चार दिनदेखि सम्पर्कविहीन युवक मृत फेला

तनहुँ, फागुन १६ : आबुखैरेनी गाउँपालिका–३ घर भएका ३६ वर्षीय मदन घिमिरे सम्पर्कविहीन भएको चार दिनपछि मृत अवस्थामा फेला परेका छन् ।
फागुन १२ गतेदेखि सम्पर्कविहीन घिमिरे मङ्गलबार मस्र्याङ्दी नदीमा मृत फेला परेका हुन् । सशस्त्र प्रहरीको गोताखोरले उनको शव नदीबाट निकालेको छ । मृतकको स्कुटर आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मस्र्याङ्दीको किनारमा भेटिएको थियो । घिमिरेको खोजतलासका लागि तालिमप्राप्त ट्रयाकर डग पनि परिचालन गरिएपछि मृतावस्थामा भेटिएको तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएको गोताखोर र नेपाल प्रहरी टोली र स्थानीयवासीको संयुक्त प्रयासमा खोजतलास गरिएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँले जनाएको छ ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










