Kathmandu Press

खानेपानी सुधारको आयोजना छिटो सुरु गर्न नगर प्रमुखकाे आग्रह

खानेपानी सुधारको आयोजना छिटो सुरु गर्न नगर प्रमुखकाे आग्रह

विराटनगर, फागुन १९ : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको खानेपानी सुधारको आयोजना चाँडै सुरु गर्न जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग आग्रह गरेका छन।

जापान सरकारले खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु दुई अर्ब सात करोड अनुदान सहयोग उपलब्ध गराउनेछ । उक्त आयोजनाले विराटनगर सहरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै खानेपानी सुविधाको पुनःनिर्माण र विस्तार गरी विराटनगर सहरका जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ ।
    
विराटनगरको खानेपानी सुधारका लागि अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत र अर्थ मन्त्रालयका सचिवबीच गत वर्ष फागुनमै हस्ताक्षर भएको थियो । 

Hardik ivf

महानगरप्रमुख कोइरालाले जाइका नेपाल प्रमुख ओकुबो अकिमित्सुलाई भेटेर खानेपानी सुधारको आयोजना तत्काल सुरु गर्न आग्रह गरेका हुन। खानेपानी सुधारको योजना कार्यान्वयनमा ढिलाइ भएको भन्दै प्रमुख कोइरालाले जाइकाका नेपाल प्रमुख ओकुबोको ध्यानाकर्षण गराएका थिए।

प्रमुख कोइरालाले आफूले चुनावी घोषणापत्रमै महानगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको स्मरण गराए। उनले जाइकाले निर्माण गर्ने आयोजना सम्पन्न भएपछि विराटनगरमा देखिँदै आएको खानेपानी समस्या समाधान हुने जिकिर गरे । 

भेटमा विराटनगरको डुबान समस्या समाधानका लागि तटबन्ध निर्माणसहित शिक्षा र स्वास्थ्यका विषयमा छलफल भएको महानगरका अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत रत्नाकर झाले बताए ।  

प्रमुख कोइरालाले आज नै युएसआइडीकी नेपाल प्रमुख सेपिदाह केभ्यान्सदसित भेटघाट गरे । भेटमा विराटनगर महानगरमा आफूले सुशासन, जवाफदेहितासहित सरसफाइ, पार्किङ, फुटपाथ नियन्त्रणलगायत सामान्य कुराबाटै सुधारको सुरुआत गरेको बताएका थिए।

प्रमुख कोइरालाले स्थानीय सरकार सञ्चालन ऐनले तोकेका अधिकार प्रयोग गरेर महानगरवासीको हितमा काम गरिरहेको बताए। उनले समावेशी शिक्षा, स्वास्थ्यका विषयमा पनि सेपिदाहसित कुरा गरेको बताए।

प्रकाशित मिति: १९:५५ बजे, शुक्रबार, फागुन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्