आमसञ्चारसँग सम्बन्धित कानूनबारे ध्यानकर्षण गराउन आग्रह

काठमाडौं, फागुन १९ : सभामुख देवराज घिमिरेले आमसञ्चारमाध्यमसँग सम्बन्धित विधेयकबारे सांसदहरूको ध्यानाकर्षण गराउन प्रेस काउन्सिल नेपाललाई सुझाव दिएका छन् ।
आज यहाँ प्रेस काउन्सिल नेपालद्वारा अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा आयोजित ‘आमसञ्चार माध्यममा महिलाको सवाल’ विषयक कार्यक्रममा बोल्दै उनले भने, ‘आमसञ्चार माध्यमसम्बन्धी विधेयक छिटो ल्याउन र प्रेस काउन्सिल ऐन संशोधन समयमै गर्नका लागि म व्यक्तिगत र संस्थागतरूपमा सुझाव लिन तयार छु।’
उनले थपे, ‘विधेयकबारे छलफल गर्ने र पास गराउने भूमिका सांसदहरूले हो । सांसदसँगै दलका नेता र सम्बन्धित सरोकारवालाकोे ध्यानाकर्षण हुने गरी छलफल तथा अन्तक्र्रिया बढाउन आवश्यक छ।’
उनले पत्रकारितालाई देशको चौथो अङ्ग भन्ने गरे पनि पत्रकारको मूल्याङ्कन हुन नसक्नु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले विशेषगरी महिला पत्रकारको सुरक्षाका विषयमा राज्य सचेत रहेको समेत स्पष्ट पारे।
अन्तरक्रियामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारसम्बन्धी ऐन र प्रेस काउन्सिल ऐन, २०४८ को संशोधन तत्काल गर्न सभामुखमार्फत सरकारको ध्यानार्कषण गराए।
उनले भने, ‘सञ्चारमाध्यमको पुरानो परिभाषाले सञ्चारमाध्यमको नयाँ आयामलाई समेट्न सकेको छैन । काउन्सिलको ऐन र सञ्चारमाध्यमको ऐनलाई तत्काल संशोधन आवश्यक छ ।” उहाँले सञ्चारमाध्यमलाई महिलामैत्री बनाउन आचारसंहिताको कार्यान्वयन आवश्यक भएको बताउनुभयो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले समितिले सीमित क्षेत्राधिकारका कारण अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो गरिन्।












