Kathmandu Press

जहाँ नागरिकले नदी तरेको पैसा तिर्नुपर्छ

स्थानीयवासीले कान्द्रालगायतका नदी तर्दा पैसा तिर्नुपर्छ। 'दैनिक कामका लागि नगरपालिका आउँदा रू ३० तिरेर नदी तर्नुपर्छ।
जहाँ नागरिकले नदी तरेको पैसा तिर्नुपर्छ

कैलाली, फागुन १९ : कैलालीको भजनी नगरपालिकाका स्थानीयले १२ वर्षदेखि पक्की पुलको सपना देख्दै आएका छन्। पक्की पुल निर्माण भएपछि नदी तर्दा तिर्नुपर्ने पैसाबाट छुटकारा पाइएला भन्ने स्थानीयको सपना छ।

स्थानीयवासीले कान्द्रालगायतका नदी तर्दा पैसा तिर्नुपर्छ। 'दैनिक कामका लागि नगरपालिका आउँदा रू ३० तिरेर नदी तर्नुपर्छ। महिनामा रू नौ सय नदी तरेको मात्रै तिर्नुपरेको छ', स्थानीय रुपक साउदले भने। उनले पक्की पुल प्रयोगमा नआउँदासम्म नागरिकलाई आवतजावतमा समस्या हुने बताउदै नगरपालिकाले पैसा उठाएर झन सास्ती दिने गरेको  बताए। पालिकालाई भन्दा पुल निर्माणको ठेक्का लिने कम्पनीलाई बढी फाइदा भएको साउदको भनाइ छ।

Hardik ivf

ठुला सवारीसाधन पुलबाट नभई नदीबाट वारपार गराउनुपर्छ। यसरी नदीबाट सवार गर्दा सवारीसाधनबाट पैसा सङ्कलन गर्ने गरेको भोजराज काफ्ले बताउँछन्। 'कान्द्रामा पुल बन्न लागेको एक दशकभन्दा बढी भयो। समयमै पुल निर्माण नहुनुको कारण बिचौलिया हुन्। जसले नदी ठेक्काका नाममा वार्षिक लाखौँ उठाउँछन्', उनी भन्छन्, 'नभए पुल निर्माणका लागि स्थानीय सरोकारवालाले चासो नदिनुको कारण के हो?'

टीकापुरबाट हुलाकी राजमार्ग हुँदै धनगढी पुग्न करिब ७५ किलोमिटर छ। महेन्द्र राजमार्गबाट जाँदा अलि लामो पर्छ। कान्द्राको पुल नभएकै कारण हुलाकी राजमार्ग प्रयोग गर्न नसकिएको टीकापुरका बिन्तीराम चौधरी बताउँछन्। उनले जागिरको सिलसिलामा कैलारी गाउँपालिका बस्नुपरेको बताउँदै हप्तामा एक दिन घर फर्किँदा नदी तरेको पैसा तिर्नुपर्ने बाध्यता भएको बताए।

'नगरपालिकालाई पैसा दिएर नदी ठेक्कामा लिएका हौँ भनेर ठेकेदारको प्रतिक्रिया आउँछ। त्यति भएपछि पैसा त दिनैपर्‍यो', उनले भने। कान्द्राको पुल बने आवतजावतमा सहज हुने उनको भनाइ थियो।

भजनी नगरपालिकाले कान्द्रा नदीलगायत मातहतका नदीलाई ठेक्का दिएको छ। ठेक्का दिएका नदीमा माछा मार्नेदेखि डुङ्गा सञ्चालन हुँदै आएको छ। एक आर्थिक वर्षका लागि हुने ठेक्काले आन्तरिक आयस्रोतको काम गर्दै आएको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख केवल चौधरीले कान्द्रामा नागरिक वारपार गरेको रकम तिर्नुपर्ने स्थिति यसै वर्षबाट अन्त्य हुने बताए। उनले हुलाकी राजमार्गअन्तर्गत निर्माण भएको कान्द्रा पक्की पुलको काम अन्तिम चरणमा रहेको बताउँदै केही महिनामै पुलबाट आवतजावत सुरु हुने बताए।

प्रकाशित मिति: १२:३९ बजे, शुक्रबार, फागुन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्