Kathmandu Press

मदन भण्डारी राजमार्ग : चार पुलको निर्माण सम्पन्न

मदन भण्डारी राजमार्ग : चार पुलको निर्माण सम्पन्न

झापा, फागुन ११ : मदन भण्डारी राजमार्गमा पर्ने ३५  पुलमध्ये चारको निर्माण सम्पन्न भएको छ । बाँकी ३३  पुलको काम समेत ७० देखि ९० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर सजित शर्माका अनुसार झापाको बाहुनडाँगीदेखि सुनसरीस्थित धरानको सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडकमा पर्ने पुलको हालसम्मको भौतिक प्रगति ७८ प्रतिशत भएको छ ।

Hardik ivf

उनले सो सडकमा पर्ने पुलमध्ये सदम, मुरङ्गी, डाले र मुगु खोलामा पक्की पुल निर्माण भइसकेको बताए। निर्माण भएका सबै पुल मोरङ जिल्लाभित्र पर्ने उनले बताए। उनले झापा सडकखण्डमा पर्ने १० वटा पुलको समेत निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए। 

‘सबै पुलको निर्माण कार्य तीव्रगतिमा भइरहेको छ,’ उनले भने, ‘यही रफ्तारमा काम हुँदा तोकिएको समयमै सकिन्छ ।’ उनले अधिकांश पुलको निर्माण ८० देखि ९० प्रतिशतसम्म भइसकेको जानकारी दिए। उनका अनुसार टाइटिङ, गोयाङ, विरिङ, दामा खोलालगायतको पुलको काम ९० प्रतिशत पूरा भइसकेको छ । 

निर्माणधीन पुलको लम्बाई २० मिटरदेखि चार सय मिटरसम्मका रहेको उनले बताए।  १० अर्ब १३ करोडका लागतमा एक सय ३१ किलोमिटर सडक र ३७  पुलको ठेक्का लगाइएको इञ्जिनीयर शर्माको भनाइ छ । 

प्रकाशित मिति: १५:४१ बजे, बिहीबार, फागुन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्