Kathmandu Press

पाँच वर्षपछि पुनः प्रयोगमा ल्याइँदै बायोग्यास प्लान्ट

फोहाेरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको बायोग्यास प्लान्ट मर्मत गरी पुनः प्रयोगमा ल्याउन लागिएको कामपाले जनाएको छ।
पाँच वर्षपछि पुनः प्रयोगमा ल्याइँदै बायोग्यास प्लान्ट

काठमाडौं, फागुन १४ : काठमाडौं महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालन गर्ने  भएको छ।

फोहाेरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको बायोग्यास प्लान्ट मर्मत गरी पुनः प्रयोगमा ल्याउन लागिएको कामपाले जनाएको छ।

Hardik ivf

कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठका अनुसार कुहिने फोहाेरबाट बिजुली र ग्यास उत्पादन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्ने तथा कुहिने फोहाेरको दिगो व्यवस्थापनका लागि यो परियोजना पुनः सञ्चालन गर्ने  तयारी गरिएको हो। यसका लागि कामपाले राष्ट्रिय आविष्कार केन्द्रसँग छलफल गरिरहेको छ। 'छलफल सकारात्मक भएकाले आगामी हप्तादेखि उक्त परियोजना पुनः सञ्चालनमा ल्याउने तयारीमा छौं,' उनले भने।  

उक्त परियोजना लागि युरोपियन युनियनले रू चार करोड ६० लाख र कामपाले रू एक करोड ८२ लाख लगानी गरेका थिए। एकीकृत  फोहाेरमैला व्यवस्थापन परियोजनाअन्तर्गत सञ्चालित यस परियोजनाका लागि दैनिक तीन मेट्रिकटन जैविक फोहाेर आवश्यक पर्छ।

उक्त परियोजनामा तीन हजार किलो जैविक मल उत्पादन हुनाको साथै १४ किलोवाट बिजुली र १३ हजार पाँचसय लिटर प्रशोधित पानी उत्पादन गर्ने क्षमता छ। २०७० सालदेखि परीक्षणका रूपमा उक्त परियोजना सञ्चालन गरिएकामा २०७४ सालदेखि  आधिकारिक रूपमा सञ्चालन गरिएको थियो।

लामोसमयदेखि बायोग्यास प्लान्ट बन्द हुँदा वायोग्यास उत्पादनमा समस्या हुनाका साथै वायो ऊर्जासम्बन्धी नेपालमा अध्ययन तथा विद्यावारिधि गर्ने विद्यार्थीलाई समस्या भएकाले पुनः जडान गर्न लागिएको बताइएको छ।

सञ्चालनका लागि दक्ष जनशक्ति अभावका कारण पाँच वर्षदेखि प्रयोगविहीन हुँदै आएको उक्त प्लान्ट पुनः सञ्चालनमा आएसँगै कामपालाई कुहिने फोहाेर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको छ। 

प्रकाशित मिति: १३:३६ बजे, आइतबार, फागुन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्