अर्थतन्त्र समस्यामा पर्दा औद्योगिक क्षेत्र तहसनहस : मुख्यमन्त्री कार्की

धरान, फागुन ११ : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको अर्थतन्त्र समस्यामा पर्दा औद्योगिक क्षेत्र तहसनहस भएको बताएका छन।
आज धरानमा सुरु भएको धरान एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले औद्योगिक क्षेत्र सुधारका लागि सरकारले नयाँ योजना ल्याएर निजी क्षेत्रसँग हातेमालो गर्नुपर्ने बताए।
पछिल्लो समय व्यवसायीहरूले विरोध गर्दै आएको बैंकको चर्को ब्याजदर नीतिप्रति सङ्घीय सरकार संवेदनशील हुनुपर्ने उनको भनाइ थियो । उनले यस विषयमा सङ्घीय सरकारले चाँडो आफ्नो धारणासमेत सार्वजनिक गर्न माग गरे। मुख्यमन्त्री कार्कीले १० प्रतिशतभन्दा बढी ब्याजदर नहुने गरी बैंकको ब्याजदर कम गर्न राष्ट्र बैंकलाई सुझावसमेत दिए।
'दश प्रतिशतभन्दा माथि नहुने गरी ब्याजदर घटाउनु पर्छ । प्रदेश सरकार त्यसका लागि छलफल र बहस गर्न तयार छ,' मुख्यमन्त्री कार्कीले भने, 'निजी क्षेत्रलाई धेरै बलियोरूपमा स्थापित बनाउनु जरुरी छ । निजी क्षेत्रलाई बलियो बनाउन सकेमात्र देशको विकास गर्न सकिन्छ । उनीहरूको हात समाएर अगाडि बढ्नुपर्छ ।' उनले मुलुकको निर्यात घटेको र आयात झन्–झन् बढ्दै गएको बताउँदै सरकार यस विषयमा गम्भीर हुनुपर्ने बताए।
कार्यक्रममा उद्योग वाणिज्य महासङघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र सङ्घईले बैंकको चर्को ब्याजदरका कारण उद्योगी–व्यावसायीलाई परेको समस्याको निकास छिट्टै निस्किने विश्वास व्यक्त गरे।
खुला बजारको नीतिअनुसार नै ब्याजदर तलमाथि भएको उल्लेख गर्दै उनले निकासको उपाय खोजेर सहजीकरणको बाटोमा अघि बढ्नुपर्ने बताएक हुन। व्यापारघाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प नभएको उल्लेख गर्दै सङ्घईले सरकारले यसका लागि नीतिगत सहजता बनाएर लगानीको वातावरण तयार गर्नुपर्ने बताए।
व्यवसायी प्रवद्र्धनका लागि सुनसरी उद्योग वाणिज्य सङ्घले औद्योगिक प्रदर्शनी गरेर राम्रो काम गरेको बताए। यसले यहाँको व्यापार व्यवासाय प्रवद्र्धनमा सहयोग पुग्ने बताए।
आजदेखि सुरु भएको धरान एक्स्पो फागुन २० गतेसम्म चल्ने आयोजकले जनाएको छ । एक्स्पोमा धरान आसपास टाढाबाट आउने सर्वसाधारणका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ । वराह क्षेत्र नगरपालिकाको चतराबाट समेत एक्स्पोमा आउन निःशुल्क बसको व्यवस्था गरिएको हो । धरानमा चार ठाउँबाट एक्स्पोस्थल धरान रङ्गशालासम्म निःशुल्क बस चलाइएको छ ।
एक्स्पोमा स्वास्थ्य परीक्षण शिविर पनि दैनिकरूपमा राखिएको छ । एक्स्पोमा पाकिस्तान, बङ्गलादेश र भारतका उत्पादनका स्टल ह्याङ्गर प्रविधिमा बनाइएको डोममा रहेका छन् । विदेशी सामग्रीका कुल १५ वटा स्टल एक्सपोमा रहेका छन् । पाकिस्तान जनावरको छालाबाट बनेको सामान उत्पादन गर्ने मुलुकका रूपमा विश्व प्रसिद्ध छ । नेपालबाट समेत छाला पाकिस्तान निर्यात हुन्छ । एक्स्पोमा महिला–पुरुष दुवैका लागि पाकिस्तानी लेदरको ज्याकेट, बेल्ट, क्याप आकर्षणको केन्द्र बन्ने आयोजक कमिटीका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए।
बङ्गलादेशको तयारी पोशाकका उत्पादन महिलाका कुर्ता, सलवार, साडी, बालबालिकाका पोशाक आकर्षणको स्टल राखिएको छ । बङ्गलादेशको तयारी पोशाक युरोप, अमेरिकी मुलुकमा निर्यात हुँदै आएको छ । भारतीय उत्पादन तयारी पोशाकका साथै दैनिक भान्सा तथा घरायसी कामधन्दामा आवश्यक उपकरण राखिएको छ । भारतीय साडी, कुर्ता सलवार किन्न जोगबनी पुग्नेहरूका लागि एक्स्पोले रङ्गशालामै बजार लगाएको हुनेछ ।
विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न थालेको अल्लोका कपडा सङ्खुवासभाबाट ल्याई एक्स्पोमा राखिएको छ । एक्स्पोले जुम्लाको भिर मौरीको मह, माछाको अचारदेखि अग्र्यानिक र ब्राण्डेड वस्तु किनमेल गर्ने अवसर जुटाइएको छ । यस्तै पूर्वका कृषि अभियानकर्मी कृष्ण राईले कृषि प्रविधिको जानकारीसहित कृषि स्टल राखेका छन। विभिन्न प्रविधि प्रयोग गरेर उनले आफ्नो करेसाबारीको प्रविधिको प्रदर्शनी मेलामा गरेका छन।












