Kathmandu Press

महोत्तरीमा डढेलोले सखाप हुँदै वन

महोत्तरीमा डढेलोले सखाप हुँदै वन

महाेत्तरी, फागुन १७ : मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन् । यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ ।  बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा तथा पूर्वपश्चिम राजमार्ग वरपरका वन क्षेत्रमा धुँवाको मुस्लो जताततै देखिन्छ ।

बर्दिबास नगर क्षेत्रभित्र चार सबडिभिजन कार्यालय (बाँके, टुटेश्वर, गणन्ता र गौरीडाँडा) छन् । यहाँ सशस्त्र वन सुरक्षा कार्यालय पनि छ । यसबाहेक सागरनाथ वन विकास परियोजनाको कार्यालय र पोष्ट पनि  छन् । बर्दिबास–५ टुटेश्वरका बुद्धिराज काफ्ले भन्छन, 'डढेलो लगाउनेहरू कहिल्यै समातिएनन् ।' डढेलो बस्तीमै आइपुग्ने चिन्ताले यस वरपरका बस्तीका बान्दिा राम्ररी सुत्न सकेका छैनन ।

डढेलो लगाउने क्रम नियन्त्रण हुन नसक्दा र वन क्षेत्रमा सुरक्षा गस्ती हिँड्न छाडेपछि लाथ्रा काटिने क्रम पनि ह्वात्तै बढेको स्थानीयवासीको भनाइ छ । वनसम्बद्ध सरकारी कार्यालयबाहेक साझेदारी वनका समिति र कार्यालय एवं सामुदायिक वन उपभोक्ता समिति भए पनि यी वन सम्पदा सुरक्षामा नभई उपभोगमा मात्र लागेका गुनासो बढेको छ । वनरक्षक सेवाको काम नभएर जागिर भएको बुझ्ने प्रवृत्ति र वनसम्बद्ध समिति र कार्यालयको उदासिनताले वन उजाड हुँदै गएको वन क्षेत्रसँगै जोडिएको गौशाला–१० लक्ष्मीनियाँका लक्ष्मीप्रसाद महतो बताउछन।

Hardik ivf

'दिनदिनै डढेलोले वन खरानी बनाउँदै छ,' महतोले आफ्नो बस्ती नजिकको डढेलोले खरानी बनाएको वन प्लट देखाउँदै भने, 'न डढेलो लगाउने समातिएका छन्, न लाथ्रा काट्ने नै !' वन कर्मचारीको कामप्रतिको उदासिनताले वन सखाप भइरहेको महतोको गुनासो छ ।

वनमा डढेलो लगाए त्यसपछि पानी परेलगत्तै नयाँ घाँस पलाउने विश्वासले वन क्षेत्र नजिककै पशुपालकले डढेलो लगाउने गरेका यस क्षेत्रका बूढापाकाको ठम्याइ छ । दिनहुँ गाईवस्तु डुलाउन वन क्षेत्र पुग्ने गोठालाले नै यस्तो छुल्याइँ गर्ने गरेका धेरैको बुझाइ छ । त्यसैगरी स–साना काँचा लाथ्रा काट्न सामान्य घरेलु हतियार (खुकुरी, खुर्पा, बञ्चरो) भए हुने, यस्ता लाथ्रा काट्न धेरै समय नलाग्ने र चाँडै सुक्ने भएकाले वन पसेका सर्वसाधारणले स–साना बुट्यान काट्ने गरेका छन् ।

बर्सेनि फागुन लागेपछि डढेलो लगाउने क्रम बढ्ने गरेको थाहा भएर पनि वनसम्बद्ध कार्यालयले त्यसको नियन्त्रणमा पूर्वसजगता नअपनाएको यस भेगका बासिन्दा एकमुखले बताउँछन् ।  ठूला रुख तस्करकोे र स–साना बुट्यान वन क्षेत्र वरिपरिका बासिन्दाको चपेटा पर्नु र डढेलो नियन्त्रण नहुनुले अब जिल्लाको वन क्षेत्र मासिने क्रम बढेको बर्दिबास–२ का बासिन्दा तारानाथ आचार्यले चिन्ता ब्यक्त गरे।

जिल्लामा राष्ट्रिय वन, सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत अभिलेखमा २४ हजार चार सय ६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालय महोत्तरीले जनाउँदै आएको छ । यद्यपि पछिल्ला दुई दशकयता बढेको राजनीतिक संरक्षित अतिक्रमणले वन क्षेत्र अब १६ हजार हेक्टरभित्र खुम्चेको वन अधिकारी नै स्वीकार गर्छन् । पछिल्ला केही वर्षयता सुरक्षा तरलताले वन क्षेत्र रुखविहीन बन्दै गएका वन तथा वातावरण क्षेत्रमा कार्यरत सामाजिक संस्था सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव बताउछन।

यता वन क्षेत्रको सुरक्षा र व्यवस्थापनको मुख्य जिम्मेवारी रहेको  डिभिजन वन कार्यालयले पर्याप्त सुरक्षाकर्मी नहुँदा सबै क्षेत्रमा सघन गस्ती गराउन नसकिएको स्वीकार गरेको छ । वन क्षेत्रको सुरक्षा र प्रवद्र्धनको कार्य वन क्षेत्रसँग जोडिएका बस्तीका बासिन्दाको सहयोगबाट सम्भव हुने वन कर्मचारीको भनाइ छ । खासमा डढेलो वन वरिपरिकै पशुपालक परिवारका गोठालाबाट हुने भएको हुँदा यसको नियन्त्रणमा सर्वसाधारणको सहयोग अपरिहार्य बनेको गणन्ता सबडिभिजन वन कार्यालय बर्दिबास–५ माइस्थानका कार्यालय प्रमुख सहायक वन अधिकृत रामसुन्दर साह बताउछन। 

यसैबीच वन क्षेत्रको नियमित गस्ती र कारबाही प्रक्रिया दुरुस्त गर्न वन सुरक्षा र जिल्लास्थित अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त टोली बनाइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । कुनै पनि निहुँमा वन क्षेत्र सखाप पार्ने कामले  छुट नपाउने जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए ।

'वन क्षेत्रभित्रै वनसम्बद्ध कार्यालयसँगै सशस्त्र प्रहरी र नेपाल प्रहरीका पोष्ट छन्, वन सुरक्षामा यी सबैको संयुक्त गस्ती बढाइनुपर्छ,' न्यौपानेले भने, 'स्थानीय तह, नागरिक समाज, वनसम्बद्ध कार्यालय र समिति एवं सुरक्षा निकायको समन्वयबाट संयुक्त पहलकदमी बढाइनुपर्छ ।' जिल्ला प्रशासन कार्यालयले यो समन्वय गरिरहेको न्यौपानेको भनाइ छ ।

प्रकाशित मिति: ०७:२१ बजे, बुधबार, फागुन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्