Kathmandu Press

केपिलासगढी र टेम्के मैयुङ सडक सञ्जालमा जोडियो

जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजार हुँदै भोजपुरबाट पूर्वी सहर आवातजावत गर्ने छोटो दुरीको सडक सञ्चालनमा आएसँगै स्थानीय बासिन्दा हर्षित बनेका छन्।
केपिलासगढी र टेम्के मैयुङ सडक सञ्जालमा जोडियो

खोटाङ, फागुन १८ : खोटाङको केपिलासगढी गाउँपालिका र भोजपुरको टेम्के मैयुङ गाउँपालिका जोड्ने ९४५ किलोमिटर० सडक सञ्चालनमा आएको छ। केपिलासगढी–१ फेदी र टेम्के मैयुङ–१ तिम्मा जोड्ने छोटो दुरीको फेदी–धोद्रे–भोजपुर सडक हालै सञ्चालनमा ल्याइएको हो। 

जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजार हुँदै भोजपुरबाट पूर्वी सहर आवातजावत गर्ने छोटो दुरीको सडक सञ्चालनमा आएसँगै स्थानीय बासिन्दा हर्षित बनेका छन्। तराईका जिल्ला आवातजावत गर्दा दुई वटा गाडी परिवर्तन गर्दै आएका स्थानीय बासिन्दा छोटो समयमा नै एउटै गाडीमार्फत तराईका विभिन्न जिल्ला पुग्न पाएपछि हर्षित भएका हुन्।  

Hardik ivf

फेदीबाट धोद्रे हुँदै भोजपुरबाट पूर्वी तराईका विभिन्न जोड्ने छोटो दुरीको सडक प्रदेश सरकार र केपिलासगढी गाउँपालिकाको लगानीमा निर्माण गरिएको गाउँपालिका उपप्रमुख गुरुराज राईले बताए। 'फेदीबाट भोजपुर जोड्ने सडक सञ्जाल विस्तार भएपछि केपिलासगढी गाउँपालिकाका स्थानीय बासिन्दालाई पूर्वी तराई झर्न दिक्तेल–हलेसी सडकभन्दा छिटो र छोटो दूरी भएको छ', उनले भने, 'यो सडकले अन्तर जिल्ला व्यापार, व्यवसायमा टेवा पुग्ने अपेक्षा गरिएको छ।' 

फेदीबाट लामो चौरसम्मको सडक निर्माण गर्न गत वर्ष प्रदेश सरकारको रु ३२ लाख तथा केपिलासगढी गाउँपालिकाको रु आठ लाख खर्च गरिएको थियो। लामो चौरसम्मको २६ किलोमिटर लामो सडकखण्डको बाँकी डेढ किलोमिटर खण्ड यस वर्ष गाउँपालिकाको तर्फबाट रु १० लाख ५० हजार बजेट खर्च गरेर निर्माण पूरा गरेपछि सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख राईले जानकारी दिए। 

भर्खरै सञ्चालनमा ल्याइएको सडकमार्फत झण्डै दुई घण्टामा भोजपुर पुग्न सकिने वातावरण बनेको वडा नं। १ फेदीका वडाध्यक्ष नीरकुमार राईले बताए। अन्तर जिल्ला जोड्ने सडक गत सोमबार गाउँपालिका प्रमुख समिर राई र उपप्रमुख गुरुराजले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन्। 

प्रदेश सरकारको क्रमागत योजनाअन्तर्गत पर्ने उक्त सडक स्तरोन्नतिका लागि यसवर्ष प्रदेशले रु ५० लाख बजेट विनियोजन गरेको छ। गाउँपालिकासँगको साझेदारीमा निर्माण गर्नुपर्ने उक्त सडकखण्डको फेदीस्थित ढुग्रीखोलादेखि शुक्रबारेसम्म ढलान गर्ने गरी टेन्डर (बोलपत्र आह्वान) गरिएको जनाइएको छ।

प्रदेश सरकारको साझेदारीमा निर्माण सुरु गरिएको उक्त सडकमा गाउँपालिकाले यस वर्ष रु १० लाख थप गर्नुपर्ने व्यवस्था छ। यस वर्ष स्तरोन्नतिका काम हुने उक्त सडकखण्डलाई चाँडै कालोपत्रका लागि प्रक्रिया थालिने गाउँपालिका उपप्रमुख राईले बताएका छन्। 

प्रकाशित मिति: १५:०७ बजे, बिहीबार, फागुन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्