वास्थ्य सेवालाई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहुँचयोग्य बनाउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लागु गरेको छ।          

संविधानले नै महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार उल्लेख गरेको भए पनि दूरदरारमा रहेका महिलाहरूले भने यसको प्रत्यक्ष लाभ लिन सकेका छैनन्।  गर्भवतीले स्वास्थ्य संस्थामै आएर चार पटक गर्भ जाँच गर्नुपर्ने चिकित्सकहरू बताउँछन्।

तर भौगोलिक विकटता र स्वास्थ्य संस्थाको पहुँच सरल रूपमा हुन नसक्दा स्वास्थ्य संस्थामै आएर गर्भ जाँच्न र बच्चा जन्माउन इच्छुक गर्भवती महिला स्वास्थ्य संस्था पुग्नुअगावै बाटामै बच्चा जन्माउन बाध्य छन् भने कति महिलाहरुले बच्चा जन्माउन नसकेर अकालमै ज्यान गुमाउनुपरेका घटना पनि यदाकदा सुन्नमा आउँछन्।

raskot1677906046.jpg
रास्कोट नगपालिकाका प्रमुख धर्मराज शाही ।

नेपालको कान्छो जिल्ला कालिकोटस्थित रास्कोट नगारपालिकामा भने अवस्था फेरिएको छ। विगत तीन वर्षयता रास्कोट नगरपालिकामा घरमा सुत्केरी हुनेको संख्या शून्यमा झरेको छ भने गर्भावस्थामा ज्यान गुमाउनेको संख्या पनि शून्यमा झरेको छ।

आर्थिक वर्ष २०७७/७८ देखि पालिकामा घरमा सुत्केरी हुने महिलाको संख्या शून्यमा झरेको रास्कोट नगपालिकाका प्रमुख धर्मराज शाहीले बताए। पालिकामा चारओटा बर्थिङ सेन्टर छन् भने नगरपालिकाको अस्पतालबाट पनि यही माघबाट बर्थिङ सेन्टर सुचारु गरेकाले अहिले पाँचवटै बर्थिङ सेन्टरबाट गर्भवतीलाई प्रसूति सेवा दिइँदै आएको पालिका प्रमुख शाहीको भनाइ छ।  

केही वर्षअघि पालिकामा गर्भवतीको अवस्था

पालिका प्रमुख शाहीका अनुसार पाँच–सात वर्षअघि नै पालिकामा तीनओटा बर्थिङ सेन्टर थिए। पालिकाभित्रै बर्थिङ सेन्टर स्थापना भए पनि जनचेतनाको अभावले त्यहाँ सेवा लिने गर्भवतीको संख्या निकै न्यून थियो।

‘स्थापित बर्थिङ सेन्टरमा दक्ष जनशक्तिको अभावका साथै आवश्यक सुविधा नहुँदा छिटपुट मात्रामा गर्भवतीहरू प्रसूति सेवा लिन स्वास्थ्य संस्थामा आउने गर्थे,’ उनी भन्छिन्, ‘हिउँद याममा बर्थिङ सेन्टरमा प्रसूति सेवाका लागि आएका महिलालाई चिसोका कारण बस्न निकै गाह्रो हुने गथ्र्यो।’

जनचेतना, जनशक्ति, सुविधासम्पन्न बर्थिङ सेन्टर, एम्बुलेन्सलगायतको अभावले २०७६ सालमा पालिकाभित्र दुईजना गर्भवतीले ज्यान गुमाउनुपरेको थियो। त्यसअघि पनि केही गर्भवतीले ज्यान गुमाउनुपरेको शाहीको भनाइ छ।     

सुविधासम्पन्न बर्थिङ सेन्टर

रास्कोटमा नौवटा वडा छन्। पालिकामा करिब सात वर्षअघि नै तीनवटा बर्थिङ सेन्टर थिए भने एउटा बर्थिङ सेन्टर गत वर्ष र थप एक बर्थिङ सेन्टर २०७९ माघदेखि सञ्चालनमा ल्याइएको छ। अहिले पालिकाको वडा २, ४, ५, ८ र ९ मा पाँचवटा बर्थिङ सेन्टर स्थापना भइसकेका छन्।

बर्थिङ सेन्टर नरहेका वडाहरूको पहुँचमा पनि आउने गरी बर्थिङ सेन्टर स्थापना गरिएकाले नौवटै वडाका गर्भवतीलाई प्रसूति सेवा लिन सहज भएको रास्कोट नगरपालिकाका स्वास्थ्य संयोजक हंसराज बरालले बताए।     

अहिले पाँचवटा बर्थिङ सेन्टरबाट २० स्वास्थ्यकर्मीले सेवा दिइरहेको संयोजक बराल बताउँछन्। ‘स्टाफ नर्सहरूलाई राति बर्थिङ सेन्टरमै बस्ने सुविधा भएकाले सुत्केरी व्यथा लागेका महिलाका लागि चौबिसै घन्टा प्रसूति सेवा दिने काम हुँदै आएको छ,’ उनले भने।  

sss1677906686.jpg
रास्कोटको पहिलो बर्थिङ सेन्टर विकल्प स्मृति आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट पहिलो डेलिभरी गराएकी रास्कोट ८ पलातीवाडाकी राजु न्यौपाने ।


बरालका अनुसार बर्थिङ सेन्टरमै आएर बच्चा जन्माउने आमालाई बच्चा जन्मेपछि ज्वानोको झोल खुवाउने गरिन्छ। त्यसैगरी ३ हजार रुपैयाँ सुत्केरी भत्ता, गर्भवती हुँदा स्वास्थ्य संस्थामै आई चारपटक गर्भ जाँच गरेको भए थप ८ सय रुपैयाँ भत्ता पनि दिने गरिएको छ।

यसका साथै ‘न्यानो झोला’ जसमा आमा र शिशुका लागि न्यानो कपडा र थप १ हजार सम्बन्धित स्वास्थ्य संस्थाले प्रदान गर्दै आएको उनले बताए।  गर्भवतीलाई बच्चा जन्माउन स्वास्थ्य संस्था ल्याउने स्वयंसेविकालाई पालिकाले १०० रुपैयाँ दिने व्यवस्था रहेको बरालको भनाइ छ।

‘बर्थिङ सेन्टरमा प्रसूति सेवाका लागि ल्याइएका महिलाको स्वास्थ्यमा जटिलता आए रिफर गरेर जिल्ला अस्पताल कालिकोट लिनुपरे १० हजार र सुर्खेत जिल्ला जानुपरे १५ हजार आर्थिक सहयोग पालिकाले गर्दै आएको छ,’ उनले भने।

पालिकाद्वारा समयसमयमा विभिन्न किसिमका जनचेनतात्मक कार्यक्रम सञ्चालन गरिँदै आएको छ। गर्भवती महिलाका लागि पालिकाद्वारा सुनौलो हजार दिनका कार्यक्रम पनि विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको छ भने एउटा वडामा ३० जना सुनौलो हजार दिनको महिला समूह गठन गरी पोषणयुक्त सामग्री वितरण गर्ने काम पनि भइरहेको उनले बताए। पालिकाद्वारा ‘होम भिजिट’ कार्यक्रम पनि सञ्चालन गर्दै आएको बरालको भनाइ छ।

सुत्केरी महिलाले बच्चा जन्माएको तीन दिन र सात दिनमा स्वास्थ्य संस्थामामै आएर स्वास्थ्य जाँच गराउनैपर्ने व्यवस्था पनि गरिएको छ। सुत्केरी महिलाहरू स्वास्थ्य संस्थामा आउन सम्भव नभएको अवस्थामा नर्सहरू घरमै गएर आमा र बच्चाको स्वास्थ्य परीक्षण गर्ने गरिएको पनि उनले जानकारी दिए।   

स्वास्थ्य संयोजक बरालका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा रास्कोट नगरपालिकामा २५३ जना महिलाले बच्चा जम्माएका थिए। बच्चा जम्माएका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामै बच्चालाई जन्म दिएकाले आर्थिक वर्ष २०७७÷७८ मा रास्कोट नगरपालिकामा घरमै बच्चा जन्माउने आमाको संख्या शून्यमा झरेको हो। पालिकाद्वारा दिइँदै आएको सेवासुविधा र जनचेतनात्मक कार्यक्रमले गर्दा तीन वर्षयता सबै गर्भवतीले बर्थिङ सेन्टरमै आई बच्चा जन्माउने गरेको उनको भनाइ छ। उनी भन्छन्, ‘आर्थिक वर्ष २०७८÷७९ माघ पहिलो सातासम्म २३० गर्भवतीले बर्थिङ सेन्टरमै बच्चा जन्माएका छन्।’

 

प्रकाशित मिति: १०:४३ बजे, शनिबार, फागुन २०, २०७९
प्रतिक्रिया दिनुहोस्