Kathmandu Press

प्रधानमन्त्रीको कोर्स करेक्सन : दुई महिनामै भत्कियो एमाले नेतृत्वको गठबन्धन 

एमाले अध्यक्ष ओली त्यतिबेलै सशंकित हुँदै भनेका थिए, 'ढोक्सा नथाप्नुस, जालमा माछा पर्दैन ।' तर, आज कांग्रेसले आफ्नो ढोक्सामा माछा पार्न सफल भएको छ । 
प्रधानमन्त्रीको कोर्स करेक्सन : दुई महिनामै भत्कियो एमाले नेतृत्वको गठबन्धन 

काठमाडौं, फागुन १२ : राष्ट्रपतिको उम्मेदवारलाई लिएर राष्ट्रिय राजनीतिको समिकरण फेरि एकपटक फेरबदल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेपछि एमाले नेतृत्वको गठबन्धन दुई महिनामै भत्किएको छ । 

एमालेको नेतृत्वमा गत पुस १० गते सात दलीय गठबन्धन निर्माण भएको थियो । कांग्रेस नेतृत्वको गठबन्धनबाट उछिट्टिएर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले ओलीसँग राष्ट्रपति र सभामुख एमालेलाई दिएर प्रधानमन्त्री माओवादीबाट बन्ने सहमति गरेका थिए । 

तर, बदलिँदो राजनीतिक परिस्थितसँगै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्रीको प्रस्तावमा एमाले असहमत भएपछि प्रधानमन्त्री गठबन्धनबाट अलग्गिएका हुन् । बालुवाटारमा शुक्रबार भएको बैठकबाट ८ दलीय नयाँ गठबन्धन निर्माण भएको प्रधानमन्त्रीले घोषणा गरिसकेका छन् । 

Hardik ivf

गठबन्धनमा बिग्रहको सुरुवात

बालुवाटारमा आज भएूको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय भएसँगै एमाले नेतृत्वको गठबन्धन औपचारिक रुपमा टुटेको छ । गठबन्धन टुटाएको माओवादीले आफूसँगै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई पनि नयाँ गठबन्धनमा समेट्न सफल भएको छ । 

आज बनेको गठबन्धन पुस २६ गतेदेखिको राजनीतिक घटनाक्रमको उपज हो ।  एमालको समर्थनमा प्रधानमन्त्री नियुक्त भएपनि प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो । एमाले अध्यक्ष ओली त्यतिबेलै सशंकित हुँदै भनेका थिए, ढोक्सा नथाप्नुस, जालमा माछा पर्दैन । तर, आज कांग्रेसले आफ्नो ढोक्सामा माछा पार्न सफल भएको छ । 

प्रधानमन्त्रीले विश्वासको मत दिएपछि ओली र प्रचण्डबीच दर्जनौं पटक एक्लाएक्लै छलफल भएका छन् । यतिधेरै भेटघाट हुनुलाई पनि दुई नेताबीच विश्वासको वातावरण नभएको आकलन गर्न सकिन्छ। 

समिकरण फेरिएसँगै पाँच दलीय गठबन्धनलाई भत्काउने उद्धेश्यले मूर्तरुप पाएपछि मुलुक स्थिरतामा जाने ढिन्डौरा पिट्दै आएको एमालेकाे भारीलाई माओवादीले फेरि पुस १० कै अवस्था( केही लाभबाहेक) मा बिसाइदिएको छ ।

किन टुट्यो एमाले नेतृत्वको गठबन्धन ? 

मुलुकमा राजनीतिक स्थिरता कायम भएकाे घाेषणा गरेकाे २ महिनामै गठबन्धन टुट्यो यसको समीक्षा सम्बन्धित राजनीतिक दलहरुले अवश्य गर्लान् ।तर, गठबन्धनलाई फुटाएर कांग्रेसले सत्तामा जाने ढोका खोलेको छ । धेरै अवसर गुमाए पनि केही पाउने बाटो खोलेको छ ।

शुक्रबार साँझ बालुवाटारमा बसेको ८ दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भएको कुराकानीबारे ब्रिफिङ गरेका थिए। उनले एमाले नेतृत्वको गठबन्धनमा आफूले काम गर्न नसकेको, ओलीले राप्रपा र रास्वपालाई हातमा लिएर आफूमाथि अनावश्यक दबाब दिएको बताएका थिए । एक नेताका अनुसार ओलीकै दम्भका कारण गठबन्धन भत्किएको प्रचण्डका निष्कर्ष छ र गठबन्धन टुटेपछि ओलीले फेरि एउटा अवसर गुमाएको प्रधानमन्त्रीको दाबी छ । 

विगतका राजनीतिक घटनाक्रमहरुले पनि प्रचण्ड एमाले नेतृत्वको गठबन्धनमा सहज परिस्थितिमा थिएनन् भन्ने पुष्टि गर्छ । रास्वपा र रवि लामिछानेलाई लिएर ओलीको दबाव र सार्वजनिक अभिव्यक्तिले दुई नेतामा एकअर्काप्रति विश्वासको वातावरण नरेहेको पुष्टि हुन्छ ।अर्कातिर कांग्रेसको समर्थनले प्रधानमन्त्रीलाई सहज बनायो । कांग्रेसल पटकपटक एमालेले प्रधानमन्त्रीलाई पिँजडाको सुगा बनाउन खोजेको आरोप लगाउँदै आएपनि गठबन्धन भत्किएसँगै कांग्रेसको त्यो कथन पनि प्रमाणित भएको छ । 

प्रधानमन्त्रीको कदमसँगै एमालेले सरकारबाट बाहिरिने तयारी गरेको छ । उसले प्रधानमन्त्रीको कदमलाई मुलुकलाई अस्थिरतातर्फ लैजाने कदमको रुपमा लिएको । भोलि बस्ने एमालेको बैठकले सरकारबाट फिर्ता हुने र सरकरालाई दिएको समर्थन फिर्ता लिने तयारीमा एमाले छ । 

प्रकाशित मिति: २२:५५ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्