Kathmandu Press

दुई रेलमार्गबीच तादात्म्यता मिलाउने योजना

दुई रेलमार्गबीच तादात्म्यता मिलाउने योजना

काठमाडौं, फागुन १९ : सरकारले निर्माण सुरु गरेको पूर्व(पश्चिम रेलमार्ग र भारतीय सरकारको सहयोगमा अध्ययन भइरहेको रेलमार्गका बीचमा तादम्यता मिलाउने (सिङ्क्रोनाइज) गर्न तयारी अघि बढाइएको छ ।

रक्सौल–काठमाडौँ रेलमार्ग पनि निजगढ खण्डमा मिल्ने हुँदा निर्माण सुरु हुनु अघि नै दुई लाइनबीच तादात्म्यता मिलाउन आवश्यक रहेको रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनियर) अमन चित्रकारले बताए। भारतीय पक्षले रक्सौल–काठमाडौँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहेको छ ।

Hardik ivf

भारतीय पक्षलाई लिखितरूपमै निजगढ खण्डको केही सूचना दिनका लागि भनिएको समेत उहाँको भनाइ छ । उनले भने,‘एउटा रेलबाट अर्को रेलमा यात्रु कसरी परिवर्तन गर्ने, कसरी चढाउने र झार्ने, कसरी सामान एउटाबाट अर्कोमा हाल्ने र कसरी मालसामान ढुवानी गर्ने भनी मिलाउनुपर्ने हुन्छ।’

भारतीय कम्पनी कोंकण रेल्वे कम्पनी लिमिटेडले अध्ययनको काम गरिरहेकाले पहिले लिखितरूपमै पठाइएको प्रवक्ता चित्रकारले बताए। त्यहाँबाट जवाफ नआएपछि अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट परराष्ट्र मन्त्रालय हुँदै भारतीय पक्षलाई अनुरोध गरिएको छ। 

पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत अहिले निजगढ–भरतपुर खण्डको डिपिआर अध्ययन भइरहेको छ । पहिले सबै खण्डको अध्ययन भइसकेको भए पनि यो खण्डमा रेखाङ्कन परिवर्तन गर्नुपर्ने भएकाले पुनः अध्ययन भइरहेको प्रवक्ता चित्रकारको भनाइ छ । पहिलेको रेखाङ्कन चितवन राष्ट्रिय निकुञ्जभित्रबाट रहेकाले अहिले त्यहाँबाट नलगेर निजगढबाट हेटौँडा हुँदै भरतपुर लैजाने गरी डिपिआर भइरहेको उनले बताए। 
 
सरकारसँग भारतीय पक्षले गरेको सम्झौता (एमओयु) अनुसार सो अध्ययन प्रतिवेदन सुरु भएको १८ महिनामा दिनुपर्ने उल्लेख छ । प्रारम्भिक अध्ययनका आधारमा काठमाडौँ–रक्सौल रेलमार्गको लम्बाइ एक सय २६ किमी अनुमान गरिएको थियो । निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल वरपरबाट घुमाएर गर्दा लम्बाइ केही बढ्नसक्ने देखिएको छ । 

रक्सौल–काठमाडौँ रेलमार्ग ब्रोड गेजमा अध्ययन भइरहेको छ भने पूर्व–पश्चिम रेलमार्ग अहिले पछिल्लो चरणमा स्ट्याण्डर्ड गेजमा अध्ययन भइरहेको  छ । भारत सरकारले निर्माण गरिरहेको अरु रेलमार्ग पनि ब्रोड गेजका छन् । चीन सरकारले सुरु गरेको काठमाडौँ–केरुङ रेलमार्ग भने स्ट्याण्डर्ड गेजमै छ।

प्रकाशित मिति: १६:३८ बजे, शुक्रबार, फागुन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्